ओलीको प्रश्न : सरकार ‘सर’ ले चलाउनुहुन्छ कि ‘म्याडम’ ले ?

ओलीको प्रश्न : सरकार ‘सर’ ले चलाउनुहुन्छ कि ‘म्याडम’ ले ?

Uml netaharu

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ‌शर्मा ओलीले सरकार संचालनमा प्रधानमन्त्री भन्दा बाहिरियाहरु हाबी रहेको बताएका छन् । उनले सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै जसले चलाए पनि सेटिङ र मुलुकलाई अधोगतिमा लैजानेतर्फ केन्द्रित रहेको उल्लेख गरे ।

सोमबार सम्पादकहरुसँग अन्तरक्रिया गर्दै ओलीले भने- ‘सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यतापट्टी जान चाहन्न मेरो विषय बनाउन चाहन्न । दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनुहुन्छ ? प्रधानमन्त्रीले चलाउनुहन्छ कि रियल पावर मै हुँ भन्नेले चलाउनुहुन्छ ? त्यतापट्टी पनि जान चाहन्न । तर जसले चलाए पनि चलाएको त यही हो ।’

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै भने- कि प्रधानमन्त्री जो सुकै भए पनि सरकार चलाउने मैले हो भन्ने शक्तिले चलाएका छन् कि! ओलीले जसले सरकार चलाएको भए पनि संवैधानिक प्रक्रियालाई ध्वस्त पारिएको, भ्रष्टाचार बेलगाम बढेको बताए।

 उनले बजेटमा बाहिरिया व्यक्ति प्रयोग गर्ने लगायतका उदाहरण दिए । ओलीले यो सबै काम अर्थमन्त्री वा रक्षामन्त्रीको मात्र संलग्नता हुन नसक्ने बताए । आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले २२ असारमा राजीनामा दिएका थिए । यसबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ, जसले मंगलबारदेखि काम थाल्दैछ । एमाले अध्यक्ष ओलीले भने बजेटमा भएको ‘बद्मासी’मा अरु पनि पृष्ठपोषक रहेको बताएका छन् ।

मुलुकको अर्थतन्त्रलाई यसरी नै अधोगतिमा जान दिने हो भने कम्तीमा श्रीलंकाको स्थितिमा पुग्ने उनले बताए । ‘अहिलेको अवस्था निरन्तर रहे कम्तीमा पुग्ने भनेकै श्रीलंकामै हो,’ ओलीले भने,‘त्योभन्दा पर पनि जान सक्छ।’

संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्छ

ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने बताए । ओलीले संविधान जारी गर्ने बखतमा हतार-हतार भएको बताए।

‘जे भए पनि हामीले संघीयता ल्याएको हो। यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएका छौं। अहिले नै यो सफल हुँदैन भनेर असफल पार्नेतिर जाने होइन तर व्यवहारिक रूपमा यो असफल नै हुने रैछ भने जति मेहनत गरे पनि हुँदैन,’ ओलीले भने,‘सफल भएन भने परिवर्तन गर्न हामी तयार हुनुपर्छ।’

सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ

ओलीले यो सरकार मृत भइसकेको टिप्पणी गरेका छन् । उनले सरकार मृत भइसकेको भन्दै उनले अब यसलाई बोकेर हिँड्न नहुने बताए ।

‘यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, यसले समाजलाई दूषित गराउँछ’ उनले भने, ‘यो सरकार डेड भइसक्यो, देशका लागि यो मृत भइसक्यो ।’

ओलीले अब सरकारको अंग प्रत्यंग झर्दै जाने पनि टिप्पणी गरे । ‘भगवान शिवले बोकेर हिँड्दा त सतीदेवी काम लागिनन्, यसका अंग प्रत्यंग झर्दै जान्छ’ उनले भने, ‘भ्रष्टचारी अंग झरेर पिठ बन्छ ? त्यो ठाउँ त रुखो हुन्छ ।’

एमाले अध्यक्ष ओलीले अब मुलुक चुनावका प्रवेश गरिसकेको भन्दै सरकारको काम नभएको बताए ।

नक्कली बिहे गर्ने हतार गर्दैनौं

एमालेमा वाम गठबन्धन गर्नुपर्ने मत बलियो छ । तर अध्यक्ष ओलीले भने सरकार परिवर्तन गर्न सकिन्छ भनेर मात्र गठबन्धन नगरेको बताएका छन् आफूहरुले ‘जस्तो पनि गठबन्धन, जसरी पनि बनाए हुन्छ’ भन्ने ठानेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी गरेका उनले सत्तामात्र सबथोक नभएको बताए ।

ओलीले भनेका छन्, ‘एक पटक बिहे हुन्छ, डिभोर्स हुन्छ । अनि फेरि बिहे हुन्छ, फेरि डिभार्स हुन्छ । त्यसका पछाडिको कारण डिभोर्स चाहिँ साचो हुन्छ, बिहे चाहिँ नक्कली हुन्छ । त्यरसकारण साँचो डिभोर्स गर्न नक्कली बिहे गर्ने हतारो एमालेले गर्दैन ।’

गठबन्धन सरकार कति फलदायी हुन्छ भन्ने अहिलेको सरकारलाई हेरे पुग्ने उनले बताए । लोकप्रिय हुन सकेन भने जनताले राष्ट्रपति कार्यालय घेरेर घोक्राउन सक्ने श्रीलंकामा देखिएको भन्दै ओलीले अघि भने, ‘हामी पायो भने तीन माना चुक खाने अहिलेको सरकार जस्तो होइन । विचार गरेर मात्र चल्छौं ।’

यद्यपि यो सरकार नचलेको भन्दै उनले यसलाई बोकेर हिँड्नु हानिकारक भएको बताए । एमाले अध्यक्ष ओलीले भने, ‘यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, यसले समाजलाई दूषित गराउँछ । भगवान शिवले बोकेर हिँड्दा त सतीदेवी काम लागिनन् भने यस्तो गठबन्धन कुनै काम आउन सक्छ ? अस्ति एउटा झरेको देख्नुभयो फत्याक्क गरेर, अरु अंगप्रत्यंग झर्दै जान्छ । भ्रष्टचारी अंग झरेर पीठ बन्छ ? त्यो कुनै पीठ बन्नेवाला छैन, बरु त्यो ठाउँ त रुखो हुन्छ ।’

मुद्दा फिर्ता लेऊ र माफी माग

एमाले अध्यक्ष ओलीले संवैधानिक परिषदसम्बन्धी विधेयकलाई लिएर पनि सरकारको आलोचना गरेका छन् । संवैधानिक परिषदसम्बन्धी यस्तो विधेयक ल्याउनुअघि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनुका साथै हिजो जानिएनछ भनेर जनतासँग सार्वजनिक रुपमा माफी माग्नुपर्ने उनले बताएका छन् ।

ओली सरकारले ल्याएको अध्यादेश र त्यसविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । त्यही बेला सरकारले अध्योदशकै भावको विधेयक राष्ट्रियसभामा दर्ता गराएपछि ओलीले भने, ‘गर्नै मिल्दैन, असंवैधानिक छ भनेर सर्वोच्च अदलतमा मुद्दा हलेको छ, यता राष्ट्रियसभा जस्तो ठाउँमा लगेर नगरी हुँदैन, संविधानसम्मत छ भनेको छ । यो भन्दा निर्लज्ज, दुईमुखे दुईजिब्रे अरु के हुन्छ ?’

‘यो लज्जास्पद कुरा हो । उहाँहरुले त्यो मद्दा फिर्ता लिनुपर्छ । हिजो गरेको कामहरुमा माफी माग्नुपर्छ । हिजो हामीले जानेनछौं भनेर नेपाली जनतासँग भन्नुपर्छ’ उनले भने ।

सञ्चार जगतप्रति गुनासो

अन्तर्क्रियाका क्रममा एमाले अध्यक्ष ओलीले पक्षधरता नदेखाउन सम्पादकहरुलाई समेत आग्रह गरेका छन् । जेठी श्रीमतीले जस्तो खाना बनाए पनि नमिठो भयो भन्ने श्रीमानले कान्छीले जस्तो बनाए पनि मिठो भन्ने गरेको कथा सुनाउँदै उनले त्यस्तो नगर्न आग्रह गरे ।

उनले भने, ‘कस्तो खाना बनाएको ? दाल पनि मिठो छैन, तरकारीमा नुन पनि चर्को छ । (जेठीले) मैले होइन कान्छीले बनाएको भनेपछि त्यही त चर्को भएपनि टाठो–टाठो मिठै रहेछ । सञ्चार जगत त्यस्तो नभइदिए हुन्थ्यो ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds