चितवनमा मृत भेटिएका सेनाका हुद्दालाई उनकै साथीले हत्या गरेको पुष्टि

चितवनमा मृत भेटिएका सेनाका हुद्दालाई उनकै साथीले हत्या गरेको पुष्टि

pp

चितवन । नेपाली सेना हुद्दा भरत गुरूङलाई उनकै सहकर्मीले गोली हानी हत्या गरेको खुलेको छ।

नेपाली सेनाका २६ वर्षीय सिपाही गंगाधर ढकालले ९ लाख रुपैयाँका लागि गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्न्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१७ को सिमलडाँडा नजिक धादिङ निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय गुरूङको शव भेटिएको थियो ।

काठमाडौँबाट सँगै चितवन गएका सिपाही भरतपुर–२१ का गंगाधर ढकालले भरतको गोली हानी हत्या गरेको खुलेको चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी चितवनमा बैना गरिएको जग्गा पास गर्न गएका भरतको उनकै विश्वासिला साथी ढकालले हत्या गरेको जनाएको छ।

दुबै जना काठमाडौँ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको महेन्द्रदल गणमा कार्यरत हुन्।

भरत गत पुसमा मात्रै शान्ति सेनाको मिसनमा लेवनान पुगेर फर्किएका थिए । शान्तिसेनामा जाँदा कमाएको रकमबाट उनले चितवनमा जग्गा बैना गरेका थिए । उनले ग्लोबल आइएमई बैंकमा रहेको आफ्नो खाताको चेक मिल्ने साथी भएकाले गंगाधरलाई नै दिएका थिए ।

प्रहरीका अनुसार गंगाधरले साउन ३ गते भरतको हस्ताक्षर आफैंले गरेर ९ लाख रकम निकालेको पाइएको छ । एक लाख आफूसँग राखेर बाँकी ८ लाख परिवारका सदस्यलाई दिए ।

भरतले साउन ५ गते चितवन जान बिदा लिएको र गंगाधरको मोटरसाइकलमा गएको बुझिएको छ।

सोही दिन बजार घुमाउन लगेका गंगाधरले भरतलाई अत्याधिक मादक पदार्थ खुवाई रातभर मोटरसाइकलमा घुमाएको र बिहान ६ बजेतिर सिमलडाँडा नजिकै पुगेपछि गोली हानेर हत्या गरेको प्रहरीको दाबी छ ।

पिसाब लाग्यो भनेर झरेका गंगाधरले मोटरसाइकलको पछाडि बसिरहेका भरतलाई दायाँ कान नजिकबाट गोली हानेका थिए । साथीको हत्या पछि गंगाधर भरतपुर–८ स्थित गरुवा कामक्ष मन्दिर सडकको किनारामा रहेको झाडीमा हतियार फालेर पूर्वी चितवनको सौराहचोकस्थित फुपूको घरमा पुगेका थिए।

गंगाधरलाई प्रहरीले बिहीबार अपरान्ह भरतपुर–२० चनौलीबाट पक्राउ गरेको थियो। प्रहरीले गंगाधरसहित एक थान गोलीको खोका, एसएमजी हतियार एक थान, नगद ८ लाख रूपैयाँ, मोटरसाइकल लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds