६ घण्टासम्म कुटिएकी राधाको बयान, मेयरको काँडा उमार्ने अन्तर्वार्ता (हेर्नुहोस् दर्दनाक भिडियो)

६ घण्टासम्म कुटिएकी राधाको बयान, मेयरको काँडा उमार्ने अन्तर्वार्ता (हेर्नुहोस् दर्दनाक भिडियो)

radha

देशभर धुमधामसँग अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए । तर, कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा भने २० वर्षीया एक युवती भने लगातार ६ घन्टासम्म कुटपिटमा परिन् । आफूलाई भोले बाबा बताउनले ताण्डव नृत्य देखाइरहँदा सिंगो वस्तीका मानिस घेरा हालेर रमिता हेरिरहे ।

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकाया कसैलाई केहि मतलबै थिएन । अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । पीडित राधा चौधरी सेती अञ्चल अस्पताल धनगढीमा छिन् ।

यसरी कुटिइन् राधा 

पीडित राधाको बयान (नयाँ पत्रिकाबाट)


म राधा चौधरी, १८ वर्षकी भएँ । कैलाली जिल्ला, घोडाघडी नगरपालिका, वडा ५, देउकलियामा मेरो घर छ । घरको नाममा छाप्रो छ, त्यत्ति हो हाम्रो सम्पत्ति । सिजनमा बुबा अरूको खेत जोत्न जानुहुन्छ, अरू वेला इन्डिया गएर दुई–चार हजार लिएर आउनुहुन्छ । यसैगरी हाम्रो गुजारा चलेको छ ।

मेरो दाइ पनि छ, तर सुस्त मनस्थिति भएकाले बुबालाई ‘सपोर्ट’ गर्न सक्दैन । बहिनी पनि बिरामीजस्ती छ, भाइ सानो छ । त्यसैले बाआमालाई धेरै दुःख छ । तैपनि मलाई पढाउन खोज्नुभएको छ । गाउँकै राष्ट्रिय उमाविमा कक्षा ११ मा पढ्छु । राजनीतिशास्त्रकी विद्यार्थी हुँ ।

बिहीबार नारी दिवस, स्कुल छुट्टी थियो । त्यसैले बिहान गोठमा गएकी थिएँ । दुईवटा बल्ल (गोरु) छन्, गोबर फालेर ७ बजेतिर घर फर्कन थालेकी थिएँ, तीन–चारजना केटी हुत्तिदै आएँ ।

ती केटीहरू पनि हाम्रै स्कुलमा पढ्छन् । चिच्याउँदै आएको देखेर अनौठो लाग्यो । यिनीहरूलाई के भएछ भन्ने लाग्यो । तर, नजिक आउनासाथ मलाई झम्टिहाले । तँ बोक्सी भनेर भकुर्न थाले, लछारपछार गर्न थाले । मैले केही बुझ्नै सकिनँ । उनीहरूले घिसार्न थाले ।

कतिले कपालमा समातेर ताने, अरूले लात्ताले हान्दै मलाई रामबहादुर चौधरीको घरमा लगे । रामबहादुर हाम्रो गाउँको झाँक्री हो । उसले आफूलाई शिवभक्त भन्छ । शिवरात्रिको दिनदेखि उसको घरमा पूजा लागेको छ । उसले हिजोसम्म ५४ हजार रुपैयाँ जम्मा गरेको रहेछ ।

मान्छे जो आउँछन्, भेटी दिन्छन् । तर, भेटी दिने मान्छे कम आउन थालेपछि उसले फेरि मान्छे जम्मा गर्ने जुक्ति निकालेको होला । गाउँमा बोक्सी छन्, ठीक पार्छु भनेको रहेछ । त्यसैले मलाई समातेर त्यहाँ लगे ।

रामबहादुरको आँगनमा पुग्दा मान्छे वरिपरि थिए, पछि झन् धेरै थपिए । ती सबैको अगाडि रामबहादुर झाँक्रीले मलाई कुटपिट गर्न थाले । रामबहादुरबाट धामी विद्या सिकिरहेको भन्ने पार्वती भन्ने महिला ममाथि जाइलागिन् ।

उनीहरूले नागजस्तै हाउभाउ बनाएर वरिपरि घुम्दै मलाई मुक्का हानिरहेका थिए, लात्ती बर्साइरहेका थिए । त्यसमाथि ‘तँ बोक्सी होस्, तैँले दुनियाँका बच्चा खाइस्, कसैका बाआमा खाइस्’ भन्दै मेरो हुर्मत लिइरहेका थिए ।

म बोक्सी होइन, मैले केही पाप गरेको छैन, म स्कुलकी विद्यार्थी हुँ, गरिबकी छोरी हुँ, मलाई बचाउनुहोस् भनेर समाजसामु गुहार मागिरहेकी थिएँ, तर उनीहरू कोही पनि बोलेनन् । बरु ममाथि हरेक झापड बर्संदा उनीहरूले ताली पिटेर खुसीले हुटिङ गरिरहेका थिए ।

केहीबेर पिट्न छाडेर घाममा पल्टाउँथे, अब बोक्सी बक्ने वेला भयो भन्थे । मैले पानी माग्दा फेरि भकुर्न थाल्थे । मेरो पेटमा, छातीमा लात्तैलात्ताले हान्दा रमिते भने ताली पिटिरहेका थिए ।

यसरी बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मलाई यसैगरी कुटियो । ७ घन्टासम्म म कहिले मुर्छा परेँ, कहिले ब्युतिएँ । मुर्छा परेका वेला थाहा भएन, ब्युँतिएको वेला उनीहरूले कुटिरहेका हुन्थे ।

१ बजेतिर गाउँका दुई–तीनजना दाइहरू आउनुभयो । उहाँहरूले यसरी बालिकालाई कुटपिट नगर भनेर बोल्नुभयो । झाँक्रीले तिमीहरूलाई पनि यही त्रिशूलले मारिदिन्छु भनेर थर्काउन थाल्यो । त्यहाँ वादविवाद भयो । त्यही मौकामा मेरो भाइले मलाई घर लिएर आयो ।

घरमा आएपछि म फेरि मुर्छा परेछु, मलाई एम्बुलेन्समा राखेर अस्पताल ल्याइएछ, फेरि होस आयो । त्यही वेला जाहेरी दिन भनेर प्रहरी चौकीमा लगियो । एकैछिनमा झाँक्री रामबहादुरलाई पनि त्यहीँ ल्याइयो । तर, ऊ डराएको थिएन ।

म शिवभक्त हुँ, मैले जे पनि गर्न सक्छु भनेपछि उसलाई प्रहरीले खुट्टामा ढोग्न थाले । तर, जाहेरी लिन मानेनन् । बरु, त्यही झाँक्रीले त्यहीँ यसलाई केही पनि भएको छैन, झारफुक गरेर भर्खरै जस्ताको तस्तै हुन्छे भन्दै मन्त्र पढ्न थाल्यो । प्रहरीकै अगाडि मलाई चामल खान लगाइयो । तर, मलाई असह्य भइरहेको थियो ।

त्यही वेला सेतो स्कारपियो गाडीमा मेयरसा’प (ममताप्रसाद) चौधरी आउनुभयो । उहाँ पहिले हाम्रो स्कुलमा पढाउनुहुन्थ्यो, अस्ति भर्खर चुनाव पनि जित्नुभएको हो ।

त्यसैले उहाँ आएपछि मेरो पक्षमा बोल्नुहुन्छ, प्रहरीले जाहेरी पनि लिन्छ र ममाथि कुटपिट गर्नेलाई कारबाही पनि हुन्छ भन्ने आशा पलाएको थियो । तर, तिमीलाई के भयो भनेर एक शब्द पनि बोल्नुभएन । एकछिन रमिता हेरेर फेरि गाडी चढ्नुभयो, धुलो उडाउँदै उहाँको गाडी गयो ।

मलाई निकै पीडा भएपछि आफन्तहरूले सुखड अस्पताल लग्नुभयो । पछि प्रहरीले झाँक्रीलाई छाडेछ । बिहान उनीहरू आएर मिलापत्र गर्न कुरो गरे । औषधिमा लागेको ३७ सय रुपैयाँ दिएर चुप लाग भनेर हामीलाई धम्की दिँदै थिए ।

तर, मेरा आफन्तले मान्नुभएन । ऋण गरेर पैसा तिर्न खोज्दा पनि होहल्ला गर्दै थिए । तर, मेरा आफन्तले मलाई क्षेत्रीय अस्पताल धनगढी लिएर आउनुभएको छ । यहाँ उपचार भइरहेको छ, मैले केही खान सकेकी छैन, पानी पिउन, थुक निल्न पनि भएको छैन ।

शरीर पूरै थिलथिलो भएको छ । खासगरी संवेदनशील अंगहरूमा लात्तीले हानेकाले पीडा धेरै छ, भित्र के–के भएको छ थाहा छैन । तर, दोषीमाथि कारबाही होस्, जाहेरी नलिने प्रहरीलाई पनि कारबाही होस् र यस्तो अत्याचार कुनै पनि दिदीबहिनीमाथि नहोस्, मेरो कामना यही छ ।

मेयर चौधरीको अन्तरवार्ता यस्तो छ (नयाँपत्रिका दैनिकमा प्रकाशित)

मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ, यो विषयमा तपाईंलाई जानकारी छ कि छैन ?

किन नहुनु ? जानकारी छ । पीडितलाई अहिले धनगढी लगिएको छ, अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिलाई पनि सार्वजनिक अपराधको मुद्दा लगाउन जाहेरी परेको छ ।

जाहेरी कसले दिएको हो ?

पीडित पक्षले ।

जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ?

हिजो नै भयो ।

कुटपिटबाट घाइतेलाई हिजो नै एम्बुलेन्समै राखेर प्रहरी चौकीमा लगिएको थियो, तपाईं पनि त्यहाँ पुग्नुभएको थियो भन्ने जानकारी आएको छ नि ?

हो, म एकैछिन पुगेको थिएँ ।

कुटिएकी किशोरीलाई पनि चौकीमा राखिएको थियो, घटना कसरी भएको हो, उनीसँग केही जानकारी लिनुभयो ?

अहँ, किन लिनु र ?

होइन, पीडित किशोरीसँग सोधपुछ पनि गर्नुभएन ?

मैले पीडितसँग पनि गरिनँ, पीडकसँग पनि गरिनँ ।

त्यसोभए किन जानुभएको त चौकीमा ?

बाटोमा जाँदै थिएँ, भिडभाड देखेँ, के रहेछ भनेर हेरेको । मान्छेहरू आपसमा बाझाबाझ गरिरहेका थिए । त्यस्तोमा के बोल्ने भनेर आफ्नो बाटो लागेँ ।

ए, त्यसो भए ‘रमिता’ हेरेर फर्कनुभयो ?

हो, अरू पनि काम हुन्छन् नि मान्छेका ।

साँच्चै, तपाईं मेयर हुनुअघि त्यहाँको उमाविमा पढाउनुहुन्थ्यो रे, हो ?

हो, राष्ट्रिय उमाविमा अंग्रेजी पढाउँथेँ ।

ए, तपाईं आफैँले अंग्रेजी कहाँ पढ्नुभएको हो नि ?

काठमाडौं, कीर्तिपुर केन्द्रीय क्याम्पसतिर । ०६८ तिर मास्टर्स पास गरेको हुँ ।

त्यसो भए त तपाईं युवा नै हुनुहुन्छ ?

हो, भर्खर ४० वर्षको भएँ ।

युनिभर्सिटी क्याम्पसबाट अंग्रेजीमा मास्टर्स पढेको एउटा युवा जनप्रतिनिधि भएको छ, तर आफ्नै गाउँमा एउटी किशोरी बोक्सीको आरोपमा सार्वजनिक रूपमा कुटिँदा बोल्न सक्नुहुन्न भने तपाईंको शिक्षालाई, तपाईंको उमेरलाई र जनताबाट तपाईंले पाएको विश्वासलाई के भन्ने होला ?

त्यसमा कारबाही गर्ने काम प्रहरीको हो, मेयरको होइन ।

ती किशोरी तपाईं आफैँ शिक्षक भएको राष्ट्रिय उमाविमा कक्षा ११ कि विद्यार्थी पनि हुन् नि, जानकारी छ तपाईंलाई ?

जानकारी भएन ।

आफ्नो नगरपालिकाभित्रकी बासिन्दामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ, सार्वजनिक रूपमा दुव्र्यवहार भएको छ, तर ती को रहिछन्, के गर्छिन् भन्ने विषयमा तपाईंलाई चासो भएन ?

मैले तपाईंलाई भनिसकेँ, त्यो काम प्रहरीको हो ।

जनतामाथि अन्याय भएको छ भने आवाज उठाउने भूमिका पनि छैन तपाईंको ?

त्यो तपाईंले सिकाउनुपर्दैन । मलाई आफ्नो दायित्व थाहा छ ।

गोठमा गोबर सोहोरिरहेकी बालिकालाई लछारपछार गर्दै लगेर सात घन्टासम्म कुटपिट भएको छ, ती बालिका कसकी छोरी हुन्, तर आˆनो गाउँ-टोलकी ती बालिकाको विषयमा तपाईंलाई ३० घन्टासम्म पनि जानकारी किन छैन ?

मैले तपाईंलाई भनिसकेँ, मान्छेका अनेक काम हुन्छन् । आफ्नो गाउँमा मैले के गर्ने भनेर काठमाडौंमा बसेको पत्रकारले फोन गरेर सिकाउनुपर्दैन, तपाईं आफ्नो काम गर्नोस् ।

देश संघीयतामा गएको छ, जनताले स्थानीय जनप्रतिनिधि पाएका छन्, तपाईंजस्ता युवा निर्वाचित पनि भएका छन् । तर, आफ्नै छिमेककी चेलीमाथि यत्रो ज्यादती हुँदा पनि तपाईं थाहा नपाएजस्तो गर्नुहुन्छ भने त्यसविरुद्ध आवाज उठाउनु, प्रश्न गर्नु ताप्लेजुङदेखि दार्चुलासम्मका सचेत नागरिकको कर्तव्य हो नि, होइन र ?

तपाईं आफ्नो कर्तव्य पूरा गर्नोस्, तर मलाई नसिकाउनुस् ।

तर, अन्तिममा तपाईंलाई एउटा कुरा भनौँ है, मेयरज्यू

भन्नोस् ।

नामचाहिँ ममताप्रसाद कसले राख्यो होला ? तपाईं त निष्ठुरप्रसाद हुनुहुँदोरहेछ ?

त्यो तपाईंको मूल्यांकन हो । मलाई त्यसमा चासो छैन ।

तर, आजसम्म जे भयो भयो, पीडितहरू अस्पतालमा छन्, मिल्यो भने भोलि गएर भेटिदिनुहोला, उनका गुनासा सुनिदिनुहोला । कारबाही के भयो भनेर हामी भोलि पनि फोन गर्छौँ…

ठीकै छ, बिहानै नगर्नुहोला, बेलुका गर्नुहोला ।

मिलापत्र गराउने प्रहरीमाथि कारवाहीमा हुने

बोक्सीको आरोपमा समातिएका पीडक विरुद्ध जाहेरी लिन नमान्ने र मिलापत्र गराउने कार्यमा संलग्न प्रहरीमाथि कारवाही गरिने कैलालीका डीएसपी सागर बोहोराले बताएका छन् । नेपालको कानूनले स्थानीय तहका जनप्रतिनिधिलाई निलम्बनको कारवाही गर्ने स्पष्ट प्रावधान राखेको छैन ।

तर, यसको अर्थ, बलात्कार, हत्या, कुटपिट, बोक्सीकाण्ड आदि जघन्य अपराधमा मतियारको भूमिका खेल्ने जनप्रतिनिधिलाई कानूनभन्दा माथि रहने छुट रहनेछ भनेर कल्पना गर्न सकिँदैन । किनभने लोकतन्त्रमा कानूनभन्दा माथि कोही पनि हुँदैन ।

मेयरलाई एमालेले गर्ला कारबाही ?

मेयर चौधरी नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् । एमालेको विधानको धारा ४९ मा कुनै नैतिक पतन देखिने फौजदारी अपराध गरेमा वा छुवाछुत वा जातीय भेदभाद वा लैंगिक हिंसाजन्य क्रियाकलाप गर्ने कार्यकर्तालाई स्पष्टीकरण सोध्ने र निष्काशनसम्मको अनुशासनको कारवाही गरिने उल्लेख छ ।

यसैवीच बोक्सीको आरोपमा पुनः पक्राउ परेका स्थानीय कथित झाँक्री रामबहादुर चौधरीविरुद्ध पीडितका आफन्तले जाहेरी दर्ता गरेका छन् । तर, कुटपिटमा संलग्न पार्वती नाम गरेकी युवती र अर्का एक सहयोगी भने फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसरी कुटिइन् राधा 

बिहीबार विहान राधा आफ्नो घरको आगन सफा गर्दै थिइन् । ५/७ जनाको समूह आयो र जबरजस्ती भोले बाबा (रामबहादुर चौधरी) भएको ठाउँमा पुर्‍याए । रामबहादुरले ‘तँ बोक्सी भन्दै राधामाथि जाइलागे । त्यसपछि उनी लगातार कुटिइन् । अस्पतालको शैयामा छपटाइरहेकी उनले भनिन्, बोक्सी झार्छु भन्दै बाबाले कुट्न थाले ।’

उनले आफू बोक्सी नभएको भन्दै रोइकराई गरिन् । तर, न त बाबाले सुने न गाउँलेले रोके । विरामी भनिएकी पार्वती चौधरी पनि बाबासँगै राधामाथि जाइलागिन् । पार्वती कहिले राधाको कपाल लुच्छिन् त कहिले उनीमाथि मुड्की र लात्ति बर्साउँछिन् । राधा आफ्नो बचाउ गर्न सक्दिँनन् । बाबा भनिने रामबहादुर पनि उनीमाथि मुड्की बर्जाछन् । राधा भुतुक्क हुन्छे । नागको शैली नक्कल गर्दै बाबा भन्छन्, ‘बोल तो कोन हे ?’

लगातारको कुटाइले आत्तिएकी राधा भन्छे, बस्नुस्, बाबा बस्नुस्, म भन्छु ।’ तर, निर्दयी बाबा फेरि उनको ढाडमा मुड्की बर्जाछन् । राधा हुरुक्क हुन्छे । बाबा र पार्वतीले लगातार राधामाथि कुटपिट गर्छन् । कहिले लछाप पछार गर्छन् त कहिले मुड्की बर्जाछन् ।

आफूलाई बाबा बताउने रामबहादुर उनलाई ‘बोक्सी’ प्रमाणित गर्न अनेक प्रयास गर्छन् । सोध्छन्, त को होस् ? राधा आफूलाई अबोध बालक भएको स्पष्टिकरण दिन्छन् । तर, उनीमाथि लगातार कुटपिट भइरहन्छन् । २० वर्षकी युवतीमाथि यसरी निर्घात कुटपिट भइरहँदा सिंगो गाउँले रमिते बनेर बस्छन्, एक शब्द पनि बोल्ने आँट गर्दैनन् ।

‘म बोक्सी होइन, मलाई नकुट्नुस् भन्दा त्यहाँ रमिता हेरेर बस्नेहरुका अगाडि मेरो शरीरको सम्बेदनशील अंग लगायत शरीरका अन्य भागमा निर्घाट प्रहार भैरहृयो राधाले रुँदै भनिना्, ‘मलाई नकुट भन्ने त्यहाँ कोही भएन ।’

घटनाबारे जानकारी आएपछि प्रहरी टोली गएर राधाको उद्दार गरेको थियो भने विरामी भनिएकी पार्वतीलाई उपचारका लागि अस्पतालतर्फ पठाएको थियो । घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सुखडले भोले बाबा उर्फ रामबहादुरलाई पक्राउ गर्‍यो । तर, रामबहादुरलाई छुटाउन स्थानीयबासीको भिड इलाका प्रहरी कार्यालयमा पुग्यो । प्रहरीले पनि राबहादुरलाई छोडिदिए । कुनै समयमा साइकलमा भारतीय बजारबाट समान ल्याएर घरघर डुली व्यापार गर्ने रामबहादुर आफूलाई दैवीशक्ति प्राप्त भएको भन्दै गाउँमै झारफुक गर्ने गरेका छन् ।

घटना सार्वजनिक भएपछि चर्को विरोध भएको छ र रामबहादुर पक्राउ परेका छन् । उनीविरुद्ध पीडित युवतीका बाबुले जाहेरी दिएपछि उनी शुक्रबार पक्राउ परेको छ । उनीविरुद्ध सार्वजनिक अपराधको मुद्धा चलाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ