नेकपा (एमाले) कास्कीको १० औं जिल्ला अधिवेशन पुस २३ गते गते हुँदैछ । नेकपा एमालेले देशभर आफ्ना जिल्ला कमिटि अधिवेशनको मिति पुस २२ र २३ गते तोकेकोमा कास्कीमा २३ गते हुन लागेको हो ।
अधिवेशनका लागि कास्कीका पाँचै स्थानिय तह, वडा, विशेष इलाका कमिटिबाट प्रतिनिधि आइतबार नै छानिएका छन् । सोमबार सचिवालयमा प्रतिनिधिको नाम बुझाउने काम भएको छ । अधिवेशनका लागि पोखरा महानगरपालिका र ४ गाउँपालिका कमिटी गरी ७२ वडाबाट आइतबार प्रतिनिधि छनोट भएका हुन् ।
भूगोलका अलावा बुद्धिजीवी, विद्यार्थी तथा मजदुर विशेष इलाकाका ३० शाखाबाट खुला, महिला, दलित एवं उत्पीडित क्षेत्रबाट अधिवेशन प्रतिनिधि छनोटसँगै अधिवेशनको माहौल बढेको छ । कास्कीका २१ जनसंगठनले कम्तीमा १ महिला सदस्यसहित २ जनाको दरले प्रतिनिधि छनोट गरेका छन् । एमाले कास्कीमा १७ हजार ७ सय ३७ पार्टी सदस्य छन् ।
प्रचारप्रसारको काम तीव्र
पोखरा सभागृहमा हुने अधिवेशनको तयारीको काम तीब्र रुपमा अघि बढेको छ । दशौं अधिवेशन प्रचार प्रसार उपसमिति संयोजक तेजनारायण अधिकारीको अध्यक्षतामा सोमबार बसेको बैठकले विभिन्न कामका जिम्मेवारी बाँडफाँड गरेको छ।
भोलि पुस २१ गते दिउँसो २ बजे साइमन पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । जसको संयोजन एकराज गिरीले गरेका छन् । अधिवेशनको प्रचारका लागि आईटी विभाग, सामाजिक सञ्जाल तथा समाचार प्रकाशन, प्रसारणको संयोजक रञ्जन अधिकारीलाई बनाइएको छ । सहसचिव ईश्वर देवकोटासहितका टीमको सहयोग रहनेछ ।
प्रचारका लागि रेडियो जिंगल र सूचना प्रसारणको जिम्मा माधव बराल, मोतिसागर अधिकारी, खिमाकुमारी गुरुङ, कविता श्रेष्ठलाई दिइएको छ । सञ्चार समन्वयतर्फ रामजीप्रसाद लम्साल, लाइभ व्यवस्थापनतर्फ सुष्मा पौडेल, फोटोग्राफी/भिडियोग्राफीतर्फ ईन्द्रप्रसाद पौडेल, अन्तर्वार्ता संयोजनको जिम्मा जमुना वर्षा शर्माले लिएकी छन् ।
प्रचारप्रसार समितिको बैठकलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङले निर्वाचित जनप्रतिनिधि तथा कार्यकर्ताको हिसाबले कास्कीमा एमाले सबैभन्दा ठूलो पार्टी भएकाले ठूलो पार्टीको अधिवेशन ठूलो, भव्य र सभ्य बन्नुपर्ने बताए । अन्य सबै पार्टीले अनुशरण गर्ने खालका कार्यक्रम एमालेले गर्ने गरेकाले जिल्ला अधिवेशनलाई समेत मर्यादित र व्यवस्थित बनाएर सकारात्मक सन्देश दिने खालको बनाउने बताए । उनले नेकपा एमालेको कार्यकता सभ्य र शिष्ट भएकाले अधिवेशन पनि सोही खालको हुने बताए ।
एमाले कास्कीका सचिव दामोदर बैरागीले सबैको साथ सहयोगले अधिवेशन भव्य बन्ने बताए । उनले पार्टीको चितवन महाधिवेशनमा एमालेले हाई–टेक प्रविधि प्रयोग गरेर डिजिटलतर्फ अघि बढिसकेकाले अब भड्किलो प्रचारप्रसार एमालेले नगर्ने बताए ।
प्रचारप्रसार प्रमुख तेजनारायण अधिकारीले सबै पत्रकार र सञ्चारमाध्यमको समन्वयमा अधिवेशनको प्रचारप्रसारको काम अब्बल हुने विश्वास लिए ।
पोखराको सभागृहमा पुस २३ गते कास्की अधिवेशनको उद्घाटन हुने कार्यक्रम छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डौबाटै देशभरको अधिवेशनलाई डिजिटल माध्यमबाट सम्बोधन गर्नेछन् ।
अध्यक्षमा ५ जना आकांक्षी
एमाले कास्कीको नेतृत्व लिन ५ आंकाक्षी अगाडि देखिएका छन् । कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर बैरागीका साथै, दीपक पौडेल, बैनबहादुर क्षेत्री र जगन्नाथ बाँस्तोलाले दाबी गरेका छन् ।
जिल्ला अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि उपाध्यक्ष मनबहादुर गुरुङले कार्यवाहक अध्यक्षको जिम्मेवारी लिएका छन् । उनले आफू छोटो समय मात्रै नेतृत्व गर्न पाएको भन्दै अब अध्यक्ष नै हुने सोचमा अघि बढेका छन् ।
सचिव दामोदर बैरागी स्वभाविक दावेदार हुन् । उनले पनि पार्टीका नेता र कार्यकर्ताबीचमा आफूलाई अध्यक्षकै रुपमा प्रस्तुत गर्दै सहयोगका लागि आग्रह गरिरहेका छन् ।
पोखरा महानगर संगठन कमिटीको अध्यक्षदेखि लामो समयसम्म जिल्ला कमिटीको सचिवालयमा काम गरेका दीपक पौडेलले अनुभवको हिसाबलले आफू अध्यक्षका लागि योग्य रहेको बताउँछन् ।
जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले सहमतिमै नेतृत्व चयन गर्ने पार्टीको स्प्रिट भएको बताए । उनले सर्वसम्मत नभएर चुनाव भए अध्यक्षमा लड्ने तयारी गरेका छन् ।
माछापुच्छ्रे गाउँपालिका कमिटीको अध्यक्षदेखि जिल्ला कमिटीको सचिवालयमा बसेर काम गरेका जगन्नाथ बास्तोलाले आफूले नेतृत्व पाएको खण्डमा छुट्टिएर गएका साथीहरुलाई फेरि एकसाथ ल्याउन समन्वयकारी भूमिका खेल्ने बताउँछन् ।
यसअघि एमालेले सबै पालिका र वडा कमिटीहरु सबैमा सर्वसम्मत नेतृत्व टुंगाएको थियो । जिल्ला कमिटीमा पनि सर्वसम्मत गर्ने नेताहरुको प्रयास छ । सर्वसम्मत नेतृत्व चयन गर्ने भए पनि अध्यक्षमा गुरुङ र बैरागीमध्ये एक जनाकै सम्भावना रहेको बताइन्छ ।
एमालेको निर्वाचित जिल्ला कमिटीको कार्यकाल ३ वर्ष हुन्छ । पार्टीको विधान अनुसार सबै जिल्लामा पदाधिकारी ५ जना हुने व्यवस्था छ । जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव हुने व्यवस्था छ । पदाधिकारीमा १ महिला अनिवार्य हुने व्यवस्था छ । जिल्ला कमिटीमा महिलाको ३३ प्रतिशतको सहभागिता सुनिश्चित हुने छ ।
सचिवमा ६ जनाको दाबेदारी
सचिवमा पनि ६ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । वर्तमान उपसचिव तथा गण्डकी प्रदेश सभाका सदस्य प्रभा कोइराला, जिल्ला सचिवालय सदस्य तेजनारायण अधिकारी, दर्शन लामा, सिम गुरुङ, झपट रानाभाटले सचिवमा दाबी गरेका छन् ।
अध्यक्ष सर्वसम्मत नभई चुनाव हुने अवस्थामा मात्रै अध्यक्ष लड्ने बताएका बैनबहादुर अधिकारी क्षत्रीको सहमतिको अवस्थामा सचिवमा आकांक्षा छ ।
सम्बन्धित खबर
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब खिच्दै
अन्तर्राष्ट्रिय विमानस्थल चलाउन गण्डकीका पर्यटनमन्त्रीले प्रधानमन्त्री भेटेर गरे आग्रह
गुरुङ र मगर भाषालाई गण्डकी प्रदेशको सरकारी कामकाजको भाषा तत्काल कार्यान्वयनमा ल्याउन तमु धिं नेपालको माग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते