१० करोड ठगी आरोपी जसुदा भन्छिन्ः ‘श्रीमानले फसाए, ज्यान जोगाउन हराएँ’

ठगी

१० करोड ठगी आरोपी जसुदा भन्छिन्ः ‘श्रीमानले फसाए, ज्यान जोगाउन हराएँ’

surendra mani jasu

पोखरा गणेशटोलकी जसुदा पौडेललाई १० करोड बढी ठगी गरी बेपत्ता भएको आरोप लाग्यो । जसुदा सम्पर्कमा आएकी छिन्, उनी बेपत्ता छैनन् तर यति धेरै रकम लिएको भने पुष्टि भएको छ ।

जसुदाले समाचार सार्वजनिक भएको भोलिपल्टै आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा आफै पुगी पूर्वपति सुरेन्द्रमणि पौडेल विरुद्ध उजुरी दिएकी छिन् भने समाचार प्रकाशन गर्ने मिडियाबारे पनि जानकारी गराएकी छिन् । सुरेन्द्रमणि प्राइम बहुउद्देश्यीय सहकारी संस्था, पोखराका डाइरेक्टर हुन् ।

उनले परिवारकै कारण ज्यान जोगाउन बेपत्ता हुनुपरेको उल्लेख गरेकी छिन् । फलानो न्यूज युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै उनले आफ्ना श्रीमानले कुटपिट गर्ने, धाकधम्की दिएपछि ज्यान बचाउन सम्पर्क बाहिर रहेको बताएकी छिन् । आफूलाई अहिले फसाएर मिडियाबाजी गरी सुरेन्द्रमणि र मिडियाले चरित्रहत्या गरेको उनको आरोप छ ।

‘आफ्नै कारणले ३ दिनदेखि म बाहिर छु । त्यो त मेरो अधिकारको कुरा हो । म तनाव भएर मर्छु भनेर हिँडेकी थिएँ’ – उनले भनिन्- ‘दिमागले काम नगरेर हिँडेको हो । डिभोर्सको केसले गर्दा यातना भोग्नुपर्यो । ज्यान बचाउनका लागि भागेको थिएँ । पूर्वपतिले कुटपिट गर्नुभयो । त्यसपछि मैले ब्यवहार भन्दा बढी आफ्नै बारेमा सोच्नुपरेको हो ।’

पूर्वपतिले नियोजित रुपमा समाचार निकाल्न लगाएको उनको आरोप छ । समाचारको खण्डन भन्दा पनि उनले समाचार कसले दियो भन्नेबारे बढी चासो राखेकी छिन् । ‘मैले कसलाई ठगेँ ? नाम आएका ब्यक्तिहरु फेक हुनुहुन्छ’- उनी भन्छिन् – ‘मलाई चरित्र हत्या गरियो । पागल बनाईयो । तिर्नुपर्ने भन्दा धेरै सम्पत्ति भएको मान्छे भाग्नुपर्ने आवश्यक्ता छैन । म तिर्न सक्छु ।’ तर उनैले फेक भनेका मान्छेहरुसँग कारोबार रहेको केहीबेरमै आफ्नो आफन्त भन्दै खुलाएकी छिन् ।

सुरेन्द्रमणिले आफूलाई झुक्याएर डिभोर्स गराएको आरोप लगाईन् । सहमतिमै डिभोर्स गरेर भोलिपल्टैदेखि श्रीमानले फरक ब्यवहार गरेको उनको आरोप छ । सुरेन्द्रमणिका सम्पत्ति बेचेर ऋण तिर्ने र बाँकी सम्पति छोरा छोरी सहित चार भाग लगाउनुपर्ने बताएकी छिन् ।

सुरेन्द्रमणि भन्छन्ः ‘पुलिसकोमा बोलाएर मेरो चरित्रहत्या गरियो’

आइतबार जसुदाका पूर्वपति सुरेन्द्रमणि पौडेल पनि सम्पर्कमा आए । कानुनी हिसाबले सुरेन्द्रमणि र जसुदा पतीपत्नीको हैसियतमा छैनन् तर तीन महिना अघि डिभोर्स भएर पनि एकै घरमा बस्दै आएका थिए ।

‘डिभोर्स त नाटक भन्छन्, यतिका मान्छेसँग १० करोड बढी उठाउनुभएछ, यस्तै घटना आइपरे दुई मध्ये एक फसेपनि अर्को जोगिएर सम्पति जोगाउने चतु¥याईं त हैन ?’ भन्ने हाम्रो प्रश्नमा उनले छोराछोरी भएकाले परीक्षा नसकी अलग नबसेको प्रतिक्रिया दिए । सम्बन्ध बिग्रेर छुट्टिएका दम्पती पहिलेजस्तै एकै घरमा बसिरहँदा छिमेकीहरु पनि आश्चर्यचकित छन् । पैसा दिनेहरुले त आफूहरुलाई डिभोर्स भएको थाहै नभएको बताए ।

उनले हैसियत भन्दा कारोबार गर्न थालेपछि कुरा नमिलेको र सम्बन्ध विच्छेद गरिएको बताए । आफूले मिडिया प्रयोग नगरेको भन्दै उनले पुलिसकोमा उजुरी हालेर दिनभरी बोलाएर चरित्रहत्या गरेको उनको भनाई छ । एकै घरमा बसेपनि सँगै खाने, बस्ने नभएको भन्दै उनले आहिले आफू लेखनाथमा रहेको जनाए ।

पैसाका लागि श्रीमती फसाएकै हो त ?

सुरेन्द्रमणिलाई नजिकबाट चिन्नेहरुले यस घटनामा सुरेन्द्रमणि पनि उत्तिकै दोषी रहेको बताउँछन् । मिटरब्याजी, ढिकुटी भएकाले यहाँका चिनिने व्यवसायीहरु पनि खुलेका छैनन् । कतिले त पीडित पनि श्रीमतीका नाम राखेका छन् । प्रहरीमा उजुरी गर्ने त कुरै भएन ।

लाखौं, करोडौं रकम व्यक्तिगत रुपमा यसरी चलाउन दिएपछि प्रहरीकोमा पनि कसरी जानु ? त्यसैले प्रहरीकोमा उजुरी पनि परेन । सञ्चारमाध्यमले सार्वजनिक गरेपछि मात्रै पीडितलाई यतिको भएपनि राहत मिलेको हो ।

सुरेन्द्रमणिले जसुदालाई पैसा उठाउन लगाएर सम्पतिको रक्षाको लागि डिभोर्स गरेको र सँगै बसेको नजिकबाट चिन्नेहरु बताउँछन् । अहिले जसुदा र सुरेन्द्रमणिको भनाई भने यसअनुसार मिल्दैन । उनीहरु कुरै नमिलेर छुटेको दुवैले बताएका छन् । तर, सँगै बस्दै आएकाले उनीहरुको भन्दा चिनेजानेकै भनाई मेल खान्छ ।

पोखरामा केहि महिनाको अन्तरालमा करोडौं पैसा कुम्ल्याएर भाग्ने क्रम जारी नै छ । २ वर्ष अघि पोखरा चाउथे स्वागतनगरकी देवी कुमारी भुजेल ५० जना बढीबाट ५० करोड कुम्ल्याएर भागिन्, ०७४ जेठमा काठमाण्डौ, जयसदेवलबाट श्रीमान सहित पक्राउ परिन् । यस्तै, स्नेहा भनेर चिनाउने बाग्लुङ बडीगार्ड ८ की सरीताकुमारी राना साढे २ करोड उठाएर भागिन्, काठमाण्डौ दरबारमार्गबाट गत माघ पहिलो साता पक्राउ परिन् । न्यूरोडमा व्यवसाय गरी २२ वर्ष देखि पोखरा बसेका भारतीय नागरिक सेख हुसेनले पोखराका परिचित व्यवसायीहरुसँग मिटरब्याजमा पैसा लिँदै दुई वर्ष अघि साढे २ करोड तिर्न सकिनँ भन्दै पोखरा छाडेका थिए । यी त ढिकुटी र मिटर ब्याजका नाममा पैसा उठाएर वा ऋण तिर्न नसकेकार पोखराबाट भागेका उदाहरणमात्रै हुन् ।

पोखराको गणेशटोल निवासी जसुदा पौडेल एकाएक सम्पर्कविहीन भएपछि उनलाई रकम दिनेहरु खुल्न थाले । तर, प्रहरीकोमा उजुरी गर्ने आँट भने कसैको भएन । फेसबुकमा छोरेपाटन ठेगाना राखेकी उनले आफ्नै नामको जसु हर्बल ब्युटी पार्लरकी प्रोपाइटरका रुपमा चिनाएकी छिन् । निकै सौखिन र स्मार्ट देखिने उनले विगत २ वर्षदेखि आफन्त र व्यवसायीसँग २० लाखदेखि २ करोडसम्म रकम लिएको श्रोतले जनाएको छ । १० करोड भनिएपनि यसरी हेर्दा सबै गरी २० करोडको हाराहारीमा उनले पैसा उठाएको बताईन्छ ।

पोखरा महानगरपालिका शिशुवाका विशाल बाँस्तोलाले एक बर्ष अघि ५५ लाख दिएको, आफ्नो मासुपलसबाट करिब १२ लाख मुल्य बराबरको कुखुराको मासु समेतको रकम लिन बाँकी रहेको, पोखराकै सरस्वती क्षेत्रीले पनि पौडेललाई ५५ लाख रुपैया दिएको, पोखरा सभागृहकी शोभा बाँस्तोलासंग समेत २० लाख रुपैया लिएको, आफ्नै साझेदारी रहेको तेज जेनिया कम्पनीबाट १ करोड २० लाख रुपैंया लिएको दाबी गरिएको छ ।

सम्बन्धित समाचारः

१० करोड ठगेर पोखराकी जसुदा फरार प्रकरणः के हो वास्तविकता ?

१० करोड ठगी आरोपी जसुदा भन्छिन्ः ‘श्रीमानले फसाए, ज्यान जोगाउन हराएँ’ (भिडियो)

ठगी आरोपमा पक्राउ परे जसुदा र सुरेन्द्रमणि

जसुदा (१० करोड) प्रकरणः मिडियासँग माफी मागिन्, श्रीमान् विरुद्ध उजुरी फिर्ता, ‘कारोबार मिलाउँछु’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ