युवती कुटिँदा रमिते बनेका मेयर ममताप्रसाद चौधरीमाथि खुकुरी र गोली प्रहार

युवती कुटिँदा रमिते बनेका मेयर ममताप्रसाद चौधरीमाथि खुकुरी र गोली प्रहार

mamata-pd-chaudhari-

काठमाडौँ, २८ फाल्गुन  — कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि उनको घर भित्रै पसेर गोली हानिएको छ । करिब १० जनाको समूहमा सोमबार साँझ आएकाहरुले मेयर चौधरीमाथि सुख्खडस्थित घरैमा उनको घरभित्रै छिरेर गोली हानेको हो ।

त्यो समूहकामध्ये चौधरीको घरमा छिरेका तीनजनामा दुईजनाले आक्रमण गरेका हुन् । घर भित्र बसिरहेका चौधरीमाथि एकले खुकुरी हाने भने अर्काले गोली प्रहार गरे ।

चौधरीको टाउकोमा खुकुरी हानिएको छ भने गोली खुट्टा र कम्मरमा लागेको छ । आक्रमणबाट घाइते भएका चौधरीलाई अहिले घोडाघोडी अस्पताल सुख्खडमा भर्ना गरिएको छ ।

उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार चौधरीको कम्मर र खुट्टामा दुईवटा गोली लागेको छ ।

घोडाघोडी अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

मेयरमाथि गोली हानिएपछि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरे घटनास्थलमा पुगिसेका छन् । घोडाघोडी धनगढीबाट करिब ५० किलोमिटरको दुरीमा रहेको छ ।

केही दिनअघि घोडाघोडी–५ की राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिट हुदा पीडकहरुलाई संरक्षण दिएको आरोप चौधरीमाथि लागेको थियो । त्यही घटनालाई लिएर चौधरीमाथि गोली हानिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

गत बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरेको आरोपमा पक्राउ परेका रामबहादुर चौधरीलाई मताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा छुटाइएको थियो।

भैरहवाका व्यवसायी सेठियामाथि गोली प्रहार

यसैवीच रुपन्देहीको भैरहवाका एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार भएको छ । भैरहवाका व्यवसायी एवम् सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति सदस्य हरीश सेठियामाथि अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो ।

गोली प्रहार गरिए पनि मिस फायर हुँदा सेठिया बच्न सफल भएका छन् । भारतीय २ नागरिकले भारतीय मोटरसाईकलमै आएर उनीमाथि गोली चलाएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए । उनीमाथि भैरहवाको हाटबजार स्थित सेवापथमा गोली प्रहार गरिएको थियो ।

दुई जनामध्ये एकजना भागेको र एकजनालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरी प्रमुख ज्ञवालीले जनाए । प्रमुख ज्ञवालीले गोली हान्ने व्यक्ति र मोटरसाईकललाई समातेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ