पारस र सावित्रालाई दशक खेलाडी अवार्ड

पारस र सावित्रालाई दशक खेलाडी अवार्ड

paras-sabitra

पोखरा । पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौँको प्रज्ञा भवनमा भव्य समारोहको आयोजना गरी दशक अवार्डबाट खेलाडीलाई पुरस्कृत गरेको हो ।

पारसको एक दशकको कप्तानीमा नेपालले सन् २०१४ मा ऐतिहासिक टी–२० विश्व कप खेलेको थियो । पारसले सन् २०१८ मा नेपाललाई ऐतिहासिक एकदिवसीय क्रिकेटको मान्यता दिलाएका थिए ।

पारस एकदिवसीय र टी–२० क्रिकेट दुवैमा नेपालका लागि पहिलो शतक बनाउने खेलाडी पनि हुन् । पारसले गएको वर्ष नेपाली टोलीबाट सन्यास लिएका थिए ।

यस्तै, सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी सावित्रा भण्डारीले नेपालबाट ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान कायम गरेकी छन् । सावित्राले नेपाली महिला टोलीलाई साफमा दुई वटा रजत पदक जिताएकी छिन् । उनले नेपाललाई साफमा दुई वटा रजत पदक दिलाएकी छिन् ।

देशमा मात्र नभएर सावित्राले भारतीय लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् ।

यसैगरी, दशकको प्रशिक्षक अवार्डबाट भने क्रिकेटका जगत टमाटा सम्मानित बनेका छन् । कोभिड १९ का कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई दशक अवार्डबाट सम्मानित गरेको हो ।

पिपल्स च्वाईस अवार्ड भने टेबलटेनिसकी एलिना महर्जनले जितेकी गरिन् । उनले फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेललाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । उनले ईसेवा भोटिड, प्रशिक्षक र खेल पत्रकारको मतका आधारमा उनी विजेता बनेकी हुन् ।

दशक पुरुष, दशक महिला र दशक प्रशिक्षक र पिपल्स च्वाइस अवार्डबाट सम्मानित बनेका चारै जनाले ट्रफीसहित बजाज पल्सर मोटरसाइकल प्राप्त गरेका छन् ।

यस वर्ष गोल्डेन स्यायुट अवार्डबाट शरदचन्द्र शाहलाई सम्मान गरियो । नेपाली खेलकुदको जग हाल्न महत्वपूर्ण भुमिका खेलेका शाहलाई कार्यक्रममा लाइफटाइम अचिभमेन्टअवार्ड अन्तर्गत मरणोपरान्त गोल्डेन स्यालुट अवार्डबाट सम्मान प्रदान गरिएको हो । यस्तै, एसियन स्पोर्टस जर्नलिस्ट अवार्डबाट कुवेतका सद्दाम अल खाली सम्मानित भए । उनको सम्मान एआईपीएस एसियाका महासचिव अमजद अजिज मलिकले ग्रहण गरेका थिए ।

स्पेसल अवार्ड खेलकुद क्षेत्रमा लामो समय चिकित्सकीय सेवा गरेका अजय राणा र पर्फमर अफ दी इयरबाट एथलेटिक्सकी पुष्पा भण्डारी पाएका थिए । पारा एथलिट अवार्डबाट बास्केटबल, पावर लिफ्टिडकी सरिता थुलुङ सम्मानित हुँदा टिम अफ दी ईयरबाट थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) सम्मानित बनेको थियो । विधागततर्फका विजेताले ट्रफीसहित जनही ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds