पोखरा । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार रहेका शिवबहादुर गुरुङ (महेन्द्र)ले चुनाव जितेमा जनताको घरदैलोमा पुगेर समस्या सुन्ने र समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिबार मादी ६ मा आयोजित चुनावी सभामा बोल्दै उनले प्रतिबद्धता पत्रमा सबै योजना समेट्न नसकिने भएकाले चुनाव जितेपछि जनतासँगै योजना माग्ने बताए । ‘घोषणापत्र सबैको हातहातमा छ । त्यसमा केही छुटेको छ भने माफी चाहन्छु । गाउँ, घरआँगनमा आएर छुटेका काम गर्न, समस्या सुन्न र योजना बनाउन तयार छौँ,’ उनले भने ।
उनले कांग्रेस र माओवादीमा लागेकाको भविष्य खोसिएको बताए । बाहिरबाट आएका ‘टुरिस्ट नेता’लाई गाउँमा ल्याएर गठबन्धनले सभा गरेको र भोलि उसैले चुनाव लड्न सक्ने भन्दै पार्टीमै भएकाले अवसर नपाउने दाबी गरे । ‘कांग्रेसमा लागेका, वाइसिएलमा लागेका धेरैलाई सुधा¥यौँ । नसुध्रिएका साथीहरु आज पनि हाम्रो भविष्य कांग्रेस र माओवादीमा छ भनेर बसेका छन्,’ उनले थपे, ‘तर छैन, आज मनाङका नेतालाई ल्याएर मादीमा प्रचार गराइएको छ । भोलि संविधानसभा लड्न आजैबाट लागेका छन् । यहाँका नेपाली कांग्रेस र माओवादीका साथीहरुको भविष्य खोसिएको छ । भविष्य एमालेमा छ ।’ माओवादी नेता देव गुरुङ गठबन्धनको चुनावी सभामा भाग लिन शनिबार मादी पुगेका थिए ।
पालिका र वडामा युवा उम्मेद्वार ल्याएकाले एमालेमा भविष्य सुनिश्चित रहेको महेन्द्रले दाबी गरे । ‘महासागरमा गएर हराइन्छ कि भनेर चिन्ता लिनुपर्दैन । हाम्रो पार्टीको नीतिअनुसार सबैलाई स–सम्मान राखिन्छ,’ उनले भने ।
उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले जनतालाई दुःख पर्दा आफूहरु २४ घण्टा खटिने प्रतिबद्धता जनाइन् । महिला हिंसाविरुद्ध र महिलाको हकअधिकार स्थापनामा आफू सक्रिय भएर लाग्ने उनले बताइन् । ‘राज्यले ३३ प्रतिशत हक अधिकार भनेको छ । तर, महिला हिंसा दिनदिनै भइरहेको छ । हामी आर्थिक र सामाजिक रुपले सशक्त नभएकाले हिंसाको सिकार भएका हौँ,’ उनले भनिन्, ‘त्यसैले महिलालाई सशक्त बनाउँछु भन्ने वाचा गर्न चाहन्छु ।’
मादी ६ का वडाध्यक्ष उम्मेद्वार डिलबहादुर क्षेत्रीले उम्मेद्वार आफ्नो युवा ऊर्जा र जोसजाँगर वडाको विकासका लागि खर्चने बताए । वडाले प्रतिबद्धता पत्रमा लेखेका विषय वडाबासीकै सल्लाह–सुझावमा इमानदार भएर पालना गर्ने प्रतिबद्धता जनाए । ‘गाउँ फर्क अभियानदेखि युवाको आर्थिक उन्नतिसम्मका कार्यक्रम राखेका छौँ । जनताकै सल्लाह सुझावले अघि बढ्छौँ । जात, धर्म, टोल भनेर भेदभाव नगरी काम गर्छौं,’ उनले भने । उनले चुनाव जितेमा पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र उद्यमशीलताका योजनामा केन्द्रीत रहने बताए ।
माओवादी छोडेर एमाले प्रवेश गरेका नेता रुद्र रानाभाटले युवाले गाउँपालिका हाँक्ने आँट गरेकाले साथ दिन मादीबासीलाई आग्रह गरे । उनले गठबन्धन ‘पाँच वस्तुको एउटा गोठाला’ भएको टिप्पणी गरे । ‘गठबन्धन पाँच वटा वस्तुको एउटा गोठालो भएको छ । हाम्रो घरमा भएका गाइ, गोरु, भैँसी, कुकुरलाई खुल्ला छोड्ने हो भने आफ्नो बाटो लाग्छन्,’ उनले थपे, ‘गठबन्धन एउटा गोठालेले सबै पशु हेर्न नसकेजस्तै भएको छ । एमालेलाई बलियो देखेर देशका बाँकी पाँच ठूला शक्ति मिलेर आएका छन् ।’ उनले गठबन्धनलाई मत हाल्नु ‘बालुवामा पानी हाले’जस्तै भएको बताए ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ