चार दिनसम्म खोँचमा फसेका अञ्जन [घटना विवरण]

चार दिनसम्म खोँचमा फसेका अञ्जन [घटना विवरण]

resque pic for press

गण्डकन्यूजले पोखरा डेविडफल्स मुनी खोल्सामा खसेका १६ वर्षीय सुनारको उद्धार शीर्षकमा न्यूज प्रकाशित गरेको थियो । अञ्जनको उद्धारपछि अहिले मनिपाल अस्पतालमा उपचार भइरहेको छ । उनको बारे कान्तिपुर दैनिकका लागि पोखराबाट पत्रकार दीपक परियारले लेखेको न्यूज:

जीउ टसकोमस हुँदैन । तिर्खाले प्याकप्याक बनाएको छ । छेवैमा पानी छ । हेर्न सक्छन्, पिउन सक्दैनन् । भीरबाट खसेर खोचमा अडिएका १६ वर्षीय अञ्जन सुनारको मुखमा चार दिनपछि पानी पर्‍यो । उनको ‘सकुशल’ उद्धार त भयो तर मेरुदण्डको हड्डी भाँचिएको अवस्थामा । पोखराको छोरेपाटन तलपट्टि फुस्रेखोलासँग डेभिज फल्सबाट बग्ने भङखोला मिसिन्छ । दोभानभन्दा अलि माथिपट्टिको डिलमा त्यस दिन उनी टहलिँदै थिए । सोमबार मध्य दिनमा फुस्रेखोलाबाट कोही चिच्यायो, ‘माछा, माछा’ ।

उनी डिलको छेउमै गएर आवाज आएतिर हेरे । धेरै डिलमा पुगेकाले उनको खुट्टा चिप्लियो । तल खसे । रूखमा, ढुंगामा ठोक्किँदैठोक्किँदै बिनामेसै झरे । केही तल पुगेपछि ढुंगामा टाउको बजारियो । त्यसपछि केही चेत पाएनन् । केहीबेरमा होस खुल्दा आफू रूखमा अडिएको थाहा पाए । खुट्टा चलाउन खोजे, सकेनन् । ढाडको हड्डी सुन्निएको थियो । कम्मरभन्दा मुनि चलेन । तल हेरे, डरलाग्दो खोच छ । ठूल्ठूला ढुंगामा ठोक्किँदै भङखोला बगिरहेको छ ।

खोला किनारको केही माथिपट्टि अलिकति ठाउँ छ । उनी दुई हात र छातीको सहारामा घिस्रिँदैघिस्रिँदै तीरसम्म पुगे । ‘रूखमै बसिरहेको भए अहिलेसम्म त्यहीं हुन्थेहोला,’ मणिपाल अस्पतालको आईसीयूबाट निस्किएर शुक्रबार सर्जिकल वार्डमा सरेका उनले भने, ‘मद्दत माग्न तल झरें ।’

पोखरामा मठ्ठै पानी परेको छैन । भङखोला उर्लिएको थिएन । खोलो बढेको भए अडकिएको रूखबाट तल झर्दा सिधै खोलामा खस्थे उनी । रूखबाट ३ मिटरजति तल पानीले नभेटेको ठाउँमा पुग्न दिनभरि लाग्यो उनलाई ।

हातले ससाना ढुंगा पन्छाए । त्यहीं पल्टिए । दुखाइ बढ्दै गयो । निद्राले लठ्याएजस्तो भयो । चिच्याउने हिम्मत आएन । रुन पनि मन लागेन । मनमनै सोचे, ‘अब बाँच्दिनँ होला ।’

ढाडको दुखाइले उनको डर पनि भागिसकेको थियो । जनावरको डर लाग्यो न भूतप्रेतको । भोलिपल्ट बिहान डिलमा फोहोर फ्याँक्ने आए । उनले चिच्याउने हिम्मत गरे । चिच्याए । उनको स्वर भङखोलाको सुसाइमा मिसियो । पानीको छालले उनको स्वर कता पुर्‍याउँथ्यो पुर्‍याउँथ्यो । डिलसम्म पुग्दै पुगेन । सोचे, ‘अब चिच्याएर कसैले सुन्दैन ।’

मंगलबारबाट झन् दुखाइ बढ्दै गएको थियो । निद्राले छपक्क छोप्थ्यो । उनी कोही देखी पो हालिन्छ कि भन्ने आशामा ब्युँझिरहन खोज्थे । भोक लागेको मेसै पाएनन् । तिर्खा लाग्थ्यो, खोलाको पानी हेरेर मन बुझाउँथे । डेढ दिन लगाएर उनी सुतिरहेको ठाउँबाट अर्को ढुंगामा आडेस लगाउन पुगे । बुधबार आकाशबाट पानी पर्‍यो । तिर्खाले सताएको थियो । मुख ‘आँ’ गरेर बसे । दुई–चार थोपा पानी मुखमा पर्थ्यो । अन्न कहाँबाट ल्याउनु ! मनमा अनेक तर्कना खेले ।

छोरेपाटनको भाडाको कोठा सम्झिए । आफू ६ वर्षर्कै हुँदा अर्की दुलही टिपेर हिँडेका बालाई सम्झिएर धिक्कारे । बा हिँडेपछि ज्यालादारी गरेर दिदी र आफूलाई पाल्ने आमालाई सम्झिए । आमाले डेढ तोलाको सुनको रिङ बेचेर बोर्डिङ स्कुल भर्ना गर्दा पनि आफू नपढेको सम्झिए । भाइको माया लागेर आमालार्ई मोबाइल किनिदिन लगाउने दिदीको तस्बिर आँखामा घुमिरह्यो ।

बिहीबार बिहान १० बजेको हुँदो हो । उनकै घरतिरका एक वृद्ध माछा मार्दै भङखोलामा आइपुगे । उनले एकपल्ट आनन्द मानेर लामो सास फेरे । बल्ल चिच्याए, ‘बाजे, बाजे’ । ती बाजे उनको स्वर पछ्याउँदै उनी भएठाउँ पुगे । अञ्जनले पानी मागे । बाख्रा हेर्न आएका बाजे पानी लिन गए । खोलामा नुहाइधुवाइ गर्न पुगेका अरूलाईपनि बटुलेर लगे । बाजेले पानी दिए, उनीहरूले चाउचाउ । पानी र चाउचाउ खाएपछि बल्ल उनलार्ईर् लाग्यो, ‘अब त बाँच्छु ।’

तिनैले प्रहरीमा खबर गरे । सशस्त्र प्रहरीको उद्धार टोली पुगेर उनलाई खोंचबाट झिक्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍यायो । बिहीबार नै अस्पतालले मणिपाल रेफर गर्‍यो । उनको मेरुदण्डको हड्डी भाँचिएको र शरीरका विभिन्न भाग कोतरिएको थियो । सिटी स्क्यान गरेर हेर्दा टाउकोमा खासै चोट देखिएन । ‘खोला बढेको भए तीरसम्म पानी आउँथ्यो, मलाई बगाउँथ्यो होला,’ आँखामा आँसु टिल्पिलाउँदै उनले भने, ‘बाँच्न लेखेको भएर बाँचे । अस्पतालले निको हुन समय लाग्छ भनेको छ ।’

उनकी आमा सुमित्रालाई ४ दिनपछि भेटिएको छोराको छेउ पर्न गाह्रो भयो । कहिले साथीको घर, कहिले मामाको घर जान्छु भनेर नआउने छोराको खोजी छरछिमेक र उनको साथीभाइबाहेक अन्त गरेकी थिइनन् । अञ्जन भेटिएपछि प्रहरीले नै खबर गरेको हो उनलाई । ‘पहिला सामान्य हो भन्नुभएको थियो । मैले सामान्य भए घरमै पठाइदिनुस् भनेकी थिएँ,’ छोरा कुरेर बसिरहेकी उनले भनिन्, ‘प्रहरीले हामी नै लिन आउँछौं भनेपछि मै आएँ । आएर हेर्दा छोराको हालत यस्तो देखें ।’

डाक्टरले मेरुदण्डको हड्डी भाँचिएको भनेपछि उनी भक्कानिइन् । उनी आफैं सुगर, प्रेसर र पाइल्सको बिरामी हुन् । ज्यालादारी गरेर छोराको उपचार गर्न नसक्ने भयले झन् गाँज्यो । ‘दिदीहरू चन्दा उठाएर भए पनि उपचार गर्छौं भनेर जानुभएको छ,’ सुक्कसुक्क गर्दै उनले भनिन्, ‘यसरी नै सुतेको सुत्यै भयो भने मैले कसरी पाल्ने ?’ उनलाई त्यस दिन अञ्जन एक्लै डिलमा गएकोमा शंका छ । उनी भन्छिन्, ‘कहिल्यै एक्लै नहिँड्ने मान्छे त्यस दिन कसरी गयो ? यसको संगत ठीक छैन । कतै धकेलिदिएका पो हुन् कि ? हामीसँग केही बोल्दैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds