सांसद अपहरणको आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार छु – किसान श्रेष्ठ (भिडियो सहित)

सांसद अपहरणको आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार छु – किसान श्रेष्ठ (भिडियो सहित)

Kishan Shrestha

काठमाडौं । नेकपा सांसद कृष्णकुमार (किसान) श्रेष्ठले आफूलाई लागेको सांसद अपहरणको आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले प्रमाणित गरे सांसदहरुकै अगाडि आफू झुन्डिन तयार रहेको बताए ।

उनले डा. बाबुराम भट्टराईलाई लक्षित गर्दै हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुन्डिन तयार हुनुहुन्छ भन्दै प्रश्न गरे ।

उनले भने– ‘सभामुख महोदय, यहाँ केही हप्ता अगाडि सांसद अपहरणको कुरा आएर म लगायत माननीय महेश बस्नेतको जुन चरित्र हत्या भयो । सम्पूर्ण माननीय ज्यूहरुलाई साक्षी राखेर भन्न चाहन्छु, अपहरणको आरोप लगाउनेलाई म चुनौती दिन चाहन्छु, यदि प्रमाणित भयो भने सबै माननीयज्यूहरुको अगाडि झुन्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुन्डिन तयार छन् ?’

सांसदहरु श्रेष्ठ, महेश बस्नेत र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई लकडाउनका बेला जनकपुर पुगेर तत्कालिन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।

उनले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपालको छुटेको भूमी लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गर्ने घोषणाले सबै नेपालीलाई खुसी तुल्याएको समेत उल्लेख गरे ।

उनले लामो समयदेखि भारतसँगको सीमा विवाद कुटनीतिक तबरबाट समाधान गर्ने सरकारको निर्णय आफैमा ऐतिहासिक रहेको उल्लेख समेत गरेका छन् ।

उनले सरकारको नीति तथा कार्यक्रम जनताको हितका लागि भएको, जनतालाई राहतको व्यवस्था गरेको, कृषि क्षेत्रको विकास, घरेलु तथा मझौला उद्योगको विकास गर्नेतर्फ केन्द्रीत भएको भन्दै खुसी व्यक्त गरे ।

उनले स्वास्थ्य संस्थाको विकास गर्ने नीतिले सबै नेपालीमा स्वास्थ्य पहुँच पुग्ने अपेक्षा लिएको पनि उल्लेख गरे ।

हेर्नुहोस् भिडियोः

https://www.facebook.com/being.basnet1/videos/1632836223545466/UzpfSTEwMDAwMDQ2MDczMTE2NDo0MDgwODA4NDI4NjExMTQx/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ