म्यानमारमा एकैदिन पाँच वर्षका बच्चासहित ११४ को नरसंहार, सैनिक कमाण्डरहरुको भव्य पार्टी !

म्यानमारमा एकैदिन पाँच वर्षका बच्चासहित ११४ को नरसंहार, सैनिक कमाण्डरहरुको भव्य पार्टी !

myanmar_kusena

म्यानमारका सेनाले शनिबार प्रदर्शनकारीहरूमाथि हिंस्रक दमन गरेको छ । सेना र प्रदर्शनकारीबीच भएको झडपमा परेर ११४ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सशस्त्र बल दिवस मनाइरहेको सेनाले प्रदर्शनकारीमाथि हिंस्रक दमन गर्दा एकैदिन त्यतिधेरै प्रदर्शनकारीहरूको मृत्यु भएको हो । म्यानमारमा फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेयता भएका झडपमा परेर ४ सय बढी प्रदर्शनकारीहरूको मृत्यु भैसकेको छ ।

‘उनीहरूले हामीलाई हाम्रै घरभित्र चरा मारेझैं मारिरहेका छन्,’ एक जना प्रदर्शनकारी थु या जले समाचार संस्था रोयटर्ससँग भनेका छन्,’तर जे भए पनि हामी प्रदर्शन जारी राख्नेछौं। जुन्ता शासन नढलेसम्म हाम्रो आन्दोलन भइरहने छ।’

म्यानमारको सेनाको उक्त हिंस्रक दमनको विश्वव्यापी रुपमा कडा आलोचना भैरहेको छ । शनिबार दिउँसो त्यति धेरै प्रदर्शनकारीहरू मारिए पनि बेलुका म्यानमारका सैनिक जनरलहरू भव्य पार्टीमा रमाइरहेका खबर र तस्बिरहरु सार्वजनिक भैरहेका छन् ।

बीबीसीका अनुसार सशस्त्र बल दिवसका दिन भएको उक्त नरसंहारको बेवास्ता गर्दै म्यानमारका सैनिक कमाण्डरहरु बेलुका भव्य पाटीमा रमाइरहेको तस्बिरमा देख्न सकिन्छ । शनिबार एकैदिन फेबु्रअरीमा सेनाले सत्ता कब्जा भएयताकै सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको पहिलो घटना हो । सैनिक कमाण्डरहरुको पाटी सशस्त्र बल दिवसको अवसरमा आयोजना गरिएको हो वा अन्य कुनै विशेष कार्यक्रम हो भन्ने कुरा भने खुलेको छैन ।

शनिबार म्यानमारमा सैनिक बल स्थापना दिवस थियो। त्यही दिन सुरक्षाकर्मीले यंगुन, मण्डालयलगायतका शहरमा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएका हुन्। आइतबार पनि सेनाले एक मृतकको अन्तिम संस्कारमा सहभागी भएकाहरूमाथि गोली चलाएको छ । उक्त गोली काण्डमा कति जना हताहत भए भन्ने खबर बाहिर आइसकेको छैन । तर आइतबारकै अर्को एक  ठाउँमा सेनाले गोली चलाउँदा  २ जनाको मृत्यु भएको छ ।

यसैबीच अमेरिकालगायत दर्जन मुलुकका सैनिक अधिकारीले म्यानमारको सेनाले शनिबार गरेको दमनको विरोध गर्न लागेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेर सैनिक क्रुरताको विरोध गर्न लागेको रोयटर्सले जनाएको छ।

अष्ट्रेलिया, क्यानडा, डेनमार्क, जर्मनी, ग्रिस, इटाली, जापान, नेदरल्याण्ड, न्युजिल्याण्ड, दक्षिण कोरिया र बेलायतका उच्च सैनिक अधिकारीहरूले जारी गर्न लागेको विज्ञप्तिमा शनिबारको नरसंहारले म्यानमारको सैनिकले जनतासँगको विश्वास गुमाएको उल्लेख छ। यी मुलुकमा कूटनीतिज्ञले यसअघि नै सैनिक दमनको विरोध गरिसकेका छन्। सेनाबाट यसरी अर्को देशको सेनाको विरोध कमै हुन्छ।

उता रूसले भने म्यानमारको सेनाले देशमा प्रजातन्त्र पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेको छ। सैनिक बल स्थापना दिवसको समारोहका लागि रूसले आफ्ना उप रक्षामन्त्रीलाई नै नेपिदअ पठाएको थियो। म्यानमारको सेनाको हिंस्रक दमनको विश्वव्यापी रुपमा कडा आलोचना भैरहेको छ । सेनाले सत्ता कब्जा गरेलगत्तै प्रजातन्त्रवादी नेतृ आङ सान सुकी लगायतलाई नजरबन्दमा राखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds