पोखरामा नवौँ राष्ट्रिय खेलकुद: जेठ २२-२८ मिति तय

पोखरामा नवौँ राष्ट्रिय खेलकुद: जेठ २२-२८ मिति तय

pokhara stadium

आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् ।

नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले लेखेका छन्- ‘नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐतिहासिक निर्णय गरेको छ।

यसअघि आठौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिम नेपालगन्जमा आयोजना भएको थियो । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको गण्डकी प्रदेशले खेलस्थल छनोट, पूर्वाधार अनुगमन तथा प्रशिक्षणलगायत केही तयारी सुरु गरेपनि त्यतिबेला रोकिएको थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा कूल ३५ खेल सञ्चालन हुनेछन् । यस वर्षदेखि लोकदोहोरी तथा लोक नृत्यलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गर्न प्रस्ताव गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राखेपमा प्रस्ताव पठाएको छ ।

पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल,हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुषका खेल पोखरामा खेलाउने योजना छ ।

यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पोखरामा प्रस्ताव गरिएको छ । महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला/पुरुष) बाग्लुङ, कराँते (महिला/पुरुष) लमजुङ, टेवलटेनिस (महिला / पुरुष) मुस्ताङ, कवड्डी, कुस्ती र खोखो (महिला/पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला/पुरुष) गोर्खामा खेलाउने योजना छ ।

यसैगरी बास्केटबल (महिला/पुरुष) तनहुँ, बुद्धिचाल (महिला/पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला/ पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराँते (महिला/पुरुष) स्याङ्जा र फेन्सिङ(महिला/पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको बुझिएको छ । यस वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोक दोहोरी तथा लोक नृत्य प्रतियोगिता पोखरामा गर्ने योजना छ ।

राष्ट्रिय खेलकुदका लागि पोखरामा सुटिङ, पौडी पोखरी, हक्की बाहेकका पूर्वाधार तयारी अवस्थामा छन् । सुटिङ र पौडी पोखरीका लागि राखेपले निर्माण प्रक्रिया अघि बढाएको बताइन्छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालू आवमा राखेपबाट १६ करोड हाराहारीमा बजेट विनियोजन गरिएको छ ।

प्रदेश खेलकुद परिषद्ले पनि राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी खेल सङ्घहरुलाई खेल सामग्री उपलब्ध गराउन रु ५) लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds