मादीको गाउँ कार्यपालिका र सभामा एमालेको बहुमत

मादीको गाउँ कार्यपालिका र सभामा एमालेको बहुमत

received_359166216205020

पोखरा । कास्कीको मादी गाउँ कार्यपालिकामा नेकपा एमालेको बहुमत पुगेको छ । मंगलबार महिला सदस्य, दलित वा अल्पसंख्यक सदस्यका लागि भएको मतदानबाट ६ जना निर्वाचित भएसँगै कार्यपालिकामा एमालेको बहुमत पुगेको हो । मादीको गाउँ कार्यपालिका २० सदस्यीय छ । त्यसमा एमालेका ११ जना भएका छन् ।

मंगलबारको मतदानबाट कार्यपालिका महिला सदस्यमा एमालेकी गंगादेवी सार्की, पूर्णसुबा गुरुङ, लक्ष्मी गिरी, सीता परियार र दलित तथा अल्पसंख्यकमा बामदेव भुजेल र वीरबहादुर परियार विजयी भएका छन् । उनीहरुले महिला सदस्यमा गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका जितकुमारी सुनार, पार्वती रानामगर, शुकमाया पराजुली थापा क्षेत्री, नेकपा माओवादी केन्द्रकी उषा थापा र दलित तथा अल्पसंख्यकमा विनोद नेपाली र रामबहादुर चँदारोलाई पराजित गरेका हुन् ।

मादी गाउँ सभामा पनि एमालेको बहुमत छ । गत ३० वैशाखमा भएको चुनावमा उपाध्यक्षसहित एमालेका ३३ र अध्यक्षसहित गठबन्धनका २९ जना निर्वाचित भएका थिए । मादी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका थिए ।

नेपालको संविधानअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँ कार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् । त्यस्तै वडाअध्यक्ष स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् । मादीमा १२ वडा छन् । त्यसमा ६ वटा कांग्रेस, ४ वटा एमालेले र २ वटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ ।

निर्वाचित महिला वडा सदस्यबाट चार जना र सोही गाउँका दलित वा अल्पसङ्ख्यक सर्वसाधारणबाट दुई जना कार्यपालिकामा निर्वाचित हुने संविधानमा व्यवस्था छ ।

कार्यपालिकाका जनप्रतिनिधि छनोट गर्न निर्वाचित जनप्रतिनिधि नै मतदाता हुन्छन् । मादीमा गठबन्धनले आफ्ना जनप्रतिनिधिलाई गठबन्धनले आर्थिक प्रलोभन देखाएको भन्दै विरोध जनाएको थियो । एमालेका ३३ जना जनप्रतिनिधि एकढिक्का भएपछि मादी गाउँ कार्यपालिकामा एमालेको बहुमत पुगेको हो ।

गाउँसभामा बहुमत विजयी हुँदा एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका शिवबहादुर गुरुङ (महेन्द्र)ले कार्यपालिलामा बहुमत नपुगेसम्म अबिर, खादा र माला नलगाउने अठोट गरेका थिए । कार्यपालिकामा बहुमत पुगेपछि मंगलबार नेता-कार्यकर्ताले अबिर, खादा र माला लगाइदिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds