प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण

somnath-adhikari

पोखरा । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको  प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए ।

प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब दिएका थिए । उनकी धर्मपत्नी र सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीलाई पनि सङ्क्रमण देखिएको प्रेस सल्लाहकार अधिकारीले बताए ।

प्रदेश प्रमुख अधिकारी र उहाँकी धर्मपत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु विराटनगरस्थित निवासमा होम आइसोलेसनमा बसेका छन् ।

कास्कीका कम्युनिष्ट नेता प्यासी प्रदेश नं १ को प्रदेश प्रमुखमा गत वर्ष नियुक्त भएका हुन् । नेपालको वामपन्थी आन्दोलनमा लामो समय सङ्घर्ष गरेका प्यासी शिक्षक हुँदै प्रदेश प्रमुखसम्मको जिम्मेवारीमा पुगेका हुन् । विसं २०२५ मा नेकपा माकर््सवादी लेलिनवादी क्रान्तिकारी कम्युनिष्ट दल गण्डकी धवलागिरिको संस्थापक सदस्य, विसं २०२९/३० मा कास्की सचिव, विसं २०३५ मा पृथ्वीनाराण क्याम्पसमा पुनः स्ववियु सभापति, अनेरास्ववियुको पश्चिमाञ्चल क्षेत्रीय कमिटीको अध्यक्ष, केन्द्रीय कमिटीको उपाध्यक्षलगायतका जिम्मेवारी उनले पूरा गरे ।

विसं २०४३ मा लोकप्रिय मतका साथ उनी कास्कीबाट राष्ट्रिय पञ्चायतको सदस्य तथा २०४८ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । विसं २०५२, २०५४, २०५६ तथा २०६० मा अधिकारी नेकपा (एमाले) कास्कीको सचिव चुनिए । विसं २०६४ मा पार्टीको केन्द्रीय लेखा आयोगको सदस्य तथा विसं २०६८ मा केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा निर्वाचित भएका प्रदेश प्रमुख अधिकारी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपाको स्थायी कमिटी सदस्य भए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds