केपी ओलीको प्रचण्डलाई जवाफपछि खनाल, नेपाल, गौतमले सचिवालय बैठकमा के भने ?

केपी ओलीको प्रचण्डलाई जवाफपछि खनाल, नेपाल, गौतमले सचिवालय बैठकमा के भने ?

madhav-jhalanath-bamdev

राजनीतिक प्रस्तावमा आरोप–प्रत्यारोपमा उत्रेका नेकपाका दुई अध्यक्ष पार्टी सचिवालय बैठकमा पनि घोचपेचमा उत्रेका छन् । शनिबारको सचिवालय बैठकमा बोलेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

शनिबारको सचिवालय बैठकमा बोलेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। बैठक सुरुवात गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रस्ताव राख्न प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई आग्रह गरेका थिए। लिखित प्रस्तावसहित आफ्नो धारणा राखेका प्रधानमन्त्री एवं अध्यक्ष ओलीले क्षमायाचनासहित दाहालले प्रस्ताव फिर्ता लिनुपर्ने माग राखेका छन्।

पार्टीको बैठकले जे निष्कर्ष निकाल्छ, त्यसलाई सबैले मान्नु पर्छ: खनाल

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्णय मान्नुपर्ने बताएका थिए । ‘अहिले पार्टीमा तिक्त्तता, अन्तरविरोधहरु देखा परेका छन् । तर यसबाट आतंकित हुनुपर्ने, भाग्नु पर्ने, पार्टी फुटको संघारमा पुगियो भनेर निष्कर्ष निकाल्नु पर्ने छैन । कहिलेकाही पार्टीमा यस्तो हुन्छ । अब दुवै दस्तावेजहरुलाई छलफलमा लैजाऔं । एउटा निष्कर्ष निकालौं । पार्टीको बैठकले जे निष्कर्ष निकाल्छ, त्यसलाई सबैले मान्नु पर्छ,’ नेता खनालको भनाई उद्धृत गर्दै अर्का एक नेताले भने ।

दुई अध्यक्षको सहमतिबाट नै सबै हल खोज्ने भन्ने चिन्तन नै गलत भएको र पार्टी कमिटीबाट नै हल खोज्नुपर्ने नेता खनालको भनाई थियो । ‘पार्टीलाई विधिबाट चलाउनुपर्छ । दुई अध्यक्षको सहमतिबाट नै सबै कुरा गर्ने भन्ने चिन्तन नै गलत हो,’ उनले भनेका थिए, ‘केन्द्रीय कमिटी सर्वोच्च संस्था हो । सचिवालय, स्थायी कमिटीमा छलफल गरेर केन्द्रीय कमिटीमा जानुपर्‍यो भने त्यहाँबाट निर्णय गर्नुपर्छ र सबैले मान्नु पर्छ ।’

ओलीको पुरानै सोच र दृष्टिकोणमा नै गम्भीर त्रुटी: नेपाल

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अन्तरविरोध हुने भन्दै नेकपा मालेमा हुँदा बैठकमा माइन्युट च्याताच्यात भएको प्रसंग निकालेका थिए । ‘पार्टीमा यस्ता विवाद भईराखेकै हुन्छन् नि । नेकपा मालेमा माइन्युट च्याताच्यात भएको होइन ? राजीनामा फालाफाल भएको होइन ? बहुमत अल्पमत हुँदैनथ्यो ?’ नेता नेपालको भनाई थियो, ‘यस्तो अन्तविरोध हुन्छ, यसलाई हल गरिन्छ । यसको आधारमा कसैले पार्टी फुटाउन खोज्छ भन्ने त्यो ठिक होइन ।’

नेता नेपालले अध्यक्ष ओलीको पुरानै सोच र दृष्टिकोणमा नै गम्भीर त्रुटी रहेको बताएका थिए । ओलीले फराकिलो ढंगले सोच्नै नसक्ने उनले बताएका थिए । यस्तै उनले बालुवाटारबाट नै गुटबन्दी भएको बताएका थिए । ‘बालुवाटार बसेर गरेको गुटबन्दीचाहिँ गुटबन्दी नहुने हामी भेट्दा गुटबन्दी हुने ? गुटबन्दीको परिभाषा चाहियो । हामीले गुटबन्दी गरेका छैनौं । बालुवाटारबाट भएको छ,’ नेपालको भनाई थियो । नेपालले नेपालले दुई अध्यक्षको अन्तर्विरोध वा दुई अध्यक्ष मिलेर सबै मिल्ने भन्ने सोचाई गलत भएको पनि बताएका थिए । ‘अन्तर्विरोध दुई अध्यक्षको वा दुई अध्यक्ष मिल्दा सबै मिल्ने भन्ने होईन । हामी कसैका एसम्यान हैनौं । छाप लगाउने मान्छे होइनौं,’ उनले भनेका थिए ।

महासचिवले बैठक रोक्ने काम गर्नु हुँदैन, निर्णयमै पहिला सहमति खोजेर बैठक बस्न खोज्ने तरिका ठीक होइन: वामदेव गौतम

उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्षको सहमतिमा बैठक बोलाउने भन्ने कुरा नै गलत भएको बताएका थिए । ‘दुवै अध्यक्षका कुरा आए, त्यो राम्रो भयो । तर बैठक बोलाउन सहमति भन्ने कुरा गलत छ । जसले माग गरे पनि सचिवालय बैठक बोलाउनु पर्छ । दुई अध्यक्षमध्ये एकले बैठक बसौं भने पनि बैठक बोलाउनु पर्छ,’ बैठकमा गौतमले भनेका थिए, ‘बैठक बोलाउन पनि अन्तर्वस्तुमा सहमति खोज्ने बेठिक विधि छ । सच्चाउनुपर्छ ।’

गौतमले महासचिवले बैठकको व्यवस्थापन गर्नुपर्नेमा उल्टै बैठक रोक्ने काम गरेको भन्दै कटाक्ष गरेका छन्। यस्तो छ गौतमले बैठकमा व्यक्त गरेको धारणा :

मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ। वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु।  पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन्। चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ। किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ। यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ। बैठक बस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ। यो बैठक बस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो, उहाँहरुलाई धन्यवाद छ। बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु।

बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ। पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ। यस्ता व्यवस्थापनसित सम्वन्धित विषयमा पनि विवेक पु¥याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो। बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न।

चार नेता मौन

शनिबारको बैकठमा पाँच नेताले मात्रै आफ्ना धारणा राखेका थिए । बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ तथा महासचिव विष्णु पौडेल भने मौन बसेका थिए । दुई अध्यक्ष, दुई वरिष्ठ नेता र उपाध्यक्षले धारणा राखेपछि अरूले पनि बोल्न खोजे पनि अर्को बैठकमै विस्तृत छलफल गर्न सकिने भनिएपछि १६ मंसिरका लागि सचिवालय बैठकको मिति तोकेर शनिबारको सचिवालय बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds