पोखरा । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पार्क, ट्रष्ट जस्ता कार्यक्रमका लागि छुट्टाइएका बजेट हटाउन निर्देशन दिएका छन् ।
गोवर्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्कमा छुट्टाइएका बजेट हटाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिएका हुन् ।
बजेटप्रति नागरिक असन्तुष्ट भएकामा यस्ता कार्यक्रममा बिनियोजित बजेट प्रदेशका प्राथमिकताका विषयमा खर्च गर्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका ‘बा’, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका ‘बाआमा’, सांसद पियारी थापाकाे बिहेमा खाेलेकाे काेष, नेताहरु अर्जुनप्रसाद जोशीका ‘बा’, सीता काफ्ले लामिछानेका ‘पति’का नाममा ट्रस्ट, स्मृतिपार्क तथा प्रतिष्ठान बनाउनका लागि यो वर्ष बजेट छुट्याइएको हाे ।
भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले प्रदेशको मन्त्री हुँ भन्ने बिर्सेर वडा मात्र बनाउने वडाअध्यक्ष झैं गरी बजेटजति पोखरा वडा नं. १६ मा खन्याएका छन् । अर्थमन्त्रीसँगको टकरावपछि करिब २८ करोड रुपैयाँको कार्यक्रम राखेर अनुसूची थपिएकोमा ६ करोड पोखरा १६ मै थप भएको छ । वडामा मात्रै सबै मन्त्रालयबाट गरी २५ करोड जति बजेट विनियोजन भएको छ।
मुख्यमन्त्री पोखरेलले आफ्ना स्वर्गीय पिता गोवर्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। उनले आफ्नो जन्मस्थान तनहुँको ब्याँस नगरपालिका– १० मा गोवर्धन स्मृति कोषका लागि सामाजिक विकास कार्यालय तनहुँमार्फत खर्च गर्ने गरी ५० लाख रुपैयाँ बजेट विनियोजन गर्न लगाएका छन्। गतवर्ष पनि मुख्यमन्त्री पोखरेलले आफ्ना बाबुको स्मृतिमा तनहुँ जिल्ला अस्पतालभित्र भवन निर्माण गरेर आँखा उपचार केन्द्र खोल्न लगाएका थिए।
अर्थमन्त्री रामजी बराल जीवनको पद खाइदिने धम्की दिएरै गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बाबु–आमाको नाममा खोलेको ट्रष्टमा एक करोड विनियोजन गर्न सफल भएका छन् । पछि सेतो किताबमा थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्वर्गीय बाबु पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा दुई फरक शीर्षकमा ५०÷५० लाख गरी एक करोड रुपैयाँ विनियोजन गरिएको हो । ५० लाख मन्त्री श्रेष्ठ स्वयंको मन्त्रालयबाट खर्च हुनेछ भने ५० लाख भवन निर्माण शीर्षकमा भौतिक पूर्वाधार मन्त्रालयबाट जानेछ । मन्त्री श्रेष्ठले ट्रष्टको भवन स्याङ्जाको भीरकोट नगरपालिका– १ मा बनाउने छन्।
राष्ट्रिय जनमाेर्चा पार्टीकी गण्डकी प्रदेशकी सांसद पियारी थापा पनि व्यक्तिगत काेषमा बजेट खन्याउने माननीय रहेकाे खुलेकाे छ । २०६६ सालमा जनमोर्चाको सांस्कृतिक समूह रक्तिमका प्रशिक्षक हेमराज पुन आश्रमसँग विवाह गर्दा उनीहरूले गाउँमैत्री अक्षयकोष (जिमाक) शुरू गरेका थिए । विवाहका सन्दर्भमा १० हजारबाट उक्त कोष सुरु भएको थियो ।
उनी सांसद बनेपछि उक्त अक्षयकोषमा प्रदेश सरकारबाट डेढ कराेड विनियाेजन भइसकेकाे छ । आर्थिक वर्ष २०७७/०७८ मा १० लाख, चालु आर्थिक वर्ष २०७८/०७९ मा ५० लाखको काम गरिसकेका छन् भने आगामी आर्थिक वर्ष २०७८/०७९ मा दुई शीर्षकमा ७० लाख विनियोजन भएको हो । अहिले उक्त संस्थाको भवन निर्माण भइरहेको छ ।
नेपाली कांग्रेस, पर्वतका नेता अर्जुनप्रसाद जोशीले पनि स्वर्गीय बाबु अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख रुपैयाँ बजेट प्रदेशबाट पार्न सफल भएका छन् । कुश्मा नगरपालिका– ८ मा स्मृति पार्क बनाउनका लागि २० लाख रुपैयाँ अहिले छुट्टाइएको छ ।
त्यस्तै, पर्वतकै अर्का नेता स्व. डिल्लिराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउनका लागि २० लाख बजेट विनियोजन भएको छ । लामिछानेकी पत्नी सीताकुमारी काफ्ले कांग्रेसको प्रदेश नेता एवं कुश्माकी निवर्तमान उपमेयर हुन् ।
सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले र नेता अर्जुन जाेशीले चर्काे विराेध सुरू भएपछि रकम नलिने सामाजिक सञ्जालबाट जानकारी गराइसकेका छन् ।
सम्बन्धित समाचारः
गण्डकीमा मुख्यमन्त्रीका ‘बा’ देखि मन्त्री, नेताहरुका ‘बाआमा’, ‘पति’का नाममा ट्रस्ट, पार्क, प्रतिष्ठान
गण्डकीको बजेटमा मन्त्रीहरुको रजाईं, मेखलाल श्रेष्ठको बुबाआमा नाममा १ करोड, कुमार खड्काको वडामा २५ करोड
जनमाेर्चा सांसद पियारीले बिहे गर्दा स्थापित काेषलाई झण्डै डेढ कराेड, याे बजेटमा ७० लाख
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर