बागलुङ गलकोट नगरपालिका–१० पाण्डवखानीको स्वास्थ्यचौकी भवन निर्माणमा खटिएका स्थानीय कामदार ज्याला पाउनबाट वञ्चित भएका छन् । भवन बनेको वर्षौँ बित्दासमेत निर्माण कम्पनी रविना कन्स्ट्रक्शनले कामदारलाई ज्याला नदिएको हो । विसं २०७३ देखि निर्माण थालिएको सो भवन विसं २०७६ असोजमा पूरा भएको थियो । कामदारसहित व्यापारी, होटल व्यवसायीसमेतले भुक्तानी नपाएको स्थानीयवासी उमेश विकले बताए । “हामी ५०÷५५ जना पीडित छौँ, पाँच/सात जना व्यवसायी र अरु सबै गाउँका कामदार छन्”, उनले भने ।
आफैँ भवन निर्माण खटिनुभएका वडाध्यक्ष तिलक पुनले निर्माण कम्पनीबाट सबैले गरी झण्डै रु १५ लाख लिन बाँकी रहेको सुनाउनुभयो । पुनले भवनको गारो लगाएको र विद्युतीकरण गरेवापतको रु ५० हजार पाउन बाँकी छ । “जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयसम्म धाएर निर्माण व्यवसायीविरुद्ध उजुरी गर्यौँ तर अहिलेसम्म सुनुवाइ भएको छैन”, उनले भने । गत महिना वडाध्यक्ष पुनको नेतृत्वमा आएका पीडित कामदारले जिल्ला प्रहरी कार्यालययमा उजुरी दिएका थिए ।
जिप्रकाले गलकोट, हरिचौरमा रहेको इलाका प्रहरी कार्यालयलाई घटनाको छानबिन गरी निर्माण व्यवसायीबाट कामदारलाई ज्याला दिलाउन निर्देशन दिए पनि गलकोट प्रहरीले कुनै चासो नदिएको गुनासो पीडित पक्षको छ । वडाध्यक्ष पुनले पटकपटक निर्माण व्यवसायीसँग कुराकानी गरेर समस्या समाधानको पहल गरिएको बताए । “निर्माण कम्पनीले पाउनुपर्नेमध्येको १० प्रतिशत बजेट रोक्का छ, त्यसैबाट कामदारको ज्याला भुक्तानी गर्ने प्रतिबद्धता कम्पनीका प्रतिनिधिबाट आएको छ”, उनले भने ।
निर्माण कम्पनीका प्रतिनिधिसँग बसेर ज्याला नपाएका कामदारको यकिन विवरण निकालेपछि वडाको समन्वयमा भुक्तानी प्रक्रिया अगाडि बढ्ने वडाध्यक्ष पुनले बताउनुभयो । निर्माण कम्पनीले व्यावसायिक प्रतिनिधिका रूपमा वसन्त केसीलाई भवन निर्माणको जिम्मा दिएको थियो । केसीले यसअघि पनि कामदारसमक्ष ज्याला दिने बताउँदै आए पनि भुक्तानीमा ढिलाइ गरिरहेको स्थानीयवासी सुरेश छन्त्यालले बताए ।
“भवन निर्माणमा पनि ढिलासुस्ती भयो, चार वर्षमा बल्ल बन्यो, त्यसैमाथि कामदारले पनि ज्याला पाएका छैनन्”, उनले भने , “यो विषयमा धेरै पटक आवाज उठायौँ, कसैले सुनेन ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोड ७७ लाखको बजेटबाट स्वास्थ्यचौकी भवन बनेको हो । भवन बनेपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा प्रवाह भने सहज र छरितो भएको स्थानीयवासी बताउँछन् ।
सम्बन्धित खबर
ट्रायल सेन्टरमा मन्त्री केसीको छड्के निरीक्षण
बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री
बुर्तिबाङ स्वास्थ्य केन्द्र स्तरोन्नति: बागलुङ पश्चिमका नागरिकलाई स्वास्थ्य सेवामा सहज हुँदै
बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो
बागलुङको जैमिनीमा जीप दुर्घटना: पाँच जनाको मृत्यु, एकको उद्धार
ढोरपाटनका मेयर देवकुमार नेपालीलाई कास्की ल्याइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते