पाटे बाघको छाला ६० लाखमा बेच्न खोज्ने चार जना पक्राउ

पाटे बाघको छाला ६० लाखमा बेच्न खोज्ने चार जना पक्राउ

bagh ko chhala

महानगरीय अपराध महाशाखाको टोलीले आइतबार साढे १० बजे स्वयम्भूस्थित होटल प्लाजाबाट चार जनालाई पक्राउ गरेको हो। प्रहरीले स्वयम्भू एरियामा केही व्यक्तिहरूले पाटे बाघको छाला बिक्री गर्न लागेको भन्ने सुराक पाएको थियो।

त्यही सूचनाको आधारमा महाशाखाको विशेष टोलीले काठमाडौं महानगर १५ स्वयम्भूको होटल प्लाजा कोठा नं. २०८ बाट नौ फिट लामो र दुई फिट २ इन्च चौडाई भएको छाला बरामद गरेको छ।

प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार उनीहरूले उक्त छाला ६० लाखमा बेच्न ल्याएका थिए। पक्राउ पर्नेमा धादिङ्ग गल्छी गाउँपालिका ५ घर भइ काठमाडौंको गोलढुङ्गा बस्ने ४३ वर्षीय टेकबहादुर तामाङ छन्। उनी पेशाले ज्यामीको काम गर्छन्।

त्यस्तै सोही ठाउँका डुनोट व्यापारी २८ वर्षीय सुजन थिङ, कृषक २७ वर्षीय आशिष तामाङ र मकवानपुर थाहा नगरपालिका ८ का ड्राइभर २४ वर्षीय सानुकान्छा थिङ छन्।

प्रहरीको अनुसन्धानअनुसार उक्त छाला टेकबहादुर तामाङले धादिङका एक स्थानीयबाट ३५ लाखमा किनेर ल्याएको खुलेको छ। सो छाला किन्न अर्का एक स्थानीयको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ।

‘उनीहरूले यो छाला अरूलाई प्रलोभनमा पारेर बेच्न खोजेका रहेछन्,’ एसपी कार्कीले भने, ‘बेचेर त्यो पैसा एकआपसमा बाँड्ने अनि दसैं मनाउने सोच बनाएका रहेछन्।’प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ