लोकगायक प्रविण गुरुङको स्मृतिमा लुम्लेमा श्रष्टा सम्मान, भलिबल तथा लोकगीत प्रतियोगिता

लोकगायक प्रविण गुरुङको स्मृतिमा लुम्लेमा श्रष्टा सम्मान, भलिबल तथा लोकगीत प्रतियोगिता

lumle prabin (2)

तस्वीरः श्रीभद्र पौडेल

सदावहार लोक गायक प्रविण गुरुङको स्मृतिमा उनको जन्म गाउँ कास्कीको अन्नपूर्ण–६ लुम्लेमा दोस्रो पटक विविध कार्यक्रम हुने भएको छ । यसअघि, २०७५ सालमा श्रष्टा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम गरिएकोमा यस वर्ष पनि श्रष्टा सम्मानसँगै लोकगीत प्रतियोगिता, भलिबल प्रतियोगिता आयोजना गरिँदैछ ।

कार्यक्रमको तयारी तीब्र पारिएको आयोजक रिनी म्यु (दिदीबहिनी दाजुभाई) समाजले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ । कार्यक्रम यहि चैत १७ गतेदेखि २१ गतेसम्म हुँदैछ। स्व. प्रविण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको शालिकको संरक्षण र व्यवस्थापन गर्ने, स्वदेश तथा विदेशमा गुरुङलाई चिनाउने मुल उद्देश्य राखी कार्यक्रम गर्न लागिएको हो।

अन्नपूर्ण गाउँपालिकाको विशेष सहयोगमा हुने उक्त कार्यक्रम अन्र्तगत खुल्ला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान, दोस्रो गाउँ स्तरीय पुरुष भलिवल प्रतियोगिता (सुनगाभा कप २०७७), लेकाली व्याण्डको लाइभ कन्सर्ट साथमा विविध सांस्कृतिक कार्यक्रम गरिने समितिका समितिमा सचिव राजु गुरुङले जानकारी दिए । जसअन्र्तगत दोहोरीगीत तर्फ ८ समूह र भलिवलतर्फ २० समूहले प्रतिष्पर्धा गर्नेछन् ।

कार्यक्रम अन्र्तगत यहि चैत २० गते गाउँपालिका अध्यक्ष युवराज कुँवरको आतिथ्यतामा गायक गुरुङको शालिक अनावरण गर्ने कार्यक्रम छ । त्यस्तै स्व. धनबहादुर गायकलाई मरणोपरान्त तथा लेकाली व्याण्डका भोकलिष्ट नविन गुरुङलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

दोहोरीतर्फ प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार तथा सान्त्वनालाई ६ हजार साथमा प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको लोकदोहोरी गायक जिवन दाहालले बताए ।

त्यस्तै, भलिवलमा प्रथम ५० हजार ५ सय ५५, द्वितीय ३० हजार ५ सय ५५, तृतीय १५ हजार ५ सय ५५ र सान्त्वना ५ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ । त्यस्तै वेष्ट प्लेयर, ब्लकर र सर्भिसलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

सो अवसरमा समाजका वरिष्ठ सल्लाहकार आइबहादुर गुरुङ, वडाध्यक्ष चित्रबहादुर गुरुङ, समाजका अध्यक्ष टेकबहादुर गुरुङ, मूल समितिका सदस्यहरु नविन गुरुङ र जीवन दाहाल, खेल संयोजक रोहित गुरुङ लगायतले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए। उनीहरुले लाहुरे परिवारमा जन्मेर पनि स्वः प्रविण गुरुङ गीत संगितको क्षेत्रमा लागेको, गाउँले जनजीवनलाई आफ्नो सिर्जनामा उतारेको लगायतका धारणा राखे।

वि.सं. २०१८ माघ १ गते जन्मेका गुरुङको गीतसंगीतको क्षेत्रमा लाग्दालाग्दै २०५१ साउन २२ गते काठमाण्डौमा सवारी दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनामा पूर्व युवराज तथा तत्कालिन शाहज्यादा पारस शाह मुछिँदै आएका छन् ।

१० वर्षको उमेरबाट घर छाडी सांगीतिक यात्रामा निस्केका गुरुङले डाँफे कला मन्दिरमा नृत्य साथै गायन सिकेका थिए। तत्कालिन गण्डकी अञ्चल स्तरीय गायन प्रतियोगितामा प्रथम हुन सफल गुरुङले पाण्डव सुनारसँग सम्पर्क पश्चात राष्ट्रिय नाचघर काठमाण्डौमा काम पनि गरेका थिए।

स्व. गुरुङका यो दाजुको मिरमिरे आँखा, सालैजो हितैको माया, फूल मायामा नभुल, माथिबाट को आयो सालको पात बजाउँदै लगायतका गीतहरु चर्चित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds