केपी ओली र गगन थापाको जुहारी (हेर्नुहोस् भिडियोमा), गगनले ‘दिनगन्ती सुरु भो’ भनेपछि प्रधानमन्त्री ओलीले भने- ‘देश बन्छ ढुक्क भएर सुत्नुहोला’

केपी ओली र गगन थापाको जुहारी (हेर्नुहोस् भिडियोमा), गगनले ‘दिनगन्ती सुरु भो’ भनेपछि प्रधानमन्त्री ओलीले भने- ‘देश बन्छ ढुक्क भएर सुत्नुहोला’

Oli-and-Gagan

काठमाण्डौ, २७ फागुन / प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सांसद गगन थापाबीच जुहारी चल्यो  । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने आइतबारको संसद बैठकमा बोल्दै थापाले वाम गठबन्धनको चुनावी घोषणा पत्र स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भएको बताएका थिए।

चुनावमा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका कतिपय महात्त्वाकांक्षी योजनाहरु पढेर सुनाउँदै थापाले भने, ‘आजबाट दिनगन्ती सुरु भएको छ। नो इफ नो बट। आजबाट हामी प्रतिपक्षमा बसेर हिसाव किताव लिन्छौं। उधारो होइन, नगदमा खनखनी।’

प्रधानमन्त्री केपी ओली मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदको प्रशंसक रहेको सुनाउँदै भने, ‘सत्तापक्षको बहुमत हुँदाहुँदै किन दुई तिहाइ चाहियो? यो दिव्यक्तशक्तिको कारण र नियत के हो?’ प्रधानमन्त्री चाहिनेभन्दा बढी बलियो बनाउन चाहेर सत्तापक्षले आशंका जन्माएको थापाको भनाइ थियो।

‘हामी प्रतिपक्षमा उभिए पनि हामी प्रष्ट छौं, दुई तिहाई हाराहारी मत प्राप्त गरेर विश्वासको मत प्राप्त गर्नु हुनेछ। तर, आजबाट दिनगन्ती सुरू भएको छ,’ संसदमा बोल्दै थापाले भने, ‘घोषणा पत्रमा लेख्नु भएको छ, ५ वर्षमा प्रत्येक वर्ष आर्थिक बृद्धिद्धर १० प्रतिशत हुनेछ। भ्रष्टाचार शून्य हुन्छ। २ वर्षभित्र एउटा पनि कृषिउपज किन्नु पर्दैन, ५ वर्षमा बेचेर खनखन पैसा कमाउँछ । फास्ट ट्राक बन्नेछ, २५ लाख पर्यटक भित्रिनेछन् ।’

एकपछि अर्को चुनावी घोषणा पत्रका बाचा स्मरण गराउँदै कांग्रेस सांसद थापा ओलीमाथि खनिएका थिए। थापाले बलियो नेताका रुपमा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र व्यहोरिसकेको भन्दै संस्थाहरूलाई बलियो बनाएर सिस्टमले डेलिभरी दिन सक्नुपर्ने ठाउँमा हामी कतै बरालिएर संस्था होइन, व्यक्ति बलियो बनाउने ठाउँमा पुग्यो भने दुर्घटनामा पर्ने भन्दै सचेत गराए।

कांग्रेस सांसद थापा ओली अब एमाले अध्यक्ष मात्र नभएर प्रधानमन्त्री भइसकेको भन्दै जे पनि बोल्न नपाइने बताए। चुनाव प्रचारका क्रममा प्रधानमन्त्रीले आफूलाई ‘यो केटा सेलिब्रेटी हो, फोटो खिचाउन काम लाग्छ’ भनेको स्मरण गर्दै कांग्रेस सांसद थापाले भने, सम्माननीय प्रधानमन्त्री अब एमालेको अध्यक्ष होइन, नेपालको प्रधानमन्त्री हो । अब जे पनि बोल्न पाइन्नँ। प्रत्येक चोटी बोकेको कुराको हिसाव किताव दिनुपर्छ ।’

गगन थापा-नेपाली कांग्रेस

https://www.facebook.com/gandaknews/videos/791779954347592/

यसपछि, लगत्तै प्रधानमन्त्री केपी ओलीले गगन थापालाई जवाफ दिएका छन्। संसदमा दोस्रो पटक बोल्ने क्रममा ओलीले संसदमा बहुमत हुँदाहुँदै दुई तिहाइको समर्थन दम्भ र दुरुपयोगका लागि नभएको दाबी गरे।

प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री हुनका लागिमात्रै भएको होइन, देशका लागि केही गर्न प्रधानमन्त्री भएको हुँ, भ्रष्टचार गर्दिन, भ्रष्टाचार हुन दिन्न।’

प्रधानमन्त्रीले आफू विश्वासको मत लिएर दमनकारी शासक हुन नखोजेको पनि बताए। ‘दमनकारी शासक होइन, सुशासन दिने शासक हुन चाहन्छु,’ उनको भनाइ थियो, ‘सरकार विकासको अग्रणी हुन्छ, भ्रष्टाचार विरोधी हुन्छ, सदाचारको अभियन्ता हुन्छ।’

विपक्षी कांग्रेसलाई संकेत गर्दै ओलीले आफूले विगत र वर्तमानमा विश्वास गर्नै नहुने कुनै काम नगरेको भन्दै मत मागे। ‘मलाई विश्वास नगरेर संसदको कुन हातले कता भोट देला र?,’ उनको भनाइ थियो, ‘प्रतिपक्षले सत्तापक्षलाई भोट दिन मिल्छ, २ नम्बर प्रदेशमा एमाले माओवादी विपक्षमा छन् तर मत दिएका छौं। प्रतिपक्षीलाई कुनै अप्ठ्यारो पर्छ कि भन्नुपर्दैन, कानुनी अप्ठ्यारा छैनन्।’

गगन थापाप्रति लक्षित गर्दै ओलीले भने, ‘मैले दुई तिहाइमात्र होइन, सबैको सहमति जुटाउन खोजेको हो । दम्भका लागि, दुरुपयोगका लागि होइन । म प्रधानमन्त्री नेकपा एमालेको होइन, एमाले र माओवादी केन्द्रको पनि होइन नेपालको प्रधानमन्त्रीकोरुपमा काम गर्छु ।’

प्रधानमन्त्री ओलीले आफूले बोलेका हरेक कुराको जवाफदेहिता लिने बताउँदै एकछिनका निम्ति असल र राम्रा कुरा गरेर उम्किने हिसावले प्रधानमन्त्रीको पदमा नआएको स्पष्ट पारे। ‘कुनै एस्क्युज खोज्दिनँ, उत्तरदायी र जवाफदेही हुने हो,’ चुनावी घोषणापत्रका विषयमा कांग्रेसले उठाएको प्रश्नको जवाफ दिंदै उनले भने, ‘घोषणापत्र बिहान बिहान पारि तरौंला भनेर पाठ गर्न ल्याएको होइन । परलोकको कुरा गरेको होइन, इहलोक बनाउने कुरा गरेको हो ।’

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीको ‘काउण्टडाउन’ सुरु भएको भन्दै दिएको चेतावनीप्रति ओलीको भनाइ थियो, ‘म सिमाभित्र छु, असीमित ज्ञान असीमित सामर्थ्य, असमीमित समय छैन। तर, इमान, प्रतिबद्धता र अठोट असीमित छन्।’ देश बनाउने विषयमा चिन्ता नलिन आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘देश बन्छ, ढुक्क भएर सुत्नुहोला, निन्द्रा नबिग्रियोस्।’

अहिले सरकारले लोकतन्त्र, आधारभूत मूल्य मान्यता मास्ला भनेर आशंका नगर्न आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘प्रतिपक्ष भनेपछि विरोध गर्नुपर्छ भन्ने परम्परा रहेको छ। गुणदोषका आधारमा समर्थन गर्नुहुन्छ भन्ने विश्वास छ।’

नेपालको सामाजिक विभेद आफ्नो सरकारले हुर्काएकोजस्तो आरोप लगाएकोमा ओलीको भनाइ थियो, ‘एक महिना भएको छैन, सरकारले अस्ती रोपेर हुर्काएको जस्तो कुरा भयो, कैलालीको थाहा पाउनेवित्तिकै सरकारको तर्फबाट निर्देशन दिएको छ। गिरफ्तार गर्ने आदेश दिएको छु, कानुनबाट दण्डबाट उन्मुक्ति दिन सक्दैन सामाजिक पछौटेपन २५ दिनदेखिको होइन।’

काठमाडौंको दरबारमार्ग, ललितपुरगायतका ठाउँमा भएको बलात्कारका घटना मध्यस्थताबाट मिलाएकोमा विरोध गर्दै भने, ‘मध्यस्थताका दिन गए अब कडाइका साथ कारबाही गरिन्छ।’

केपी शर्मा ओली-प्रधानमन्त्री

https://www.facebook.com/gandaknews/videos/791804244345163/

प्रधानमन्त्रीले पाए तीन चौथाइ मत, २०८ पक्षमा, ६० विपक्षमा

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन चाैथाइ बहुमतसहित विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आइतबार भएको मतविभाजनमा केपी ओली नेतृत्वको गठबन्धन सरकारले तीन चाैथाइ मत पाएको छ ।विश्वासको मतको विपक्षमा कांग्रेसले मात्रै मतदान गर्‍यो भने एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भोटै दिएन । एक सांसद रहेको नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई देशबाहिर रहेकाले उपस्थित हुन सकेनन् ।

६३ सदस्य रहेको कांग्रेसका ६० सांसदले विपक्षमा मतदान गरे।२७५ सदस्यीय प्रतिनिधिसभामा आइतबार भएको मतविभाजनमा २६८ सांसदमात्र उपस्थित थिए। राजपाका रेशमलाल चौधरी टीकापुर प्रकरणका दोषी रहेको आरोपमा थुनामा छन्।

प्रधानमन्त्रीको पक्षमा वाम गठबन्धनका एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राप्रपा, जनमोर्चा र स्वतन्त्र सांसद छक्कबहादुर लामाले मत दिए।

संविधानको धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको समर्थनमा ओली फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ