धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेर भाग्ने डोजर चालक जीवन भन्ने भीमबहादुर बुढाथोकी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुढाथोकीलाई पक्राउ गरेको हो । घटनापछि फरार भएका सल्यान जिल्ला साविक छायाँक्षेत्र गाविस वडा नम्बर ९ तथा हालको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रानागाउँका बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो ।
खोल्सी जिपजिपेमा १७ फागुनमा भएको घटनामा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । तर, चालक बुढाथोकीले उद्दार गर्नु साटो खाल्डोमा वरिपरीको माटो ल्याएर पुरिदिएका थिए ।
सल्यानटार–आरुघाट सडकखण्डमा चल्ने एक बसका यात्रुले डोजरले मान्छे पुरेको भन्दै हल्ला गरेपछि बुढाथोकी डोजर छाडेर भागेका थिए । त्यसयता अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धादिङले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँग सहकार्य गरिरहेको थियो । तर, उनी पक्राउ परेकोबारे आफूलाई थाहा नभएको धादिङका एसपी महेन्द्र खड्काले बताए । घटनापछि स्थानीयवासीले डोजरमा ढुंगामुढा र आगजनी गरेका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापाले बुढाथोकी भागेर नेपालगञ्ज हुँदै भारत गएर लुकेर बसेको बताए । प्रहरीले उनी त्यहाँ बसेको थाहा पाएपछि पक्राउ गर्न विशेष टोली खटाएको थियो । र, भारतीय प्रहरीसँगको समवन्यमा उनलाई पक्राउ गरेर नेपाल ल्याएको हो । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, धादिङबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुनेछ ।
लाइसेन्स समेत नभएकाले सिधै ज्यानमुद्धा
डोजर चालकको लाइसेन्ससमेत नभएको पाइएको छ । लाइसेन्स नभएको व्यक्तिले चलाएको डोजरबाट सरस्वतीको मृत्यु भएको कारण उनलाई कर्तव्य ज्यानमै मुद्दा चल्न सक्नेछ । साथै, लाइसेन्स नभएको व्यक्तिलाई सवारी चलाउन दिने डोजर मालिकलाई पनि मुद्दा चल्ने प्रहरीले जनाएको छ ।
घटना विवरण
२०७७ फागुन १७ गते दिउँसो अन्दाजी साढे २ बजेको समयमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खोल्सी भन्ने स्थानमा भित्री सडक सफा गर्दै गर्दा सल्यानटारकी ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिई घाइते बनाएपछि खाल्डो खनेर पुरिएको थियो ।
प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जेसिबीले माटो फाल्ने क्रममा डोजरको बकेटले लागेर घाइते भएकी महिलालाई खाल्डो खनेर जिउँदै पुरेको दाबी छ ।
नेपालगञ्जमा ३ दिन केटीसँग बसेर सुईंको पाउनासाथ फेरि भारत
धादिङबाट भागेर सुरुमा दाङ पुगेका बुढाथोकीले त्यहाँ आफन्तसँग केही रकम मागेर नेपालगञ्ज हुँदै भारत पुगेका थिए । उनी सुरुमा नेपालगञ्जको बाटो हुँदै भारतको हरियाणामा रहेका आफन्तकोमा बस्न पुगेका थिए । काम विशेषले भारत आएका बताएका बुढाथोकी नेपालमा हत्या गरेर भागेको थाहा पाएपछि आफन्तले प्रहरीकोमा आत्मसमर्पण गर्न पनि सुझाएका थिए । तर भीम भने आत्मसमर्पण नगरी त्यहाँबाट पनि भागेर भारतको हरिद्वारमा आएर बस्न थालेका थिए ।
हरिद्वारमै बस्ने क्रममा उनी ४ दिनअघि मात्रै नेपालगञ्ज आएका थिए । नेपालगञ्जको एक होटलमा उनी एक युवतीसँग ३ दिन बसेका थिए । उनको बारेमा प्रहरीले थाहा पाएपछि भने उनी बुधबार नै भारत फर्किएका थिए । मोबाइल लोकेशन र कल डिटेलका आधारमा प्रहरीले पक्राउ गर्नसक्ने भन्दै उनले आफूले प्रयोग गरिरहेको सिम कार्ड भाँची मोबाइलसमेत फुटाएर सोही होटलमा छाडेका थिए ।
बुढाथोकीलाई पछ्याउँदै गएको सिआइबीको टोली होटलमा पुग्नु अगाडि नै उनी त्यहाँबाट भागिसकेका थिए । त्यसपछि उनलाई पछ्याएको सिआइबीको टोलीले बिहीबार हरिद्वारबाट पक्राउ गरेको हो ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते