आज विवाह पञ्चमी पर्व, जनकपुरमा विशेष रौनक

आज विवाह पञ्चमी पर्व, जनकपुरमा विशेष रौनक

विवाह पञ्चमी-जनकपुर

काठमाडौँ । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी आज मनाइँदै छ । आज रामसीतको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर विवाह पञ्चमी मनाइन्छ ।

त्रेतायुगमा आजैको दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा हिन्दू धर्मावलम्बीहरु विवाह पञ्चमी पर्व मनाउने गर्दछन् ।

यस दिन जनकपुरमा विशेष रौनक हुन्छ । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी जनकपुरको रंगभूमिमा पुर्‍याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । विवाह महोत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ति र डोला हेरिने परम्परा छ ।

यो महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा अहिले चार दिनमात्र मनाइन्छ ।

आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत रहेको छ ।

यसैबीच विवाह पञ्चमीमा हुने भीडभाडलाई मध्यनजर गर्दै प्रदेश २ मा आज सार्बजनिक बिदा दिईएको छ । यस्तै जनकपुरधाप उपमहानगरपालिकाका सबै विद्यालय बन्द छन् । हिजो, आज र भोलि तीन दिन विद्यालय बन्द रहने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ