लक्षणसहितका कोरोना संक्रमित बढ्न थाले, लक्षणको केस भेटिनु चिन्ताजनक : चिकित्सक

लक्षणसहितका कोरोना संक्रमित बढ्न थाले, लक्षणको केस भेटिनु चिन्ताजनक : चिकित्सक

kathmandu

काठमाण्डौ – राजधानीमा मंगलबार ६१ जना नयाँ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा एकै दिन संक्रमण पुष्टि हुनेको संख्या अहिलेसम्मकै धेरै हो । त्यति मात्र होइन, थपिएका यी नयाँ संक्रमितमध्ये एक चौथाइमा लक्षणसमेत देखिएको छ । राजधानीलगायत मुलुकका विभिन्न भागमा केही दिनयता लक्षण भएका संक्रमित फेला पर्ने क्रम बढेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये १५ जनामा लक्षण देखिएको छ । उनीहरूमा मुख्य रूपमा ज्वरो, सुक्खा खोकी, स्वाद थाहा नपाउने, टाउको दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण रहेका छन् ।

संक्रमणको विस्तार रोक्न जनस्वास्थ्यका विभिन्न प्रक्रिया कडाइसाथ लागू नगरिए समुदायमा कोरोना फैलिन सक्ने चेतावनी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका छाती रोग विशेषज्ञ डा। नवीनप्रकाश शाहले दिए । ‘समुदायमा कोरोना संक्रमण फैलिए जो मर्छ, मरोस्, जो बाँच्छ, बाँचोस् भनेर छाड्नु वा कडा लकडाउन, कर्फ्यु लगाउनुको विकल्प रहँदैन,’ उनले भने, ‘लक्षणसहितको कोरोनाको केस बढ्दै जानु मुलुकका लागि चिन्ताको अवस्था हो ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोनाका सामान्य लक्षण ज्वरो, सुक्खा खोकी र थकान हुन् । जीउ दुख्नु, नाक बन्द हुनु, टाउको दुख्नु, आँखा दुखेर सुन्निनु, घाँटी दुख्नु, पखाला लाग्नु, स्वाद वा सुँघ्ने क्षमतामा कमी हुने, छालामा बिमिरा, औंला र खुट्टाको औंलाको रङ परिवर्तित हुनु पनि यसका लक्षण हुन् ।

मुलुकमा लकडाउन कायमै रहेका बेला असार ३१ देखि साउन ६ गतेसम्म ३० हजार ९६ नमुनाको पीसीआर परीक्षण गरिएकामा ९ सय ३३ जनामा कोरोना पोजिटिभ देखिएको थियो । लकडाउन हटेपछि साउन ७ देखि १३ गतेसम्म २० हजार ७२ नमुना परीक्षण गर्दा १ हजार ६९ जनामा संक्रमण देखिएको छ । हाल देशभरिमा ५ हजार १ सय २९ जना सक्रिय संक्रमित छन् भने १५ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा छन् । काठमाडौं प्रवेश गर्ने तीन वटा नाकाबाट धमाधम नमुना संकलन गरिँदै छ । साउन १३ गते दिउँसो ४ बजेसम्म फर्पिङबाट ९ सय ५५, थानकोटबाट २ हजार ९ सय १४ र साँगाबाट ९ सय ४४ गरी ४ हजार ८ सय १३ नमुना संकलन गरिएको छ ।

यसैबीच मुलुकभर मंगलबार ३ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पुष्टि भएका संक्रमितको संख्या १९ हजार ६३ छ । संक्रमण पुष्टि भएर निको हुनेहरू १३ हजार ८ सय ७५ जना छन् । आज प्रकाशित कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds