विधान महाधिवेशनमा एमाले जिन्दाबाद सुनिएन, केपी बा जिन्दाबाद मात्र सुनियोः बिरोध खतिवडा

विधान महाधिवेशनमा एमाले जिन्दाबाद सुनिएन, केपी बा जिन्दाबाद मात्र सुनियोः बिरोध खतिवडा

birodh

पोखरा । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अहिलेको सत्तापक्षको गठबन्धन आगामी निर्वाचनसम्मै जाने बताएका छन् । उनले गठबन्धनलाई अघि बढाउँदै संविधान जोगाउने शर्तमा आगामी निर्वाचन गठबन्धन बनाएर लड्ने समेत बताए ।

नेकपा एकीकृत समाजवादी कास्कीद्वारा शनिबार पोखरामा आयोजित दसैं, तिहार, छठ र नेपाल संवतको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री खतिवडाले केपी ओलीकै कारण दुई तिहाई बहुमतको सरकार र शक्तिशाली कम्युनिष्ट पार्टी समाप्त भएको बताउँदै बालुबाटरबाट बालकोटको बार्दलीमा पुगेका ओली अब बगरमा पुग्ने अवस्था आउने उल्लेख गरे ।

पार्टीका उपमहासचिव समेत रहेका नेता खतिवडाले नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।

वर्तमान सरकारलाई परमादेशको सरकार भन्नुको कुनै अर्थ नरहेको भन्दै मन्त्री खतिवडाले निर्वतमान प्रधानमन्त्री केपी ओली जसरी सांसदको हस्ताक्षरबाट प्रधानमन्त्री नियुक्त भए, अहिलेका प्रधानमन्त्री पनि सोही अनुसार नियुक्त भएकाले परमादेशको सरकार नभएको जिकिर गरे ।

केपी ओलीको दासता स्वीकार्न नसकेपछि विद्रोह गरेर नेकपा एसको जन्म भएको उनको भनाई छ । व्यक्ति स्विकार्ने कि पार्टी, नीति मान्ने कि नेता, सामूहिक नेतृत्व मान्ने कि व्यक्ति भन्ने विषयका कारण नेकपा एस जन्मिएको उनको भनाइ थियो ।

पार्टी कुनै एक व्यक्तिको सम्पत्ति नहुने भन्दै उनले नीति र विधिविधान अनुसार चल्नुपर्नेमा जोड दिए । उनले उखान टुक्का, अकबल र वीरवलका कथा तथा तोतामैनाका कहानीले पार्टी वा देश नचल्ने भन्दै अहिले एमालेमा राजनीतिक र सैद्धान्तिक विचलन आइसकेको दाबी गरे ।

एमालेको पहिलो विधान महाधिवेशनमा नेकपा एमाले जिन्दावाद कतै नसुनिएको तर ‘केपी बा जिन्दावाद’ मात्रै सुनिनु नीति र विचारबाट च्युत भएको संकेत रुहेको उनले जनाए । ‘व्यक्तिको जयजयकार गरेर एक व्यक्तिलाई अघि सारेर पार्टीलाई पतनको दिशातर्फ लगेकाले आफूहरुले विद्रोह गर्नुपरेको हो,’ उनले भने ।

अहिले संसद् अवरुद्ध गर्दै एमालेले ‘संवैधानिक सर्वोच्चता कायम गर’ भन्ने नारा लगाउनु हास्यास्पद रहेको उनले बताए । सभामुखलाई कुनै पनि सांसद निकाल्ने अधिकार १५ दिनसम्म अवधि रहेको उनले बताए । ‘संसद्मा ६०÷७० जनाले नारा लगाउँदैमा कसैलाई निकाल्न पाइने भए हामी पनि बहुमत सत्तापक्षका सांसदले केपी ओलीहरुलाई निकाल भनेर नारा लगाउछौँ,’ उनले भने ।

राजनीतिक मुद्दा र विषय सकिएपछि अहिले ओलीले सहानुभूति लिन खोजेको आरोप उनले लगाए । मतपत्र च्यात्ने जनयुद्धको नाममा व्यक्ति हत्या गर्ने पार्टी भए किन माओवादी पार्टीसँग एकीकरण गरेको भन्दै उनले पुष्पकमल दाहाललाई ओलीले धोका दिएको बताए ।

केपी ओलीको कदमलाई असंवैधानिक भनेर विरोध गर्ने एमालेका केही नेताले पछिल्लोपटक आफूहरूलाई धोका दिएको भन्दै अहिले एमालेमै रहेर पनि रुनु न हाँस्नुको अवस्थामा रहेको उनले बताए ।

संसद् विघटन असंवैधानिक हो भन्न नसक्ने, सर्वोच्चको फैसला नस्विकार्ने अनि केपी ओलीले आफूलाई प्रममा मत दिनेजति सबै एमालेका शत्रू भनिसकेपछि पनि कसरी उक्त पार्टीमा बस्न सकेको होलान् ? भन्दै एमालेका १० नेतामाथि उनले कटाक्ष गरे । सरकार परमादेशबाट नभई संविधानबमोजिम बनेको उनको दाबी थियो ।

स्वास्थ्यमन्त्री खतिवडाले गण्डकी प्रदेशमा सङ्घीय सरकार मातहतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मात्र रहेकाले सो अस्पतालको सेवा थप प्रभावकारी बनाउनका लागि सबैसँग छलफल गरेर सुझावका आधारमा आफूले काम गर्ने बताए ।

पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले पार्टीको पछिल्लो बैठकले लिएका नीति, कार्यक्रम तथा कार्ययोजनालाई तल्लोतहसम्म लैजान कार्यकर्तालाई आग्रह गरे ।

जिल्ला अध्यक्ष धनराज आचार्यले जिल्लाका ७२ वटै वडामा पार्टी कमिटी निर्माणको काम अघि बढिरहेको जानकारी दिए ।

कार्यक्रमको सञ्चालन सचिव होमबहादुर नेपालीले गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का, आर्थिक मामिला मन्त्री रामजी बराज जीवन, स्वास्थ्यमन्त्री मधु अधिकारी, एकीकृृत समाजवादीका पोलिटब्युरो तथा केन्द्रीय सदस्यहरु, अन्य राजनीतिक दलका जिल्लास्थित नेता, उद्योगी व्यवसायी लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds