प्रहरी र सशस्त्र महानिरीक्षकमा दुई ‘एस. खनाल’

प्रहरी र सशस्त्र महानिरीक्षकमा दुई ‘एस. खनाल’

khanal

काठमाडौँ, २७ चैत्र — सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले चैत २९ गतदेखि लागू हुने गरी प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई महानिरीक्षकमा बढुवा गरेको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

गत साउनमा प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक डिआईजीमा बढुवा हुँदा खनाल सबैभन्दा अगाडि (१ नम्बर)मा थिए । खनालले कूल ८४.४७ अंक प्राप्त गरेका थिए भने दोस्रो नम्बरमा रहेका डिआईजी रमेश खरेलले ८३.८५ र तेस्राे नम्बरमा रहेका पुष्कर कार्कीले ७८.२३ अंक प्राप्त गरेका थिए ।

प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाअवधि पूरा गरेर बुधबारदेखि अवकाश पाउँदैछन्। महानिरीक्षक अर्यालसँगै १५ जना एआईजीहरु मंगलबारबाट अवकास पाउँदैछन्।  प्रहरी महानिरीक्षकको दौडमा खनालसँगै डीआईजीद्वय रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धी थिए।

को हुन् खनाल ?

तनहुँमा ०२३ वैशाख १३ गते जन्मिएका खनालले लैनचौरस्थित शान्ति विद्यागृहबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि अमृत साइन्स क्याम्पस (अस्कल) मा भर्ना भएका थिए । त्यहाँबाट आइएस्सी गरेर उनले शंकरदेव क्याम्पसबाट बीकम गरेका थिए । त्यसपछि उनले छात्रवृत्तिमा बीकम अध्यययन गरे । त्यही बीच उनी प्रहरी सेवामा प्रवेश गरे ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा हुँदा कार्य सम्पादन मूल्याङ्कनमा शीर्ष स्थानमा रहेका सर्बेन्द्र खनाल २९ माघ ०४६ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

हाल महानगरीय ट्राफिक प्रहरीका प्रमुख रहेका उनले प्रहरी संगठनभित्र जिम्मेवार र काबिल अफिसरको रुपमा परिचय स्थापित गराएका छन् । उनी सबै राजनीतिक नेतृत्वसँग पनि सन्तुलित सम्बन्ध राख्ने अफिसरको रुपमा पनि चिनिने गरेका थिए ।

पछिल्लो समय महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख रहेका उनले काठमाडौंमा १० वर्षदेखि बिग्रिएको ट्राफिक बत्तीलाई ‘स्मार्ट लाइट’ जडान गरेर रिप्लेस गरेका थिए ।

यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखासहितका महत्वपूर्ण प्रहरी इकाइको नेतृत्व गरिसकेका खनालले सीमावर्ती क्षेत्र बारा, पर्सा, वीरगञ्ज लगायतमा समेत कुशलतापूर्वक नेतृत्व सम्हालिसकेका थिए ।

इन्स्पेक्टर हुँदा उनले वडा प्रहरी कार्यालय, दरबारमार्ग र कालिमाटीको प्रमुखका रुपमा काम गरेका थिए । प्रहरी नायब निरीक्षक (डीएसपी) मा बढुवा भएपछि उनले नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र रामेछापमा काम गरेको थिए ।

एसपीका रुपमा बारा, धनुषा र काठमाडौंको नेतृत्व उनले गरेको थिए । उनी एसएसपी भएपछि अञ्चल प्रहरी कार्यालय नारायणीमा पनि नेतृत्वमा गरेको थिए । उनी एसएसपी भएकै बेला केन्द्रीय प्रहरी प्रवक्तासमेत बने । जागिरे जीवनका क्रममा खनालले २२ वटा विभुषण र १२ तालिम हासिल गरेका छन् ।

खनालका कार्यकुशलता

खनालले आफ्नो करिअरमा कुख्यात भारतीय अपराधी बब्लु दुबेको पक्राउदेखि गुण्डानाइके कुमार घैंटेको इन्काउन्टर लगायत अन्य थुप्रै अपराधको सफल अनुसन्धान गरेका थिए। नेपाली फुटबल इतिहासमा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा नेपाली टिमका कप्तान सागर थापा, सन्दीप राई, अन्जन केसी लगायतलाई कानूनी कठघरमा ल्याएका थिए।

अपराध महाशाखाको जिम्मेवारी सम्हालेको हप्ता दिनमै उनले सञ्चार उद्यमी जमिम शाहका हत्यारालाई जगदीश चन्दलाई पक्राउ गरे। ललितपुरको बडिखेलमा १२ वर्ष अगाडि एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डका अभियुक्तहरु पक्राउ गर्न पनि खनालले विशेष भूमिका निभाएको मानिन्छ । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई खनाल नेतृत्वकै टोलीले पक्राउ गरेको थियो ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) खनालले ०६२/६३ को जनआन्दोलनको बेला काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हालेका थिए । त्यसबेला परिसरले निषेधित क्षेत्र तोडेको भन्दै गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत थुप्रैलाई नियन्त्रणमा लिएको थियो ।

जनआन्दोलनपछि उनी बारामा गएका थिए । उनी प्रहरी सेवाकै क्रममा हाइटीमा समेत पुगेका थिए । उनीसँग यूएन मुख्यालयमा रहेर काम गरेको समेत अनुभव छ ।

तराईमा सशस्त्र समूहको बिगबिगी रहेका बेला उनले ती समूहका गतिविधिलाई निस्तेज पार्न पनि भूमिका खेलका थिए । त्यसबेला १ सय ९ समूहमा विभाजित सशस्त्र समूहहरुलाई उनले औंलामा गन्न सकिनेमा झारेका थिए ।

दोस्रो संविधानसभाका बेला आपराधिक गतिविधि गरिरहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष तथा सैनय कमाण्डर राजनमुक्ति भनिने रञ्जित झालाई उनले भारतको पटनाबाट नियन्त्रणमा लिएका थिए । गोइत समूहका अभिताभ पनि त्यसबेलै पक्राउ परे ।

नाकाबन्दीका बेला इन्धन कालोबजारी गर्नेहरुलाई पक्राउ,  यूनीटी लाइफ इन्टरनेशनलका सञ्चालकहरुलाई विष्णुबहादुर र कृष्णबहादुर क्षेत्रीलाई पक्राउ गर्न सफल भएका थिए ।

भारतले नाकाबन्दी लगाएका बेला उनले पेट्रोल पम्पहरुको ठगी धन्दाविरुद्ध पनि अप्रेशन चलाएका थिए । उनले पेट्रोल पम्पहरुले चिप्स जोडेर रिमोटबाट १ सय लिटरमा ३ देखि ४ लिटर पेट्रोल ठगी हुने गरेको रहस्य सार्वजनिक गरेका थिए ।

त्यस्तै, उनले काठमाडौंका अवैधानिक शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) हरुकमा छापा मारेर ठगी धन्दामा संलग्नहरुको पर्दाफास गरेका थिए । त्यसबेला उनले गरेको अप्रेशनका कारण थुप्रै कन्सल्टेन्सी व्यवसायीहरु वैधानिक बाटोमा आएका थिए ।

प्रहरीले अप्रेशन चलाउनुअघि काठमाडौंमा १ सय ३० वटा कन्सल्टेन्सी मात्र वैधानिक रुपमा दर्ता भएकोमा अप्रेशनपछि ११ सय कन्सल्टेन्सी दर्ता भएका थिए । महाशाखामै रहँदा उनले हुण्डी कारोबारीविरुद्ध समेत कदम चलाएका थिए ।

सशस्त्रको कमाण्ड शैलेन्द्र खनाललाई

मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको प्रमुखमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा थिए ।

नेपाल प्रहरीको निरीक्षकबाट सेवा सुरु गरेका शैलेन्द्र खनाल २०५७ सालमा गठन भएको सशस्त्र प्रहरीमा प्रवेश गरेर करिअर सुरु गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ