प्रदेश ४ को नाम के ? सांसदले सुझाव माग्दा अधिकांशले भने- ‘गण्डक प्रदेश’

प्रदेश ४ को नाम के ? सांसदले सुझाव माग्दा अधिकांशले भने- ‘गण्डक प्रदेश’

gandak

पोखरा । प्रदेश ६ ले सर्वसम्मत रुपमा आफ्नो प्रदेशको नाम कर्णाली प्रदेश नामाकरण गरिसक्यो । अन्य प्रदेश भने छलफलमै छ । यतिबेला प्रदेश ४ को नाम के राख्ने भन्ने बहस सुरु भएको छ । प्रदेश सरकारले यसबारे सुझाव दिन दलीय समिति नै बनाएपछि बहसले तीव्रता पाएको छ ।

एकातिर हिमालदेखि पहाड र तराईसम्म फैलिएको प्रदेशको नामाकरण कुनै जाति, ठाउँ विशेषका आधारमा गर्दा अरुलाई अन्याय हुने आवाज पनि उठिरहेको छ भने जातीय बाहुल्यता र महत्वको हिसाबले प्रदेशको नाम राख्नुपर्ने माग पनि त्यतिकै सशक्त छ ।

गण्डकी राख्दा धौलागिरी नसमेटिने, तमुवान मगरात जातिय आधारमा हुन नहुने, अन्नपूर्ण, माछापुच्छ्रे राख्दा गाउँपालिका बनिसकेको जस्ता तर्क सामाजिक सञ्जालमा देख्न पाईन्छ । सुरुदेखि नै गण्डक प्रदेशको चर्चा चलिरहेका बेला यस प्रदेशमा जनमत ठूलो बन्दै गएको विभिन्न अनौपचारिक र नमुना सर्वेक्षणले समेत देखाईसकेको छ ।

प्रदेश सरकारले पनि राजधानी र नामाकरण विशेष समिति नै गठन गरेको छ । पाँच पार्टीका ५ सदस्य रहने गरी सोमबार प्रदेश सरकारले गठन गरेको समितिले प्रदेशको नामाकरण सम्बन्धी काम थालेको छ । प्रदेश राजधानी तथा नामाकरण विशेष समितिमा धनन्जय दवाडी, मीनप्रसाद गुरुङ, विन्दुकुमार थापा, भगवतप्रकाश मल्ल, दीपक कोइराला, चन्द्रबहादुर बुढा, कृष्ण थापा र हरिशरण आचार्य सदस्य छन् । समितिमा सावित्री रानामगर, सरिता गुरुङ र मधुमाया अधिकारी थपिएका छन् ।

समितिमा सदस्य चयन भएपछि सांसद दीपक कोइरालाले एउटा स्टाटस लेखे: ‘चार नम्बर प्रदेश को नामांकन र राजधानी तोक्न को लागि प्रदेश सभाले बिशेश समिती (म समेत) निर्माण गरेको छ । सुझाव को लागि हार्दिक अपिल गर्दछु।’ 

आज ठ्याक्कै एक हप्तासम्ममा २४७ कमेन्ट आएको छ । जसमध्ये १०३ कमेन्ट गण्डक प्रदेश नाम लिइएको छ । सांसद कोइरालाले कुनै अप्सन नदिई खुल्ला रुपमा राखेको यो जिज्ञासामा अधिकांशले गण्डक प्रदेश नै हुनुपर्ने सुझाव दिएका हुन् । हेर्नुहोस्:

https://www.facebook.com/deepakkoiralar/posts/1988964781132672

समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाको अध्यक्षतामा ठीक एक हप्ता अघि मंगलबार पहिलो बैठक बसेको थियो । बैठकले राजधानी र नामाकरण सम्बन्धी कार्यविधि बनाएर त्यसैका आधारमा सुझाव संकलन गरी प्रदेशको नामाकरण सम्बन्धी धारणा बनाउने निर्णय गरेको छ । समितिले ३० दिनभित्र प्रदेश सरकार समक्ष प्रदेश राजधानी र नामाकरणबारे संसदमा पेश गर्नु पर्नेछ ।

१६ गतेको संसद बैठकमा कार्यविधि पेश गरिने समिति सदस्य दीपक कोइरालाले जानकारी दिए । ‘अहिले हामीले कार्यविधि तयार गर्दैछौं । १६ गते कार्यविधि पेश हुन्छ,’ कोइरालाले भने, ‘कार्यविधिलाई नै टेकेर कसरी सुझाव संकलन गर्ने, विज्ञसहितको टोली कसरी बनाउने भन्ने तय हुन्छ । ‘

जिल्ला, निर्वाचन क्षेत्र वा स्थानीय तहसम्ममा गएर सुझाव संकलन गर्ने कि विज्ञ समूह बनाएर गर्ने भन्ने विषयमा छलफल भइरहेको कोइरालाले जानकारी दिए ।

समितिले धारणा बनाउनु अगाडि नै जनस्तर तथा विभिन्न संस्थागत रुपमा नामका विषयमा चर्को बहस सुरु भएको छ । गण्डक, तमुवान मगरात, गण्डकी, अन्नपूर्ण, गोरखाजस्ता नाम राख्न व्यक्तिगत तथा विभिन्न संस्थागत रुपमा माग हुन थालेको छ । व्यास, फेवा, रुपा, मुक्तिनाथ लगायतका नाम राख्नुपर्ने आवाज आइरहेको छ ।

प्रदेशमा व्यापक समर्थन सामाजिक सञ्जालमा देखिन्छ । हिन्दी नाम भनिएपनि गण्डक शब्द नेपाली राजनीतिमा व्यापक नाम हो । सप्तगण्डकी सेरोफेरो रहेकाले यस प्रदेश गण्डक क्षेत्र हो । गण्डक प्रदेश बनाउन नेकपा एमालेलाई दबाब पनि छ । जनमत पनि गण्डकमै रहेको विभिन्न सर्वेक्षणमा देखाईसकेको छ ।

यही प्रदेशमा अन्नपूर्ण हिमाल क्षेत्र रहेकाले प्रदेशको नाम अन्नपूर्ण राख्न पनि आवाज पनि उठिरहेको छ भने गोरखाको ऐतिहासिक महत्वलाई ख्याल गर्दै प्रदेशलाई एकताको सूत्रमा बाध्न पनि प्रदेशको नाम गोरखा राख्नु पर्ने आवाज उठिरहेको छ ।

नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले प्रदेशको नामाकरण गर्दा जातीय गन्ध आउन नहुने बताउँछन् ।

सम्बन्धित समाचार

प्रदेश ४ को नाम राख्न समिति गठन, ८० प्रतिशत बढी ‘गण्डक’ पक्षमा (अनौपचारिक सर्वेक्षण)

प्रदेश ४ को नाम गण्डक, तमुवान–मगरात, गण्डकी, गोरखा, अन्नपूर्ण बढी चर्चामा छ ।

प्रदेश ४ को नाम सप्तगण्डकीको सेरोफेरो भएकोले ‘गण्डक प्रदेश’ !

अहिले दर्जनौंका पोस्टहरुमा प्रदेशका नामबारेको चासो देख्न सकिन्छ । प्रदेशबासीका मनोभावना के छन् भन्ने बुझ्न विभिन्न व्यक्ति तथा पेजबाट नमुना सर्वेक्षण नै भएको छ ।

प्रदेश ४ को नाम के राख्ने भन्ने बहस यतिखेर जोडतोडले चलेको छ । विशेषत: सामाजिक सञ्जालमा सर्वसाधारणले आ–आफ्नो राय व्यक्त गरिरहेका छन् । विभिन्न नाममध्ये गण्डक, गोरखा र तमुवानमा बढी चर्चामा छन् । संस्कृति, रीतिरिवाज, रहनसहन र परम्पराको आधारमा गण्डक प्रदेश राख्नुपर्ने एकथरीको तर्क छ ।

पोखराका अग्रज पत्रकार कुशुमकेशव पराजुली लेख्छन्ः ‘निस​न्देह​ हामी ‘ग​ण्ड​क प्र​देश​’मा छौ । अहिलेका स​र​कार​का घ​ट​कह​रुले आफ्नो आधार​ ईलाका ब​नाउदा होस​ या साङ्ग​ठ​निक नामाकर​ण​ ग​र्दा ग​ण्ड​क प्र​देश भ​नेर नै नामाकर​ण​ ग​रेका थिए ।’

सामाजिक सञ्जालमा पोखराका युवा रुपेश पाण्डे लेख्छन्, ‘गण्डक क्षेत्रको लोकसंस्कृति, यहाँको सुन्दरताले यस क्षेत्रलाई चिनाएको छ । त्यसैले यो प्रदेशको नाम ‘गण्डक’ हुनुपर्छ ।’

पर्वत सदरमुकाम कुश्माकी विद्यार्थी रश्मी लामिछाने भने दुई अञ्चल जोडिएकाले ‘गण्डकी–धौलागिरी प्रदेश’ नामाकरण गर्न उचित हुने तर्क गर्छिन् । सामाजिक सञ्जालमा उनी भन्छिन्, ‘प्रदेशको नाम सर्वस्वीकार्य हुनुपर्छ । यहाँको भूगोलमा भएको नदी र हिमाल मिलाएर गण्डकी–धौलागिरि प्रदेश नाम राख्दा कसैको विमति हुन्छ जस्तो लाग्दैन ।’

गोरखाका युवा व्यवसायी सुरज श्रेष्ठ फरक विचार राख्छन् । प्रदेश ४ को नाम गोरखा प्रदेश राख्नुपर्ने उनको राय छ । नेपाल एकीकरणको उद्गम थलो र वीर नेपालीलाई चिनाउने पदावली भएकोले गोरखा प्रदेश नै उपयुक्त हुने विचार उनले राखेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ युएईमा आवद्ध देरराज गुरुङ पहिचानको सम्बोधन हुने गरी नामाकरण गर्नुपर्ने सुझाउँछन् । गण्डक नै राख्दा पनि गुरुङ वा मगर भाषामा गरिनुपर्ने उनको तर्क छ । ‘पहिचानलाई कुनै न कुनै हिसाबले सम्बोधन गर्न सकिन्छ,’ उनी लेख्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ