नेदरल्याण्ड्समाथि शानदार जीत निकाल्दै नेपालले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक टी-२० शृंखलाको उपाधि उचालेको छ। नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले घरेलु मैदानमा पहिलो पटक भएको सिरिजको उपाधि उचालेको हो।
टी-२० अन्तर्राष्ट्रियमा आजसम्मकै विशाल २ सय ३९ रनको योगफल तयार परेको नेपालले नेदरल्याण्ड्सलाई ९६ रनमा समेट्दै उपाधिमाथि कब्जा जमायो। फाइनलमा नेपाली बलरहरु हावी भएपछि नेदरल्याण्ड्स उक्त स्कोरमा समेटिएको हो। लगातार विकेट पतनका कारण दबाबमा आएका नेदरल्याण्ड्सका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन्।
नेपालका करण केसीले ३ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चे। नेपालका लेगस्पिनर सन्दीप लामिछानेले २ विकेट लिए। उनले आफ्नो स्पेलमा २६ रन खर्चे। सबस्टीयन ब्रटले जोडेको २६ रन नै नेदरल्याण्ड्सका लागि सर्वाधिक रह्यो। म्याक्स ओ डुडले २० तथा कप्तान पिटर सिलारले १३ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।
त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रनको योगफल तयार पारेको हो। तेस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले ७६ रनको साझेदारी गरेका थिए। ५३ बलको सामना गरेका कुशल भुर्तेलले ८ चौका र ३ छक्का मद्दतमा ७७ रनको महत्वपुर्ण योगदान दिएका थिए।
उनी नेपालबाट एकै सिरिजमा सर्वाधिक धेरै रन बनाउने पहिलो खेलाडी समेत बनेका छन्। कुशलले सिरिजमा चौथो अर्धशतक हान्दै किर्तिमान कायम गरेका हुन्। यसअघिको खेलमा उनले लगातार अर्धशतक पुरा गरेका थिए। मलेसियासँगको चौथो खेलमा भने कुशल १६ रनमै पवेलियन फर्केका थिए।
चौथो विकेटका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरि र कुशल मल्लले ७५ रनको साझेदारी गरे। कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्कामा ५० रनमा नटआउट रहे। उपकप्तान दिपेन्द्र सिंह ऐरि ४८ रनमा अविजित रहे। १८ बलको सामना गरेका दिपेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे।
कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे। १९ बलको सामना गरेका कप्तान मल्लले ३३ रनको योगदान दिए। १९ बलको सामना गरेका उनले ३ चौका र २ छक्का हाने। उनी नवौ ओभरको तेस्रो बलमा क्याच आउट हुन पुगे।
त्यसअघि अर्को ओपनर आसिफ शेखले १६ रन जोडे। भुर्तेल र शेखले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरे। ८ बलमा १ चौका र २ छक्का हानेका उनी दोस्रो ओभरको दोस्रो बलमा क्याच आउट भए। नेदरल्याण्ड्सका फिलिप बोसिभेनले २ तथा सबस्टीयन ब्राटले भने एक विकेट लिए।
नेपाल क्रिकेट संघको आयोजनामा भएको त्रिकोणात्मक शृंखलामा नेपाल, नेदरल्याण्ड्सँगै मलेसियाको सहभागिता थियो। नेपाल समूहको शीर्ष र नेदरल्याण्ड्स दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिए।
नेपालले त्रिकोणात्मक सिरिजमा बनाएका प्रमुख कीर्तिमान :
१) त्रिकोणात्मक सिरिज जितेर नेपालले घरेलु मैदानमा पहिलोपटक उपाधि उचालेको छ ।
२) नेपालले आफ्नो टी-२० क्रिकेट इतिहासमा सर्वाधिक ठूलो अन्तरको जित यो सिरिजमा निकालेको छ । आज भएको फाइनलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध हासिल गरेको एक सय ४२ रनको जित रनका आधारमा नेपालको अहिलेसम्मकै ठूलो अन्तरालको जित हो ।
३) नेपालले आजको फाइनलमा बनाएको २ सय ३८ रनको स्कोर टी-२० मा नेपालले बनाएको सवैभन्दा उच्च स्कोर हो ।
४) यो प्रतियोगितामा नेपालले लगातार तीनवटा म्याचमा दुई सयमाथिको स्कोर खडा गरेको छ । अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा यस्तो सफलता दुर्लभ मानिन्छ ।
५) समूह चरणमा नेपालका ब्याट्सम्यानले कुल १९ छक्का प्रहार गरे । यो कुनै पनि टी-२० मा नेपालले बनाएको सर्वाधिक छक्का हो । विश्वकै रेकर्डमा पनि यो पाचौं ठूलो संख्या हो ।
६) यो प्रतियोगितामार्फत डेब्यू गरेका कुशल भुर्तेलले जादुमयी प्रदर्शन गरे । ५ वटा म्याच खेल्दा उनले ४ वटा अर्धशतक बनाउन सफल भए । पहिलो तीन अन्तर्राष्ट्रिय म्याचमा लगातार अर्धशतक बनाउने कुशल एक मात्र क्रिकेटर हुन् । आज भएको फाइनलमा पनि उनले अर्धशतक यात्रा जारी राखे ।
७) टी-२० मा नेपालका लागि कुनै पनि विकेटका लागि सर्वाधिक ठूलो साझेदारी यो प्रतियोगितामा बनेको छ । त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १ सय १६ रनको साझेदारी गरेका थिए ।
सर्वाधिक रन बनाउने कुशल ‘प्लेयर अफ दी सिरिज’, धेरै विकेट सन्दीपको
नेपाललाई उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरको युवा ब्याट्सम्यान कुशल भुर्तेल प्लेयर अफ दी सिरिज बन्न सफल भए।
कुशलले बजाज पल्सर मोटरसाइकल एनएस २०० र गिफ्ट ह्याम्पर पाए। यसै सिरिजमार्फत नेपालको सिनियर टोलीमा डेब्यु गरेका खेलाडीलाई आइएन जी ग्रुप माइ सेकेन्ड टिचरले १–१ लाख पुरस्कार दियो।
कुशल यस प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। उनले ५ खेलमा कुशलले ४ अर्धशतकसहित २७८ रन बनाए।२४ चौका र १६ छक्का प्रहार गरेका उनको स्ट्राइक रेट १४०.४० रह्यो।
कुशलले सिरिजको पहिलो खेलमा ६२, दोस्रोमा ६१, तेस्रो खेलमा ६२, चौथो खेलमा १६ रन बनाएका थिए।शनिबार भएको फाइलन खेलमा उनले ७७ रन जोडे।
कुशलपछि धेरै रन बनाउनेमा नेदरल्याण्डका म्याक्स डोड (१७२), नेपालका आसिफ शेख (१५४), दीपेन्द्र सिंह ऐरी (१४७) हुन्।
प्रतियोगितामा धेरै विकेट लिनेमा नेपालकै सन्दीप लामिछाने शीर्ष स्थानमा रहे। उनले १३ विकेट लिए। उनीपछि ७ विकेट लिएका करण केसी दोस्रो नम्बरमा छन्।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते