गण्डकी प्रदेशका प्रतिपक्षी दलका सांसदहरुलाई रिसोर्टमा राखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकार ढाल्न उद्धत तीन विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका सांसदहरुलाई सोमबार साँझदेखि पोखराको लेकसाईड स्थित रिसोर्टमा राखिएको छ । काँग्रेस १५ र माओवादीका ११ सांसदहरुलाई कुटी रिसोर्ट र जसपाका २ सांसदहरु नजिकै अर्को होटलमा छन् ।
यी तीन पार्टीका २८ जना सांसदहरुले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । सरकारमा पनि नजाने र अविश्वास प्रस्ताव दर्ता पनि नगर्ने नीति लिएको राष्ट्रिय जनमोर्चाका ३ सांसदहरु पनि केन्द्रीय निर्णय अनुसार अविश्वास पक्षमा मत दिनेछन् । तत्कालिन एमालेको मतले जितेका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) ले आफूलाई स्वतन्त्र हैसियतमा स्थान दिन माग गरिरहेका छन् ।
बहुमत जुटाउन ठ्याक्कै ३१ मत आवश्यक पर्छ । त्यसकारण पनि एक जना सांसदले मात्र फ्लोर क्रस गरे वा अनुपस्थित भएपनि गुरुङ सरकार जोगिने अनि एक वर्षसम्म ढाल्न नपाउने कानुनले गर्दा पनि कसैलाई पनि दाया बाँया हुन नदिन एकसाथ रिसोर्टमा राखिएको एक नेताले बताएका छन् ।
उनीहरुलाई अविश्वासको पक्षमा मतदान नगरुन्जेलसम्म नै रिसोर्ट मै राखिने बताइएको छ । तर, कतिन्जेल उनीहरु रिसोर्टमा बस्नुपर्ने हो थाहा छैन । मुख्यमन्त्री गुरुङले रातारात अन्त्य गरेको संसद अधिवेशन प्रदेश प्रमुख अमिक शेरचनले पहिले सिफारिस सदर गरेपनि विपक्षी दलको समावेदनका आधारमा पुनः विशेष अधिवेशन डाकिएकोमा दोस्रो बैठक नै सत्तापक्षबाट अवरोध भइसकेको छ ।
कांग्रेसका सांसदले फ्लोर क्रस गर्ने वा अनुपस्थित हुने सम्भावना नभएपनि माओवादी सांसदहरु शंकाको घेरामा छन् । खास गरेर माओवादीमा रामबहादुर थापा बादल पक्षधर भनिने सांसदहरु बढी शंकाको घेरामा छन् । हाल नेकपा एमालेका नेता थापा निकट भनिएका हरिबहादुर चुमान, दीपा रोका र चन्द्रबहादुर बुढा सांसद हुन् । चुमान संसदीय दलका नेता भएकाले सत्तापक्षले अरु दुई जनालाई फ्लोर क्रस गराउन प्रयास गरेको हुनसक्ने आशंका विपक्षीहरुको छ ।
माओवादीका सांसदलाई मात्र एक्लै रिसोर्टमा राख्दा गलत संदेश जान सक्ने भएकाले कांग्रेसका सांसदलाई पनि संगै राखिएको एक कांग्रेस नेताले बताए । रिसोर्टमा राखिएका प्रदेश सांसद भेट्न प्रस्तावित मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मंगलबार बिहानै रिसोर्ट पुगेका थिए । उनीहरु रिसोर्टबाटै आजप प्रदेशसभा बैठकमा भाग लिन गएका थिए । आज पनि उनीहरु रिसोर्टमा नै बस्नेछन् ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले अविश्वास प्रस्ताव अत्याधिक मतका साथ पारित गर्ने विषयमा छलफल गर्न एकै ठाउँ भेला भएको बताएका छन् । उनले भने – अब सरकार कुनै हालतमा पनि रहन्न । अविश्वास प्रस्तावमा २८ जनाले हस्ताक्षर गरिसकेका छन्, जुन घट्ने कुरै भएन । राजिव गुरुङले समेत एमालेमा छैन, स्वतन्त्र हुँ भनिसकेको सन्दर्भ र राष्ट्रिय जनमोर्चाको पनि पक्षमा मत दिने निर्णयले स्पष्ट बहुमत पुग्छ । बरु १, २ जना थपिन थपिन सक्छन् ।
गण्डकीमा नेकपा एमालेका मात्र २७ सांसद छन् । यीमध्ये एक जना माधव नेपाल पक्षका हुन् । देशभर समानान्तर गतिविधि गर्दै आएको खनाल नेपाल पक्षले कर्णालीमा जस्तै यहाँ पनि फ्लोर क्रस गरेमा मुख्यमन्त्री गुरुङको सरकार जोगिनेछैन । सरकार जोगिन स्वतन्त्र सांसद दीपक मनाङे सहित राष्ट्रिय जनमोर्चाका ३ सांसद आवश्यक पर्छ । राष्ट्रिय जनमोर्चा आफ्नो साथमा नहुने भएपछि विपक्षी ४ सांसदलाई फ्लोर क्रस गराउन नसके सरकार ढल्छ ।
सोमबार गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएको थियो । नयाँ मुख्यमन्त्रीको रुपमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ । मंगलबारै अविश्वासको प्रस्तावमाथि मतदानमा जाने विपक्षी दलको चाहना भए पनि बुधबार मात्र मतदान हुने सांसदहरूले बताइरहेका छन् ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ