नेकपा एमालेले पोखरा महानगर कमिटीको नेतृत्व अन्ततः सर्वसम्मत छिनोफानो गर्न सफल भएको छ । अध्यक्षमा युवा नेता दीलिप न्यौपानेलाई निर्विरोध चयन गरिएको छ । न्यौपाने महानगर कमिटीका पूर्व सचिव हुन् ।
अध्यक्षमा उमेद्वारी दिएका अन्य उमेद्वारहरुले मनोनयन फिर्ता लिएपछि न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदमा न्यौपानेसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरी त्रिपाठीले अध्यक्षमा उमेद्वारी दिएका थिए ।
सचिवमा जीवन
महानगर कमिटीको सचिवमा जीवनप्रसाद आचार्य चयन भएका छन् । अर्का प्रतिष्पर्धी गोकर्ण कार्कीले उमेद्वारी फिर्ता लिएपछि आचार्य सचिवमा निर्विरोध चयन भएका हुन् । आचार्य पोखरा–१६ का वडाध्यक्ष हुन् ।
सबै पदमा सर्वसम्मत गरिँदै
यस्तै, अन्य पदमा पनि सर्वसम्मतका लागि प्रयास भइरहेको छ । यहाँका शीर्ष नेताहरु पोखरा सभागृहमा अन्तिम छलफलमा जुटेका छन् । मूख्य पदहरुमा सर्वसम्मत नेतृत्व टुंगाएका कारण अब केही बेरमै टुंगोमा पुगी सिंगो टीमको घोषणा गर्ने निर्वाचन मण्डलले जानकारी दिएको छ ।
उपाध्यक्षमा उमा परियार, बैनबहादुर गुरुङ, मोहन गुरुङ, राजकुमारी भुजेल र सुस्मिता केसी भट्टराई आकांक्षी छन् । उपसचिव पदका लागि भने १६ जनाको उम्मेदवारी परेको छ । सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले उपसचिवमा उम्मेदवारी दिएका छन् ।
पोखरा महानगर कमिटीमा अध्यक्षसहित १०१ सदस्यका लागि २९४ जनाले उम्मेदवारी दिएका थिए । अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिवका लागिमात्रै ३४ जनाले उम्मेदवारी दिएका छन्।
महानगर कमिटीमा भौगोलिक तर्फबाट सदस्यहरु २५ जना निर्विरोध चयन भइसकेका छन् । वडा नम्बर १ बाट ईश्वरीप्रसाद बाँस्तोला, ३ बाट शशिधर पराजुली, ४बाट इन्द्रकुमारी अधिकारी, ६ बाट विष्णुबहादुर भट्टराई, ७ बाट पुरुषोत्तम रेग्मी, ८ बाट ईश्वरप्रसाद सुवेदी, ९ बाट प्रकाश शर्मा, ११ बाट नारायण प्रसाद बास्तोला, १२ बाट वीरबहादुर थापा, १३बाट कृष्णकुमारी गुरुङ, १५ बाट तोरणबहादुर बानियाँ, १६ बाट जगन्नाथ तिमिल्सिना, १७ बाट चिरञ्जीवी पोखरेल, १९ बाट नवीन भण्डारी, २० बाट मोहनबहादुर केसी, २२ बाट खेमराज बराल, २३ बाट चेतबहादुर क्षेत्री, २४ बाट मनोहरि त्रिपाठी, २५ बाट वेदनाथ पौडेल, २७ बाट गणेशराज धमला, २८ बाट दिनेशबाबु खड्का, २१ बाट प्रमोद कुमार पौडेल, ३० बाट प्रेमराज बसौला, ३२ बाट विष्णुप्रसाद तिवारी र ३३ बाट चन्द्रप्रसाद पौडेल चयन भएका हुन् । भौगोलिक तर्फ ३३ वडाका ४६ जनाको उम्वेदवारी परेको थियो । प्रत्यक वडाका १ जना सदस्य चयन हुने व्यवस्था विधानमा छ ।
गण्डकीमा वर्चश्व स्थापित गर्न खगराज र पिएसको ‘ईन्ट्रेस्ट’, खगराज निकट दिलिपले मारे बाजी
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ पक्षले आफू निकट र पूर्व गृह÷स्वास्थ्यमन्त्री एवं एमाले केन्द्रीय सदस्य खगराज अधिकारी पक्षले अर्काथरी उम्मेदवारका नाममा सहमति जुटाउन खोजेकामा पोखराको नेतृत्व भने खगराज समूहले हत्याउन सफल भएको छ ।
दुबै पक्ष अध्यक्ष ओली गुटका भए पनि प्रदेशमा आफ्नो वर्चस्व कायम राख्न दुवै पक्ष लागिपरेका थिए । गण्डकीका पालिकाहरूमा धेरै चासो नदिए पनि पोखरा महानगर कमिटीमा भने पृथ्वीसुब्बाको चासो देखिन्थ्यो ।
पोखरा महानगर कमिटीको अध्यक्षका लागि गुरुङको समर्थक हालका अध्यक्ष दीपक पौडेल र तेजनारायण अधिकारी अघि सरेका थिए भने अधिकारीको तर्फबाट दीलिप न्यौपाने र हरिप्रसाद त्रिपाठी अघि सरेका थिए । अर्का उम्मेदवार पोखरा महानगर वडा नं. ५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता धनबहादुर नेपाली पनि अघि सरेका थिए । नेपाली मेयर मानबहादुर जिसी अर्थात् पृथ्वीसुब्बा गुरुङ समूहबाटै थिए । त्रिपाठी अघि सारिएको न्यौपानेको पक्षमा माहौल बनाउन र नेपाली अघि सारिएको पौडेल वा अधिकारीको पक्षमा समर्थन जनाउन भन्ने एमाले वृत्तमा चर्चा छ।
गुरुङका तर्फबाट उम्मेदवार बनेका तेजनारायण यसअघि नै पोखरा नगर कमिटीमा २ पटक सम्हालेका छन्। हाल उनी एमाले कास्की जिल्ला सचिवालय सदस्य हुन्। यस्तै, दीपक पौडेल जिल्ला सदस्य हुन्। यसअघि नेता खगराज अधिकारी निकट मानिएका दीपक एकाएक गुरुङको पक्षमा गएर एक हप्ता अघिमात्रै नगर कमिटीको अध्यक्षमा मनोनित भएका थिए। यसअघि एमाले र माओवादी एकतापश्चात बनेको नेकपामा पनि दीपक महानगर कमिटी अध्यक्ष बनेका थिए। त्यसकारण पनि पिएस पक्षबाट पौडेल र अधिकारी दुवैको दाबी रहँदा खगराज पक्षीय दिलिपलाई फाइदा पुगेको हो ।
अधिकारीका तर्फबाट उम्मेदवार बनेका दीलिप न्यौपाने एमालेनिकट अनेरास्ववियुमा काम गरेका थिए। पार्टीको जिल्ला कमिटीमा रहेर विद्यार्थी फाँट हेरेका दीलिप पहिल्यैदेखि अधिकारीनिकट थिए। युवा नेतृत्व भएकाले नयाँ पुस्तालाई ध्यानाकर्षण गराउन पनि अधिकारीले दीलिपलाई अघि सारेका हुन्।
अधिकारीनिकट अर्का उम्मेदवार हरिप्रसाद त्रिपाठी भने एमालेको बुद्धिजिवी इलाकामा काम गरेका थिए। वन विज्ञान अध्ययन संस्थानमा अध्यापन गराएका त्रिपाठी अवकाश लिएर एमालेको राजनीतिमा सक्रिय भएका छन्। युवा नेता दीलिपप्रति पृथ्वीसुब्बाको पनि सद्भाव रहेकाले उनकै नाममा सर्वसम्मत जुट्न मुस्किल नबनेको हो ।
पोखरा महानगरको अधिवेशन गराउन अध्यक्ष मण्डलमा प्रतिनिधि सभा सदस्य एवं एमाले केन्द्रीय सदस्य खगराज अधिकारी, गण्डकीका अध्यक्ष जगतबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य सीता ओली गिरी, भीम कार्की, जिल्ला अध्यक्ष कृष्ण थापा, प्रदेश सदस्य बालकृष्ण काउछा र अनुशासन आयोगका सदस्य मित्रकुमारी सुवेदी छन्।
अध्यक्ष मण्डलमा रहेका प्रदेश अध्यक्ष विश्वकर्मा, कार्की र काउछा गुरुङनिकट छन् भने बाँकी अधिकारीका पक्षमा छन्।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ