सुन्दर फेवाताल र हिमाल हेर्दै केबलकारमा सरर सराङकोट !

सुन्दर फेवाताल र हिमाल हेर्दै केबलकारमा सरर सराङकोट !

cable car

कास्की । पोखरामा पाइला टेकेपछि आन्तरिक तथा बाह्य पर्यटकको पहिलो गन्तव्य बन्ने गरेको छ फेवाताल । तालको दृश्यावलोकन गर्दै डुङ्गा सयर गरेर आनन्द लिएपछि अधिकांशको गन्तव्य सराङकोटतर्फ मोडिन्छ । आँखै अगाडि टाँसिन आइपुग्ने सुन्दर हिमशृङ्खला, सूर्योदय र सूर्यास्त, पोखरा शहरसहित तालतलैयाको एकैपटकमा नजर डुलाउनका लागि पर्यटक सराङकोट डाँडामा उक्लने गर्छन् ।

केबलकार परियोजनाबाट २५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने बताइन्छ । निर्माण कार्य हाल अन्तिम चरणमा रहेकाले आवश्यक कर्मचारी नियुक्तिको प्रक्रिया शुरु गर्न लागिएको प्रालिले जनाएको छ । अब भने यही सुन्दर फेवाको किनारबाट केबलकारमा चढेर ताल र हिमाल हेर्दै सराङकोट चुचुरोमा पुग्न पाइने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न जारी बन्दाबन्दीको अवस्था नभएको भए यतिबेला पोखरामा केबलकार सञ्चालनमा आइसकेको हुन्थ्यो ।

अन्नपूर्ण केबलकार प्रालिले पोखरा महानगरपालिका–१८ को सेदी बगरदेखि सराङकोट दुई हजार २७५ मिटर जोड्ने गरी निर्माण गरिरहेको केबलकारको काममा कोरोनाको कहरले बाधा पुर्यायो । नयाँ वर्ष विसं २०७७ का अवसरमा केबलकार सञ्चालनमा ल्याउने तयारीसहित चितवन कोई समूहले जिम्मा पाएको निर्माण कार्य अन्तिम चरणमा आइपुग्दा देशमा लकडाउन आह्वान भयो ।

आयोजनामा बन्दाबन्दीले काममा बाधा पुर्याएको बताउँदै प्रालिका अध्यक्ष कालु गुरुङले अब लकडाउन हटेको एक महिनाभित्रमा सञ्चालनमा ल्याइने बताए । उनका अनुसार हालको विषम परिस्थितिले शुरुका दुई हप्ता आयोजनाको काम रोकिएको भए पनि अहिले दैनिक ५० जना मजदुरले आवश्यक सुरक्षा उपाय अवलम्बन गरेर बाँकी निर्माण कार्य र डेकोरेसनको काम गरिरहेका छन् ।

केवलकारको तल्लो र माथिल्लो दुवै स्टेसन भवनको फिनिसिङको काम सम्पन्न भएको छ । त्यसैगरी भ्यू टावर, दुवै स्टेसनमा गार्डेन, पार्किङसहितको संरचना निर्माण गरिएको छ । दुवै स्टेसनमा रेष्टुरेन्ट, कफी सप राख्ने तयारी छ । त्यसैगरी १४ वटा टावर निर्माण गरिसकिएको र सो टावरमा तार टाँग्ने र डिब्बा (गुण्डला) राख्ने काम मात्र बाँकी रहेको बताउँदै उनले हालसम्म आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

टावरमा तार जडान र डिब्बा राख्नका लागि स्वदेशमा प्राविधिक जनशक्ति नभएकाले विदेशबाट ल्याउने तयारी भएकामा लकडाउनका कारणले उनीहरु आउन नसक्दा ढिलाइ भएको अध्यक्ष गुरुङले बताए । ‘स्टेसन भवन, पोल, कम्पाउण्ड वाललगायत सिभिल संरचना निर्माणतर्फ सबै काम सम्पन्न भएको छ’ उनले भने, ‘विदेशी प्राविधिक आएर तार तानेर गुण्डला जडान गर्न मात्र बाँकी छ । लकडाउन खुलेको एक महिनाभित्रमा डिब्बा राख्ने काम सम्पन्न भएर हामी परीक्षण सञ्चालन गर्ने अवस्थामा पुग्छौँ, व्यावसायिक सञ्चालनका लागि भने तीन महिनाजति समय लाग्ला ।’

केबलकारमा हाललाई १८ वटा गुण्डला जडान गरिने बताइएको छ । पछि चारवटा थप गर्ने योजना रहेको छ । गुण्डला, तारलगायत सबै सामग्री निर्माणस्थलमा आइसकेका छन् । सामग्री जडानका लागि जापानबाट दुईजना प्राविधिक आउनेछन् । एउटा डिब्बामा आठजना अट्ने क्षमता रहेको र प्रतिघण्टा ५०० जनाले यात्रा गर्न सक्ने बताइएको छ । केबलकार सञ्चालनमा आएसँगै फेवातालको किनार सेदीबगरबाट आठदेखि नौ मिनेट समयभित्रमा सराङकोट पुग्न सकिने अध्यक्ष गुरुङले बताए । अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ४५ मिनेट समय लाग्छ ।

केबलकारको भाडा स्वदेशीलाई रु ६००, सार्क देशका नागरिकका लागि रु ७०० र अन्य देशका नागरिकलाई रु ८०० तय गरिएको प्रालिका प्रबन्ध निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । केबलकार परियोजनाले माथिल्लो र तल्लो स्टेसनमा ३० रोपनी र राइट अफ वे ९बाटो०मा २५ रोपनी ओगटेको बताइन्छ । अधिकांश जमिनको मुआब्जा वितरणलगायतका काम सम्पन्न भएको प्रालिले जनाएको छ

रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ