गण्डकीमा आजः ६८ संक्रमित थपिए, ३ को मृत्यु, २९७१ मध्ये १८७८ निको

गण्डकीमा आजः ६८ संक्रमित थपिए, ३ को मृत्यु, २९७१ मध्ये १८७८ निको

aaja aa

पोखरा । आइतबार गण्डकीका ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयद्वारा जारी बिहान १० बजेसम्मको तीनवटा विज्ञप्तिमा क्रमशः ३२, ४ र २९ जनामा संक्रमण पुष्टि भएको हो । त्यसपछि ३ जना मृतक संख्या थपिएसँगै आज ६८ जना संक्रमित भएका हुन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३ मृतकसहित २९ सय ७१ पुगेको छ । अहिलेसम्म १८ सय ७८ जना निको भइस्केका छन् । ५७ हजार २ सय ५३ पीसीआर टेस्ट गरिएकोमा ५४ हजार २ सय ८२ जनाको नेगेटिभ आएको छ । अहिले पनि गण्डकीमा १ हजार ६६ जना सक्रिय संक्रमित छन् ।

तेस्रो विज्ञप्ति अनुसार प्रदेशका ५ जिल्ला लमजुङ, नवलपुर, तनहुँ, स्याङ्गजा र गोरखाका २९ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको  छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ९ का २९ र २१ वर्षीया महिला सहित ३४, २०, २२, २६ र २४ वर्षीया महिला, वडा नं ७ का ३१ वर्षीय पुरुष र वडा नं ५ का २५ र ४३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, तनहुँको ब्यास नगरपालिका ४ का ४३ वर्षीय पुरुष, म्याग्दे गाउँपालिका ४ का ३० वर्षीय पुरुष, म्याग्दे ६ का २५ वर्षीया महिला र म्याग्दे १ का २० र २९ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यता, स्याङ्गजाको गल्याङ नगरपालिकाका २१ वर्षीय (वडा नखुलेको) पुरुषको पनि परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, गोरखाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका ७ का २८ वर्षीका महिला र पुरुष, र सोही गाउँपालिका ८ का २५ वर्षीया महिला र वडा नखुलेका ३० र ३३ वर्षीया महिला सहित २२ र २६ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, नवलपुरको विनयत्रिबेणी गाउँपालिका ६ का २९ र ३९ वर्षीया महिला सहित ३३ वर्षीय पुरुष, वडा नं ५ र ७ का क्रमशः ५६ वर्षीया महिला सहित २३ र २७ वर्षका पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

दोस्रो विज्ञप्ती अनुसार, पोखराका ४ वटा वडाका ३ महिला र १ पुरुषमा कोरोना भाइरस देखिएको हो । निर्देशनालयका अनुसार आइतबार बिहान दोस्रो चरणमा पोखरा १ की ५० वर्षीया महिला, पोखरा ५ की ३७ वर्षीया महिला, पोखरा ६ का ४५ वर्षीय पुरुष र पोखरा २७ की २१ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरु चारैजना फिवर क्लिनिकमा परीक्षणका लागि आएका व्यक्ति रहेको निर्देशनालयले जनाएको छ ।

पहिलो विज्ञप्ती अनुसार, आइतबार बिहान ३२ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले कास्कीको पोखराका अस्पतालका १ कर्मचारी र उपचाररत २ व्यक्तिसहित गण्डकीका ३२ जनामा कोरोना भाइरस देखिएको छ ।

पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत पोखरा १६ की २० वर्षीया महिला कर्मचारी, पोखराको मणिपाल अस्पतालमा उपचाररत पोखरा ९ का ७० वर्षीय पुरुष र स्याङजा पुतलीबजार ३ का ७६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

त्यसैगरी, स्याङजा पुतलीबजारका २४ र ३२ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, लमजुङ सुन्दरबजारका नेपाल आर्मीमा कार्यरत २२ देखि ४१ वर्ष उमेर समुहका १६ पुरुष तथा बेसीसहरकी एक ५२ वर्षीया महिला, तनहुँ भानुका ५० वर्षीय पुरुष र नवलपुर गैँडाकोट, मध्यबिन्दु तथा हुप्सेकोटका ४ पुरुष तथा ४ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले उल्लेख गरेको छ ।

कोरोनाबाट गण्डकीमा थप ३ जनाको मृत्यु

कोरोना संक्रमणका कारण गण्डकी प्रदेशका थप ३ जनाको मृत्यु भएको छ । योसँगै गण्डकीका २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३ जनाकै मृत्यु काठमाडौंका विभिन्न अस्पतालमा भएको हो ।

तनहुँको आबुखैरेनी गाउँपालिका ४ निवासी ७६ वर्षीया महिलाको मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा भदौ २४ गते मृत्यु भएको हो । उनलाई मुटुसम्बन्धी समस्या थियो ।

यसैगरी, गोरखाको भीमसेन थापा ३ का ४५ वर्षे पुरुषको पनि टिचिङ अस्पतालमा भदौ २७ गते मृत्यु भएको हो । भदौ २३ गते कोरोना पुष्टि भएका उनमा मृगौलासम्बन्धी समस्या थियो ।

कास्कीको मादी ४ घर भएर काठमाडौं नयाँबजार बस्ने ५१ वर्षे पुरुषको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भदौ २७ गते निधन भएको छ । उनमा कोरोना भएको पुष्टि भएको थियो । उनलाई क्यान्सर र हाइपोथाइरािजमको समस्या थियो । कोरोना संक्रमितको मृत्यु जहाँ भए पनि स्वास्थ्य मन्त्रालयले रेकर्ड राख्दा जुन प्रदेशको ठेगाना हो त्यही अनुसार राख्ने गरेको छ ।

कोरोनाका कारण पोखरामा बाबुको मृत्यु, छोराले स्याङजामा काजक्रिया समेत गर्न पाएनन्

बाबुको मृत्यु भएपछि कोरोना सङ्क्रमणका कारण छोराले काजक्रिया समेत गर्न पाएनन् । स्याङजा पुतलीबजार नगरपालिका—१४ स्थायी घर भई पुतलीबजार(१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृतकका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका हुन् ।

लामो समयदेखि दमको बिरामी रहेका बाबुलाई उपचारका लागि यही भदौ २१ गते पोखरा लिएर आएका छोराले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर रेखदेखमा खटिएका थिए ।

बाबुको उपचार चलिरहेकै समयमा भदौ २२ गते छोराको पनि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि बाहिरी रेखदेखका लागि आफन्तका भरमा अस्पतालमै छाडेर चिकित्सकको सल्लाहमा जिल्ला फर्किएर स्थानीय कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा थिए ।

मृृतकको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम शुरु गरिएको र परिवारका सदस्यको स्वाब सङ्कलनको तयारी गरिएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिए ।

लमजुङमा १६ सैनिकसहित २७ जनामा कोरोना पुष्टि

लमजुङमा आइतबार १६ जना सैनिकसहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामध्ये १६ जना नेपाली सैनिकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । उनीहरु सबै सुन्दरबजार नगरपालिका–९, सिउँडीबारस्थित नेपाली सेनाको कृषि तथा व्यवसायिक तालिम केन्द्रमा कार्यरत रहेका नेपाली सेनाको उदिपुरस्थित श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाले बताए ।

उनका अनुसार गत भदौ ६ गते पीसीआर परीक्षणका क्रममा उक्त तालिम केन्द्रका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नमुना सामुदायिक अस्पताल सुन्दरबजारको आइसोलेसनमा रहेका २२ जनामध्ये ६ जना कोरोना संक्रमित निको भएर फर्किसकेका छन् । तालिम केन्द्रका २० जना सैनिकमा गत भदौ ६ गते कोरोना पुष्टि भएको थियो । तालिम केन्द्रमा कार्यरत एक सैनिक साउन २९ गते बाग्लुङस्थित घर गएको बेला ज्वरो आउने र खोकी लाग्ने भएर अस्पताल भर्ना भएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

तालिम केन्द्रमा कार्यरत करिब ६० जनालाई पहिलो चरणमा ३० जना र पछिल्लो चरणमा ३० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षण गरिएकामध्ये हालसम्म तालिम केन्द्रका ३७ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार कोरोना पुष्टि भएका १६ जनालाई आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार कन्ट्याक्ट ट्रेसिङबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा परीक्षण गरिएकामध्ये तालिम केन्द्रका १६ जना सैनिक, बेंसीसहर नगरपालिका २ घर भइ चितवन मेडिकल कलेजको प्रयोगशालाबाट परीक्षण गरिएका १ जना पुरुष, कन्ट्याक्ट ट्रेसिङबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका सुन्दरबजार नगरपालिका–७ र ९ का ३ जना पुरुष, सुन्दरबजार नगरपालिका–९ का २ जना महिला, होटल क्वारेन्टाइनमा बसी परीक्षण गरिएका सुन्दरबजार–५ र ९ का ४ जना साथै होम क्वारेन्टाइनमा बसेका सुन्दरबजार–९ का एक पुरुष रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds