पाेखराकाे मेयर अरूलाई दिनुहुँदैन भनेका कस्केली काँग्रेस नेताहरू देउवा भेटेपछि निराश

पाेखराकाे मेयर अरूलाई दिनुहुँदैन भनेका कस्केली काँग्रेस नेताहरू देउवा भेटेपछि निराश

Kaski congress (1)

पाेखरा महानगरपालिकामा ‘गठबन्धन गर्ने तर नेतृत्व चाहिँ काँग्रेसकै हुनुपर्छ’ भन्दै एक सुत्रीय माग लिएर पार्टी सभापति शेरबहादुर देउवा भेट्न गएका कास्कीका काँग्रेसी नेताहरू निराश बन्नुपरेकाे छ । पोखराको मेयर पद गठबन्धनका अरु दललाई दिन नहुने भन्दै कास्कीका कांग्रेस नेताहरूले देउवालाई भेटे ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको भेटमा सभापति देउवाले पोखराको टिकट कांग्रेसले लिएमा गठबन्धन भत्कने संशय व्यक्त गरेका छन् । अरु महानगरमा मिलाउँदा कांग्रेसले पोखरामा टिकट पाउने सम्भावना निकै कम रहेको चर्चा चलिरहँदा सभापति देउवाकाे छनक पनि उस्तै रह्याे । यद्यपी, देउवाले महानगरपालिकाको विषयमा गठबन्धनका दलसँग कुनै पनि कुरा नभएको हुँदा यस विषयमा कुरा नै नगर्न निर्देशन दिए । सभापति देउवाले पोखरासहित अन्य महानगरको नेतृत्वबारे गठबन्धनमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् ।

“कुरै चल्या छैन । कसरी दिने भन्ने ? त्यसै कुरा लिएर आउने ?,” देउवाले जवाफ फर्काए । प्रधानमन्त्रीको भनाइ उधृत गर्दै टोली नेतासमेत रहेका पूर्वमन्त्री यज्ञबहादुर थापाले थपे,‘तपाईंहरु हतारिएर आउनुभयो । कसलाई कुन दिने निर्क्यौल भएकै छैन ।’

प्रधानमन्त्रीको ‘बडी ल्याङ्वेज’ हेर्दा सत्ता गठबन्धनका दललाई चिढ्याउन नहुने मनसायमा रहेको देखिएको थापाले बताए । ‘जुन दलहरुसँग मिलेर हाम्रो सरकार बनेको छ । जुन दलसँग मिलेर प्रदेश सरकार बनेको छ’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै थापाले भने,‘जुन दलसँग मिलेर भोलि प्रदेश र केन्द्रको निर्वाचन गराउनु छ । गठबन्धन जोगाउनका लागि कांग्रेस अलिकति लचिलो हुनैपर्ने बाध्यता कांग्रेसलाई छ,यो कुरा बुझ्नुस् ।’

सभापति देउवाले गठबन्धनका अरु दललाई चिढ्याउने गतिविधि नगर्न नेताहरूलाई सुझाएका छन् । सभापति देउवाले गत निर्वाचनको परिणाम हेरेर कुरा गर्न नेताहरूलाई आग्रह गरे । ‘गठबन्धनलाई जोगाउनुपर्छ त्यो कुरा बुझ्नुस् । उम्मेदवारको हकमा भोलि अन्तरघात हुनसक्छ । उनीहरू एकातिर गए हाम्रो स्थिति के हुन्छ ?’ देउवाको भनाइ उदृत गर्दै बैठकमा सहभागी थापाले भने ।

सभापति देउवाको प्रश्नमा नेताहरूले आफूहरू पनि गठबन्धन तोड्नुपर्छ भन्ने पक्षमा नरहेको बताए । तर, स्थानीय आवश्यकता हेर्दा कांग्रेसले नै मेयर पाउनुपर्नेमा नेताहरूको जोड थियो । ‘धेरै मतमा थोरै मत ल्याउँदा फलदायी, व्यावहारिक हुन्छ । धेरै मत थोरैमा लगेर मिसाउँदा नतिजा सोचेजस्तो नआउने सम्भावना प्रचुर रहन्छ । त्यसैले गठबन्धनलाई जिताउन अरु दललाई सम्झाउन पर्‍यो,’ कस्केली नेताले सभापतिलाई भनेका थिए ।

कास्कीको टोली बुधबार बिहानै ९ बजे बालुवाटार पुगेकाे थियाे। तर, मध्यान्ह १२ बजेसम्म पनि सभापति देउवालाई भेट्न नपाएपछि टोली दिउँसो २ बजे पार्टी कार्यालय सानेपा पुग्यो । सानेपामा कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएकाले टाेली बालुवाटारबाट सानेपा हानिएकाे थियाे । त्यही बैठक बस्नुअघि कास्कीको टोलीले सभापति देउवासहित उपसभापतिद्वय धनराज गुरुङ, पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू सशांक काेइराला लगायतलाई भेटे ।

अहिलेको अवस्थामा एक्लै लडे पनि चुनाव जित्न सकिनेबारे कस्केली टाेली सबैले कुरा उठाए । उनीहरुले माओवादी र एकीकृत समाजवादीको अवस्था राम्रो नभएको भन्दै कांग्रेसले मेयर पद छाड्दा थपिएका नयाँ मतदातामा गलत सन्देश जाने र आगामी निर्वाचनमा हानी हुने देउवालाई सुनाएका थिए । देउवाले प्रतिप्रश्न गरे, “साझा उमेदवार बनाएर ल्याउन सक्छौ ?”

 ‘४०/४५ मिनेट हामीले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्यौं । हाम्रो शक्ति र विगतको परिणाम प्रधानमन्त्रीसँग राख्यौं’, थापाले भने, ‘अरु कुरामा लचिलो बनेर जान पोखरामा कांग्रेस तयार छ । मेयर हामीले राखेर जानुपर्ने कारण सहित तथ्य तथ्यांक राख्यौं ।’

पूर्वमन्त्री थापाले पोखरामा आफूहरु बिद्रोह नै गर्ने पक्षमा नरहेको बताएका छन् । यदि अन्य दलले मेयरको उम्मेदवारी पाउने अवस्था रहे कांग्रेसले असहयोग भने नगर्ने उनको भनाइ छ ।

पोखरामा नेकपा (एकीकृत समाजवादी) ले मेयर पाउने चर्चा छ । गत निर्वाचनमा कांग्रेस र माओवादी मिल्दा पनि पोखरामा एमालेले मेयर-उपमेयर जितेको थियो ।  एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत पाएका थिए ।

उपमेयरमा भने गठबन्धन नभई कांग्रेस र माओवादीका छुट्टाछुट्टै उम्मेदवार थिए । उममेयरमा मञ्जुदेवी गुरुङले ५६ हजार ४४८ मत ल्याएर विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत पाउँदा माओवादीकी गोमा ढकालले ८ हजार ७९६ मत ल्याएकी थिइन् । पोखरामा गठबन्धनका अरु दलले टिकट पाउँदा पराजय भोग्ने पक्का रहेको कांग्रेसी नेताहरू बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds