पोखरामा ठगीको नयाँ धन्दा, समातिए स्याङ्जा फेदीखोलाका कृष्ण पौडेल

पोखरामा ठगीको नयाँ धन्दा, समातिए स्याङ्जा फेदीखोलाका कृष्ण पौडेल

pgs

पाेखरा । फेसबुकमा आकर्षक जागिर मिलाइदिने भन्दै विज्ञापन गर्ने, सम्पर्कमा आउनेलाई २५ सय तिराएर फाराम भराउने, जब ग्यारेन्टी भनेर फसाउने, पैसा पचाउने । स्याङ्जाको फेदीखोला ४ घर भएका २१ वर्षीय युवक कृष्णप्रसाद पौडेलको ठग्ने तरिका हो यो ।

पोखरा २७, तालचोकमा पिजिएस एग्रो एन्ड मल्टिप्रपोज प्राइभेट लिमिटेड नामक जब सेन्टरको बोर्ड राखेर करीब ४५ सय जनालाई यसरी नै ठगेको पीडित युवाहरुको आरोप छ । यो दाबीअनुसार पौडेलले जनही २५ सयको दरले एक करोड १२ लाख ५० हजार ठगी गरेको देखिन्छ । तर, पौडेलले १७ लाख उठाएको स्वीकारेका छन् ।

आरोपितलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ । डाँडाको नाक, शिशुवा प्रहरीले पक्राउ गरेको हो । शुक्रबार नै २ सय बढी पीडितहरु प्रहरी कार्यालयमा धर्ना दिन पुगेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख महेन्द्र मरासिनीले जाहेरी परेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइने बताएका छन् । उनले शुक्रबार अबेर भएकाे र शनिबार बिदा भएकाले अाइतबारमात्र पीडितहरूकाे जाहेरी पर्ने बताए ।

पोखरामात्र होइन, फेसबुकमा उनको विज्ञापन हेरेका विभिन्न जिल्लाका युवाहरुले समेत फाराम भरेको पीडितहरुले बताएका छन् । सबैजसो फेसबुक पोष्टबाटै आकर्षक जागिरको विज्ञापन देखेपछि सम्पर्कमा आएको बताएका छन् । हण्डेड पर्सेन्ट जब ग्यारेण्टी, मासिक २५ हजार तलब देखेर आफूहरुले २५ सय तिरेरै अप्लाई गरेको उनीहरुको एक स्वर छ । लमजुङ, भाेर्लेटारका सुशील सुवेदी काका भतिज मिलेर जागिरकै लागि ३ पटक पाेखरा अाउजाउ गरिसकेका छन् । उनले सञ्चालक पक्राउ परेपछि फेरि अाइतबार पाेखरा अाउन लागेकाे गण्डकन्यूजलाई बताए ।

कोरोनाको महामारीले लकडाउन हुँदा धेरैजसो जागिर नभएका युवाहरु विज्ञापन देख्दैमा लोभिएको पाइएको छ । २५ सय तिरी फाराम भरेर सेन्टरबाट अन्तर्वार्ता लिइने र पछि कल आउने जानकारी सम्पर्कमा आएका युवाहरुलाई दिइएको थियो । अन्तर्वार्ता भनेर लिएर कोहिलाई फेल गराउने, कोहि पास भयो भनेपनि जागिर नलगाउने, फेल हुनेलाई अर्को पदमा फेरि फाराम भर्न सुझाएर पुनः पैसा असुल्न लागेपछि भने उनीहरु सशंकित थिए ।

शुक्रबार कार्यालयमा पुग्दा सञ्चालक पौडेल नै पक्राउ परेको सुनेपछि पीडितहरु समूहमै शिशुवा प्रहरी कार्यालय पुगेका थिए । पौडेलले सम्पर्कमा आएका युवाहरुलाई स्टार हाेटलमै कार्यक्रम गरी मिडियाकर्मी  समेत बाेलाएर कम्पनीले यसोउसो गर्छ भन्दै विश्वास समेत दिलाउने गरेका थिए ।

गत वर्षदेखि नै पैसा उठाउन सुरु गरेका उनले भदौ २५ गतेसम्म जागिरमा लागिसक्ने भनेपनि शुक्रबारसम्म जागिर नमिलेपछि पीडितहरु प्रहरीसम्मै पुग्नुपरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds