पशुपति क्षेत्रबाट २० मेट्रिकटन फोहर व्यवस्थापन

पशुपति क्षेत्रबाट २० मेट्रिकटन फोहर व्यवस्थापन

pashupati_fohor

महाशिवरात्रि मेलापछि पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गर्न थालिएको छ । वाग्मती सफाइ महाअभियानको ४०९औँ हप्तामा पशुपति क्षेत्रको हंसमण्डपमा सफाइ गरी २० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।

महाशिवरात्रिका अवसरमा फागुन २७ गते हंसमण्डप क्षेत्रमा खाना खुवाउने, सांस्कृतिक कार्यक्रमसहित भक्ति सङ्गीतसमेत आयोजना गरिएको थियो । हंसमण्डप क्षेत्रमा प्लाष्टिक, कागजका प्लेट, प्लाष्टिक र कागजका गिलास, बोत्तललगायत फोहर यत्रतत्र फालिएका अवस्थामा वाग्मती सफाइ महाअभियानले सफा गरेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिइन्।

फोहरको डङ्गुर जम्मा भए पनि तीन दिनदेखि सफा नगरी थुप्रिएको अवस्थामा भेटिएको अभियानकर्मीको गुनासो छ । भोजन एवं अन्य गतिविधि गर्ने समूहलाई नै सफा गराउन नसकिएको भेटिएको जनाइएको छ ।

सफाइमा मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डे, तिलगङ्गा सफाइ समूह, चक्रपथको उत्तरखण्ड र मैतीदेवी सफाइ समूह पनि पशुपति क्षेत्रको सफाइमा केन्द्रित भएका जनाइएको छ ।

महाअभियानले यसअघि फागुन २२ गतेको सफाइ पनि पशुपति क्षेत्रको सूर्यघाटबाट आर्यघाटसम्म गरेको थियो । महाशिवरात्रिमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले महाशिवरात्रिअघि र पछिका दुवै शनिबार पशुपति क्षेत्रमै सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारीका बेलासमेत निरन्तर हुँदै आएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि नदीका विभिन्न स्थानका साथै यसका सहायक नदीसमेत सफाइ भइरहेको छ ।

महाअभियानबाट प्रभावित भएर देशका मुख्य शहर एवं नदी क्षेत्रमा सफाइ शुरु भएको छ । हाल देशभर १०७ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती नदी किनारमा रहेका मठमन्दिरमा विशेष मेला लाग्ने बेलामा सफाइ महाअभियान तिनै मठमन्दिर केन्द्रित हुने गरेको छ ।

नदी किनारमा रहेका मठमन्दिर व्यवस्थापन समिति एवं स्थानीय सरकारका एकाइ सफाइमा केन्द्रित नभएको भेटिएको अभियानकर्मीको गुनासो छ । शहर, नदी, सम्पदा सफा राख्ने हो भने सबै संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ