काठमाडौं । आजबाट छठ पर्व सुरु भएको छ । आज पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् ।
कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व सम्पन्न गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् ।
यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ । यद्यपि ब्रतालुले यसअघि एक दिनपूर्व नै ‘अरवाअरवाइन’ विधिअनुसार चाखोनितोको शुरु गरिसकेका छन् ।
त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।
पर्वको मुख्य दिन षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।
षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । यद्यपि यसपालि कोभिड–१९ संक्रमणको जोखिमले धेरैजसो ब्रतालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् ।
पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न गरिन्छ । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
पर्व सम्पन्न भएसँगै ब्रतालुले घर फर्केर (घाट जानेहरु) ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् । यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम शुरु हुन्छ । मिथिलामा छठको प्रसाद इष्टमित्र, छोरीचेली र आफन्तकहाँ पुर्याउने क्रम १०÷१५ दिनसम्म चलिरहन्छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, सन्तान सुख हुने र रोगव्याध नलाग्ने जनविश्वास छ । खासमा चर्मरोग सूर्यको उपासनाले निको हुने विश्वास गरिन्छ ।
पछिल्ला केही दशकयता आपसी घुलमिलले छठपर्व पहाडी मूलका हिन्दू मात्र नभएर भाकलका रुपमा फरक धर्म संस्कृतिका जाति समुदायले पनि मनाउन थालेपछि यो पर्व मिथिलाको साझा पर्वको रुपमा विकास हुँदैछ । सबै जाति, धर्म, सम्प्रदाय र व्यक्ति–व्यक्ति परिचालित हुने हुँदा छठपर्व लोकआस्थाको पर्व बनेको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा. राजेन्द्र विमल बताउँछन् ।
मिथिलामा वर्षको दुईपटक छठपर्व मनाउने परम्परा छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती छठ भनिन्छ । यद्यपि जनजनलाई परिचालित गर्ने भने शारदीय छठ नै हो ।
मिथिलाका सबै भेगमा अहिले छठको चहलपहल निकै बढेको छ । पर्वमा गुवोसहित उखुको लाँक्रा, ज्यामिर, अदुवाको बोट व्रत विधिमा देखाइने हुँदा यस्ता कृषि उपजले राम्रो बजार पाएका छन् ।
त्यसैगरी यस पर्वका मिष्ठान्न परिकार ठकुवा, भुसुवासहितका सामग्री र ती सामग्री राख्ने माटो र बाँसका चोयाले बनाइएका सामानको खरिदबिक्री पनि बढेको छ ।
सम्बन्धित खबर
आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र विशेष पूजा
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व
आज छठ पर्वको मुख्य दिन, बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
छठको दोस्रो दिन आज ‘खरना’
सुरु भयो छठ पर्व, आज नहाय खाय
दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम