रुपाको बजेट ४८ करोड, गाउँगाउँमा फ्रि वाइफाई ! एक घर एक टनेल

रुपाको बजेट ४८ करोड, गाउँगाउँमा फ्रि वाइफाई ! एक घर एक टनेल

rupa gaupalika

कास्कीको रुपा गाउँपालिकाले कृषिको आधुनिकीकरण एवम् व्यावसायिकरणलाई जोड दिंँदै एक घर एक टनेल कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले व्यावसायिक कृषिका माध्यमवाट स्थानीयवासीलाई स्वरोजगार बनाउँदै उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य लिइएको बताए ।

“एक घर एक उत्पादन” भन्ने लक्ष्यका साथ यस बर्ष “एक घर एक टनेल” कार्यक्रम शुरु गर्न लागिएको नीति तथा कार्यक्रममा जनाइएको छ । पानी, हावा र असिना समेतबाट जोगाउनुका साथै सानो जग्गामा बढी उत्पादन लिन सकिने टनेल प्रति कृषकको आकर्षण बढेसंँगै गाउँपालिकाले एक घर एक टनेलको अवधारणा अघि सारेको हो ।

“गत आर्थिक बर्ष गाउँपालिकाको आर्थिक सहयोगमा विषेश क्षेत्र निर्धाण गरी १५० वटा टनेल निर्माण गरिएको थियो” उनले भने,“ विगतको कार्यक्रम प्रभावकारी देखिएसंँगै सवै वडाका बासिन्दाको आकर्षण बढेको हुँदा यस वर्ष एक घर एक टनेलको अभियान सञ्चालन गरिएको हो ।”

कृषकको मागअनुसार गाउँपालिकाका सात वटा वडाका कूल चार हजार एक सय घरमा टनेल निर्माणका ८३ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।

गाउँसभामा आर्थिक वर्ष २०७८।०७९ का लागि ४७ करोड ६८ लाख ३५ हजारको बजेट प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रम र बजेटमा कोभिड–१९ रोकथाम एवं नियन्त्रण तथा सडकलाई प्राथमिकतामा राखिएको छ । संघ सरकारको वित्तीय समानीकरण ८ करोड ३१ लाख, राजस्व बाँडफाँट ५ करोड ६७ लाख, सशर्त अनुदान २१ करोड २० लाख, विशेष अनुदान ८३ लाख अनुमान गरिएको छ । प्रदेशबाट समानीकरण शीर्षकमा ८९ लाख २३ हजार, राजश्व बाँडफाँट ३६ लाख ३ हजार, समपूरक अनुदान १ करोड, जिल्ला समन्वय समिति कास्की २ करोड ५० लाखलाई आम्दानीमा बाँधिएको छ । आन्तरिक स्रोतबाट ३ करोड ६० लाख उठ्ने अनुमान छ । खासगरी ढुंगा, गिट्टी, बालुवा निकासी यहाँको प्रमुख आम्दानीको स्रोत हो ।

गाउँगाउँमा फ्रि वाइफाई

रुपाले आउँदो वर्ष पालिकाका ५२ ठाउँमा निशुल्क वाइफाई जोन बनाउने निर्णय गरेको छ । नागरिकलाई सूचनाको पहुँचभित्र ल्याउन फ्रि वाइफाई जोन अवधारणा सुरु गरिएको हो । यसका लागि १० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।

यो वर्ष एनएलएसआइपी कार्यक्रम मार्फत पालिकाका ३ सय युवाले २० करोडको सम्झौता गरेर पशुपालन थालेका छन् । यसलाई थप बिस्तार गर्ने योजना छ । कृषि महाशाखाबाट कार्यक्रम सञ्चालन गर्ने गरी ४४ लाख ५० हजार विनियोजन गरिएको छ ।

रुपाभित्र वन क्षेत्र बढी भएकोले वनमा आधारित उद्यम कार्यक्रमलाई प्राथमिकता दिइएको छ । रुपाले आउँदो वर्ष सबै घरमा धारा जोडिसक्ने लक्ष्य लिएको छ । ‘९५ प्रतिशत घरमा धारा पुगिसक्यो । आउँदो वर्ष सबै घरमा जोडिन्छ,’ अध्यक्ष ओझा भन्छन्, ‘यसका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्छौं ।’ खानेपानी योजनाका लागि १ करोड ५० लाख छुट्याइएको छ । यहाँ ठूला लिफ्टिङ खानेपानी आयोजना धमाधम बनिरहेका छन् । प्रदेश सरकारले पनि ‘एक घर एक धार’ लाई विशेष प्राथमिकताका साथ सञ्चालन गरेको छ ।

पालिकाभित्र रहेका सबै जातजाति र भाषा, धर्मको संस्कारलाई जगेर्ना गर्न हंसपुरमा सांस्कृतिक संग्रहालय स्थापना गर्ने कार्यक्रम छ । सबै सामुदायिक विद्यालयमा खाजा कार्यक्रमलाई जोड दिइएको छ । यसका लागि मात्रै ४२ लाख ५८ हजार बजेट छ । नमुना स्कुल र ल्याब चलाउन १ करोड छुट्याइएको छ । शिक्षाबाट थप कार्यक्रम गर्न ५० लाख विनियोजन भएको गाउँपालिका उपाध्यक्ष लालसुबा गुरुङले जानकारी दिइन् ।

कोभिडबाट नागरिकको सुरक्षा गर्न बढी ध्यान दिइएको छ । अस्पताल, स्वास्थ्य चौकी निर्माणमा १ करोड ९५ लाख विनियोजन भएको छ भने स्वास्थ्य शाखाबाट २७ लाख ७५ हजार खर्च हुँदै छ । सडक अझै पनि रुपाको प्राथमिकतामा छ । एउटै सडकमा ४ करोडभन्दा बढी लगानी गरिएको छ । आउँदो वर्ष रामकोट–रामदी सडकका लागि २ करोड ८२ लाख विनियोजन गरिएको छ । सोही सडकको देउराली मज्र्याङकोट खण्डका लागि १ करोड ५० लाख छुट्टै विनियोजन भएको छ । अन्य सडकका लागि २ करोड ९० लाख छुट्याइएको छ ।

रुपाले वडा तहलाई बढी शक्तिशाली बनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १ करोड ४९ लाख, वडा कार्यालयबाट कार्यान्वयन गर्न ४० लाख, कानुन निर्माण गर्न ५ लाख छ । पालिकाले कर्मचारीको तलबमा थप २ हजार थपिदिने निर्णय गरेको छ । जनप्रतिनिधिको सुविधाका लागि १ करोड छुट्याइएको छ भने अन्य सुविधाका लागि थप २ लाख, पोशाकका लागि ३ लाख ५० हजार, कर्मचारीलाई महँगी भत्ताका लागि ८ लाख, फिल्ड भत्ता १० लाख, बैठक भत्ता १२ लाख, कर्मचारीको प्रोत्साहन स्वरुप पुरस्कार दिन २ लाख विनियोजन भएको छ । माथिल्ला सरकारले जस्तै कर्मचारीको पर्यटन काजलाई रुपाले पनि पछ्याएको छ । कर्मचारी पर्यटन काज शीर्षकमा खर्च गर्न ११ लाख बजेट छ । यसबाट कर्मचारी घुमेको पैसा बिल आधारमा पालिकाले व्यहोर्छ । गाउँपालिकामा आउने भिआइपीको खर्चका लागि छुट्टै ५ लाख ५० हजार छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds