अब केही दिन मात्रै हो, विघटित संसद् आउँछ, ओलीलाई झापा पठाउँछौं: गगन थापा

अब केही दिन मात्रै हो, विघटित संसद् आउँछ, ओलीलाई झापा पठाउँछौं: गगन थापा

gagan 1

चितवन — नेपाली कांग्रेसका नेता गगन थापाले संसद् पुनःस्थापना गरेर मात्रै चुनाव हुने बताएका छन् । नेपाली कांग्रेसले मंगलबार भरतपुर चौबिसकोठीमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता थापाले भने- ‘कांग्रेसका साथीहरु चुनाव होला नहोला भनेर नअल्मलिनुस् । देश चुनावमै जान्छ । तर सही बाटोबाट चुनावमा जान्छ । विघटित संसद् आउँछ । त्यहीँ पुनःस्थापित संसद्ले नै देशलाई चुनावमा लिएर जान्छ।’

उनले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास रहेको बताए । ‘प्रधानमन्त्रीले पैसा तिरेर अदालतमा बहस गर्न पठाएको कानुन व्यवसायी र प्रधानमन्त्रीको कार्यक्रममा थपडी बजाउने बाहेक अरु कोही एकजना स्वतन्त्र व्यक्तिले पनि नेपालको संविधानमा प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा संसद् विघटन गर्ने अधिकार छ भन्दैन । किन कि संविधानमा त्यो कुरा नै छैन,’ नेता थापाले भने ।

उनले अदालतले नडराई निर्णय सुनाउन आग्रह गरे । ‘प्रधानमन्त्रीले मैले सब मिलाएको छु भन्नुहुन्छ । तर राष्ट्रपतिलाई मिलाए जस्तो सजिलो नेपालको अदालतलाई मिलाउन सम्भव छैन भनेर अदालतले देखाइ दिन्छ भन्ने विश्वास मलाई छ । अब केही दिन मात्रै हो । संसद् पुनःस्थापना हुन्छ र प्रधानमन्त्रीलाई हामीले उहाँले नै ठूलो खर्च गरेर दमकमा बनाएको भ्यु टावर विचरण गर्न पठाउँदै छौं,’ नेता थापाले भने ।

उनले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्नै नपाउने जिकिर गरे । ‘बहुमत प्राप्त गरेको प्रधानमन्त्रीले हाम्रो संसद्लाई छुनै पाउँदैन । बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने भनेको नेकपाको अध्यक्षले नेपाली कांग्रेसको अध्यक्षलाई कारबाही गरे भने जस्तै हो । हटाए भने जस्तै हो,’ थापाले भने । त्यसैले संसद् विघटन सदर गर्ने र संसद् विघटन सही हो भनेर मान्‍न थाल्नु भनेको संविधानलाई चलाउने काम सुरु हुने उनले बताए ।

संविधानमा नलेखेको कुरा त्यसलाई ठिक छ भनेर मानेर जाँदा भोलि संविधानभित्र नलेखेका धेरै कुराहरु हुँदै जाने खतरा रहेको उनले औंल्याए । यसले संविधान भत्कन सुरु हुने र संविधानको जग नै धारासायी हुने थापाको भनाइ थियो । त्यसैले प्रधानमन्त्रीको कदमले संविधानको शासन कि सेटिङको शासन भन्ने प्रश्‍न खडा गरेको उनले बताए ।

नेपाली कांग्रेसले पुस ५ गते नै प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनेको उनले स्मरण गराए । ‘नेपाली कांग्रेसले संसद् विघटन गर्ने पुस ५ गतेको प्रधानमन्त्रीको कदमलाई उसै दिन अराजनीतिक मात्र भनेन, अलोकतान्त्रिक मात्रै पनि भनेन । यो कदम असंवैधानिक भन्यो । यो विषय अदालतमा पुगेको छ र आज बहस पनि हुँदै गरेको छ । मलाई अदालतमा विश्वास छ । त्यसैले म भन्छु अदालतले संसद् पुनःस्थापना गर्छ,’ नेता थापाले भने । कांग्रेसले जुन संविधान पल्टायो, प्रधानन्याधीशले पनि त्यही संविधान पल्ट्याउने उनले बताए ।

‘कांग्रेसले नदेखेको संविधानको धारा अदालतले पनि देख्दैन । किन कि हुँदै नभएको संविधानको धारा उसले पनि भेट्दैन,’ नेता थापाले भने । संविधानको शासन कि सनकको शासन भन्ने प्रश्न खडा भएका कारण सबै जुटेर संसद् पुनःस्थापनामा लाग्‍न उनले आग्रह गरे । पुस ५ गते प्रधानमन्त्रीले संविधानको जगमा नै प्रहार गरेको हुँदा बचाउने प्रयासमा सबै लाग्न उनले अपिल गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ