गण्डक न्युज, पोखरा २१ चैत / पोखरा विश्वविद्यालय स्थापना भएको २१ वर्ष पछि पहिलोपटक स्वतन्त्र विद्यार्थी युनियनको चुनाव उल्लासमय वातावरणमा भईरहेको छ । तर, पोखरामा अचानक परेको पानीले केहि डिस्टर्व गरेको छ ।
पानीका कारण मतदान स्थल बाहिर क्याम्पस प्रांगणबाट ईञ्जिनियरिङ र विजनेस डेभलपमेन्ट बिल्डिङमा सारिएको त्यहाँ रहेका हाम्रा संवाददाता रियाज तिमिल्सिनाले जानकारी दिएका छन् । पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पस लेखनाथ, पोखरामा स्ववियु चुनावको मतदान बिहानैदेखि जारी छ ।
क्याम्पसमा विज्ञान र प्रविधि, स्वास्थ्य विज्ञान, व्यवस्थापन र मानविकी गरी ४ संकायका स्नातक र स्नातकोत्तर अध्ययन गर्ने २ हजार १ सय ३० विद्यार्थी चुनावमा सहभागी हुँदैछन् । अहिले पौने ३ बजेसम्म १ हजार भोट खसिसक्यो ।
बिहान ७ बजेदेखि सुरु मतदानको समय ५ बजेसम्म तोकिएको छ । त्यसबेलासम्म लाइनमा रहने सबै विद्यार्थीले मत खसाल्न पाइने निर्वाचन समिति सदस्य हेमचन्द्र चौलागाईंले गण्डक न्युजलाई बताए ।
विश्वविद्यालयमा प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्ष र ८ सदस्य चयन हुनेछन् भने समानुपातिकतबाट ८ जना गरी १९ पदका लागि निर्वाचन हुनेछ । विश्वविद्यालयले विश्वविद्यालयका पाठयक्रम विकास केन्द्र निर्देशक राजेश ठकुराठीको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन समिति बनाएको हो ।
आगामी ९ बैशाखमा माउ पार्टी एमाले र माओवादी एक बन्ने उद्घोष गरिरहेका बेला स्ववियु चुनाव अलगअलग संगठनकै हैसियतमा प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि, पोखराका पिएन बाहेकका चार क्याम्पसमा भएको स्ववियु निर्वाचनमा पनि अनेरास्ववियु र क्रान्तिकारी एक थिएनन् । अनेरास्ववियुकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नै उपस्थित भएर मिलाउन खोज्दा पनि पियुमा मिलाउन सकेनन् ।
स्ववियु अध्यक्षमा क्रान्तिकारीको तर्फबाट सुदन पन्त, अनेरास्ववियुबाट सुनिल तिमिल्सिना र नेविसंघबाट डिफान भुजेलसहित अन्य संगठनले पनि उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारको नामावली प्रकाशन, नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशनको अन्तिम दिन क्यामसले १६ चैतलाई तोकेको थियो । उक्त दिनसम्म दुई वाम विद्यार्थी संगठनका उम्मेदवारले नाम फिर्ता लिएका छैनन् । क्याम्पसमा मतदान २१ चैतको बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यतालिका छ ।
अनेरास्ववियुबाट सभापतिमा सुनिल तिमिल्सिना, सचिव सुरज परियार र कोषाध्यक्ष प्रकृति दवाडी छन् । अनेरास्ववियु क्रान्तिकारीको प्यानलबाट सभापतिमा सुदन पन्त, सचिव विनायक तिमिल्सिना र कोषाध्यक्षमा सामना सुवेदी छन् । नेविसंघबाट डिफान भुजेलको नेतृत्वको प्यानलले उम्मेदवारी दिएको छ । सचिवमा नारायण सापकोटा र कोषाध्यक्ष विनिता लामिछाने छन् ।
समाजवादी फोरमका तर्फबाट राजेश यादवको नेतृत्वमा सचिव रमेश शाह र कोषाध्यक्ष मन्दाकिनी महतो छन् । राष्ट्रिय जनमोर्चा समर्थक अखिल छैटौंले सचिवमा हेमन्त रानामगरलाई उम्मेदवार बनाएको छ भने अरु पदमा उम्मेदवार उठाएको छैन ।
सुवासप्रसाद पौडेल स्वतन्त्र रुपमा सभापति उठेका छन् । यस्तै सभापतिमा स्वतन्त्र उम्मेदवारी दिनेमा कुसुमशिला भट्ट र विमान प्रधान पनि छन् । भट्ट अनेरास्ववियु र प्रधान नेविसंघकमा बागी हुन् । सचिवमा स्वतन्त्र उम्मेदवारी दिने विनोद भण्डारी पनि अनेरास्ववियु क्रान्तिकारीका वागी उम्मेदवार हुन् ।
अनेरास्ववियु र समाजवादी फोरमबीच समानुपातिक सहसचिव, १ प्रत्यक्ष र १ समानुपातिक सदस्य समाजवादी विद्यार्थी फोरमलाइ दिनेगरी सहमति भएको थियो । विद्यार्थी संगठनहरु स्ववियुको संस्थापक बन्ने होडमा लागेका छन् ।
यसअघि देशैभरका विश्वविद्यालयमा चैत १६ मा निर्वाचन गर्ने भनिए पनि नेत्रविक्रम चन्द समूहनिकट विद्यार्थी संगठनको आग्रहमा प्रमुख तीन विद्यार्थी संगठनको सहमतिमा चैत २१ र्पुयाइएको हो ।
तस्विरः विश्वदर्शन पराजुलीको फेसबुकबाट
सम्बन्धित खबर
भूमि समस्या समाधान आयोग कास्कीकाे अध्यक्षमा बैनबहादुर गुरुङ
आहा ! रारामा प्रत्येक दिन १ दर्शकलाई ५ हजार पुरस्कार
गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा ल्याउने तयारीमा छौँ – मन्त्री थापा
पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी
वडास्तरीय महिला सीप विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न
छाती रोग खोजपडताल सम्बन्धी एकदिने शिविर, ६ जना क्षयरोगका बिरामी भेटिए
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु
पोखरामा स्काई डाइभिङ सुरू, नेपाली प्रशिक्षकले नै गराउने
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत