एमाले गण्डकी पूर्ववत् अवस्थामा फर्कियो, पिएसले ईञ्चार्ज छाडे, किरण संयोजक

एमाले गण्डकी पूर्ववत् अवस्थामा फर्कियो, पिएसले ईञ्चार्ज छाडे, किरण संयोजक

uml-gandaki new

नेकपा एमालेको गण्डकी प्रदेश सम्भवतः कुनै समस्या नरहेको प्रदेश हो । प्रदेश सांसदहरु सबै पार्टीमै छन् । शीर्ष नेताहरु पनि कहिल्यै विचलित नभई संस्थापन पक्षमा उभिइरहे । उपाध्यक्ष भीम रावलको सुदुरपश्चिम र अन्य केही जिल्लाहरुमा माधव पक्षबाट फर्किएकाहरुसँग भएको १० बुँदे सहमति र जेठ २ को विवाद चर्किरहेका बेला गण्डकी प्रदेश कमिटी भने सर्लक्कै २०७५ जेठ २ मा फर्किएर नयाँ सदस्यहरु मनोनित गर्दै सपथ ग्रहण समेत सम्पन्न गरिसकेको छ ।

 

जेठ २ अघिका प्रदेश संयोजक किरण गुरुङ र पछिका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ तथा प्रदेश अध्यक्ष जगत विश्वकर्मा केपी ओली समूहका नेता हुँदा पनि सहज भएको हो । गण्डकी प्रदेश कमिटी जेठ २ अघिकै अवस्थाबाट क्रियाशील गराउने निर्णय हुँदा गण्डकीले पार्टी मिलापको राष्ट्रिय सन्देश पनि दिएको छ ।

जेठ २ अघिका प्रदेश संयोजक किरण गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकमा इन्चार्ज पृथ्वीसुब्बा गुरुङले नै पूरानो संरचना व्युँताउने घोषणा गरेपछि उनी इन्चार्जको जिम्मेवारीबाट हटेका छन् । अब एमाले गण्डकीको संयोजक किरण गुरुङ र सचिव जगत विश्वकर्मा भएका छन् । जेठ २ अघिका सहसंयोजक गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष भएकाले जगत विश्वकर्मालाई सचिव बनाइएको हो । यसअघि नेकपा विभाजनपछि जगत प्रदेश कमिटीको अध्यक्ष र गोविन्द नेपाली सचिव थिए । अब गोविन्द नेपाली साबिककै कार्यालय सचिव बनेका छन् ।

पोखरामा सम्पन्न बैठकले ३०० जनालाईं प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ । यसअघिका १०९ जना सदस्य समेत थप्दा अब ४०९ सदस्यीय प्रदेश कमिटी बनेको छ । बुधबार पोखरामा एक समारोहकाबीच नवमनोनित सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको छ । संयोजक किरण गुरुङले पोखरामा उपलब्ध सदस्यहरुलाई सपथ गराए ।

नयाँ थपिनेहरुमा मनाङबाट २ जना, लमजुङ ९ जना, मुस्ताङबाट ११ जना, म्याग्दी १४, पर्वत १५, गोरखाबाट १८ जना छन् । यस्तै, नवलपुर १९, तनहुँ २०, स्याङ्जा ४६, बागलुङ ४७ र सबैभन्दा बढी कास्कीबाट ९९ जना थप भएका छन् । प्रदेश कमिटीमा झण्डै १ दर्जन पत्रकारसमेत छन्।

त्यस्तै, १४ जनामा ५३ जना थपेर ६७ सदस्यीय सचिवालय गठन भएको छ । विधानतः प्रदेश कमिटी १ सय ४० सदस्यीय हुन्छ । आधार तहको ५० सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ५ जनाका दरले चुनिएर १ सय ४० सदस्यीय कमिटीको परिकल्पना संशोधित विधानले गरेको छ । यसबाहेक १० प्रतिशत पार्टीभित्रबाट मनोनीत हुनेछन् भने थप १० प्रतिशत अन्य पार्टीबाट प्रबेश गरेकालाई मनोनयन गर्ने व्यवस्था छ ।
एमाले गण्डकी प्रदेश कमिटीका पछिल्ला निर्णय र मनोनित सदस्यहरुसहितको सर्कुलर यस प्रकार छ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”86769″ /]

महाधिवेशनको संघारमा रहेको नेकपा एमालेले जिल्ला र प्रदेशमा धमाधम सदस्य थप गर्दै पार्टी फुटबाट केहि निराश बनेका कार्यकर्ता पंक्तिलाई उत्साह थप्न प्रयास गरेको बुझिन्छ ।

केन्द्रीय महाधिवेशनपछि जिल्ला र प्रदेशको अधिवेशन गर्ने तयारी छ । स्थानिय तहमा वडा र पालिकाहरुमा अधिवेशनहरु सम्पन्न गरिसकेको छ । धमाधम महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा पार्टी अघि बढेको छ ।

यही कमिटीबाट महाधिवेशनमा २ महिला सहित ५ जना प्रतिनिधि छनोट हुनेछन् । अन्य प्रतिनिधिहरु निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आउने छन् । कात्तिक २७ गते महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्यतालिका छ । एमाले विधान अनुसार १२ सय संगठित सदस्य भएको निर्वाचन क्षेत्रबाट २ महिला सहित ५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् भने त्यसपछि प्रत्येक ८ सय संगठित सदस्य थपिंदा १ जना महाधिवेशन प्रतिनिधि चुनिने छन् । त्यसमा ३ जना सदस्य थपिंदा १ जना महिला अनिवार्य गरिएको छ ।

संगठित सदस्यको संख्या हिसाव गर्दा प्रदेशबाट १ सय ४६ हाराहारी महाधिवेशन प्रतिनिधि छानिने छन् । यहाँ एमालेको संगठित सदस्य ७८ हजार ९ सय ३५ जना छन् । मनाङ र मुस्ताङबाट ५/५ जना, म्याग्दीमा ८ जना, बागलुङमा १०, तनहुँबाट ११ जना र लमजुङबाट १२ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनेछन् । यस्तै, पर्वत १२, गोरखाबाट १४, नवलपुरबाट १८, स्याङ्जाबाट २१ र कास्कीबाट २५ जना महाधिवेशन प्रतिनिधि बन्नेछन् । क्षेत्रको संख्याका आधारमा केही तलमाथि हुन सक्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds