महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् ।
पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो ।
बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले एक घण्टामा दर्शन गरेर फर्कन सकिने छ । बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।
नागेश्वरमा पनि भक्तजनको भीड
यसैगरी काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला टाउनप्लानिङमा रहेको नागेश्वर महादेव मन्दिरमा पनि आज बिहान ३ बजेदेखि नै भक्तजनका लागि चार ढोका खोलेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बिहानदेखि अहिलेसम्म करिब पाँच हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग राजयमाझीले राससलाई जानकारी दिए ।
बिहान १० बजेपछि नागेश्वर महादेव मन्दिरमा पनि धेरै भक्तजन दर्शनका लागि लाममा बसेका छन् । विसं १८८१ मा सरदार वाक्सिङ मन्दिर स्थापना गरेका हुन् । महाशिवरात्रिका अवसरमा नागेश्वर महादेव मन्दिरमा पनि विशेष पूजासहित चारै प्रहर पूजा आराधना गरिन्छ । नागहरूले मानेको र पूजा आराधना गरेकाले नागेश्वर नाम रहेको उनले सुनाए ।
गोकर्णेश्वरमा बालयन्त्रको पूजाराधना
यसैगरी गोकर्णेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथमा दर्शनपछि दुवै यन्त्रको महत्व बुझेका भक्तजन गोकर्णेश्वर महादेव मन्दिरमा समेत दर्शनका लागि जाने गरेका छन् । उपत्यकाका डोलेश्वरलगायत विभिन्न स्थानमा रहेका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाइन्छ ।
निःशुल्क गुर्जो वितरण
महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका भक्तजनलाई आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटको नेतृत्वमा निःशुल्क गुर्जोको चिया पिलाइएको छ । भक्तजनलाई गुर्जोको महत्वका विषयमा समेत जानकारी गराएर धुलो र चियाका पोका निःशुल्क वितरणसमेत गरिएको उनले सुनाए।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते