गोरखा जिल्ला आजदेखि पूर्णरुपमा बन्द: सबै नाकामा सेना र सशस्त्र प्रहरी, सवारी आवागमनमा कडाई

गोरखा जिल्ला आजदेखि पूर्णरुपमा बन्द: सबै नाकामा सेना र सशस्त्र प्रहरी, सवारी आवागमनमा कडाई

Gorkha Bazar

गोरखा । कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ ।

समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए ।

बैठकले अन्य जिल्लाबाट हुने आवागमनलाई पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै गोरखा जिल्लाभित्र यसअघि खाद्य पदार्थ बोकेका सवारी साधनलाई जिल्लाभित्र आवागमन गर्न दिइएकामा अबको पाँच दिन भने त्यसलाई पनि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ ।

बजारभित्र खाद्यान्न, तरकारी, पशुपक्षी, दाना, औषधि तथा माछामासुका पसलबाहेक अन्य पसल खुल्न नदिने निर्णय भएको रोकाले जानकारी दिए ।


“अस्पतालबाट सिफारिस भएका बिरामी, घाइते, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, किरियापुत्री, मलामी, वडाध्यक्षदेखि माथिका जनप्रतिनिधि वा उनीहरुका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने निर्णय भएको छ”, उनले भने, “त्यसबाहेकका सबै सवारी साधन जिल्लाभित्र, बाहिरबाट आवतजावत पूर्णरूपमा ठप्प पार्ने निर्णय भएको छ ।”

त्यस्तै जिल्लाभित्र सञ्चालित बैंक, वित्तीय संस्था ती संस्थाद्वारा सञ्चालित काउन्टर र बीमा कम्पनी पनि बन्द गर्ने निर्णय बैठकले गरेको अधिकृत रोकाले बताए ।

बैठकले नागरिक तथा वित्तीय संस्थालाई इ–बैंकिङ सिस्टममार्फत काम गर्न प्रोत्साहन गर्ने निर्णय पनि गरेको उनको भनाइ छ ।

नाकामा नेपाली सेना र सशस्त्र प्रहरी

गोरखा भित्रने नाकामा नेपाली सेना र सशस्त्र प्रहरी खटाइने भएको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

तनहुँको आवुखैरेनीबाट गोरखा भित्रिने मुख्य नाका मझुवामा नेपाली सेना र प्रहरी परिचालन हुने समिति संयोजक एंव प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । धादिङबाट गोरखा भित्रिने आरुघाट पुल र तनहूँबाट गोरखा भित्रिने तुरतुरे पुलमा सशस्त्र र नेपाल प्रहरी खटाइने उनले जानकारी दिए ।

उनका अनुसार धादिङबाट गोरखा भित्रिने घ्याल्चोकको सिउरेनीटार नाका र तनहूँबाट गोरखा भित्रिने च्याङ्लीको नयाँ पुल नाकामा प्रहरी खटिनेछन् ।

नेपाल प्रहरीको साथमा सेना र सशस्त्र खटिएको प्रजिअ पौडेलले जानकारी दिए । उंले भने ‘उनीहरुबाट २४ सै घण्टा चेकजाँच हुन्छ ।’ लकडाउनलाई थप प्रभावकारी बनाउन नाकामा कडाई गर्न लागिएको उनले बताए ।

‘बाहिरबाट कोही मान्छे जिल्ला भित्रिन लागे भने सम्बन्धित वडा वा पालिकासँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएर मात्र पठाउछौ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ