सबै तहका परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय

सबै तहका परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय

ccmc 1

सरकारले यही वैशाख महिनाभित्र सबै कक्षाका परीक्षा सक्न विद्यालयलाई निर्देशन दियो । यससँगै भौतिक उपस्थितिमा पठनपाठन बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न पनि भनेको थियो ।

तर, कोरोनाको संक्रमण उच्च दरमा वृद्धि हुन थालेपछि परीक्षा पनि स्थगित गर्न सरकार समक्ष सिफारिस भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमबारदेखि सुरु हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको सीसीएमसी स्रोतले बतायो ।

स्रोतका अनुसार यो सिफारिस नभएर सोमबारदेखि नै लागू हुनेगरी निर्णय नै गरिएको हो । कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो । कोरोनाको जोखिम कम भएपनि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ ।

सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो ।

त्यसैगरी मेडिकल कलेजको पढाइ पनि नरोकिने क्याबिनेटको आदेशमा उल्लेख थियो । तर, आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गरेको हो ।

बालुवाटारको शनिबारको ब्रिफिङमा प्रधानमन्त्री ओलीले सरकारको आदेश र स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि प्रभावकारी योजना ल्याउन निर्देशन दिएपछि आइतबार सीसीएमसीको बैठक बसेको हो ।

पछिल्ला दिन कोरोना संक्रमतिको संख्या ह्वात्तै बढिरहेको छ । पछिल्ला २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन अहिलेसम्मकै नेपालमा सर्वाधिक दोस्रो धेरै संख्या हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ