तनहुँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले नेपाली कांग्रेस नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजाललाई तीन घन्टा बाटो छेकेका छन् । ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्न तनहुँ गएका रिजाललाई रोक्न नेकपाका कार्यकर्ताले ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए ।
नेता रिजालले आफूमाथि नेकपा कार्यकर्ताहरुले हतियार र लाठीले आक्रमण गर्न खोजेको प्रतिक्रिया दिएका छन् । ‘कतिपय ठाउँमा त ढुंगामुढाको प्रयास गरे’, नेता रिजालले भने, ‘गाउँपालिका प्रवेश गर्ने ठाउँ वडा नम्बर ८ मा तीन घन्टा बाटो छेके । भवन निर्माणमा हाम्रो विरोध छ’ भन्दै बाटो छेकेका थिए । आफूले यसबारे छलफल गर्न सकिने तर कार्यक्रमस्थलमा नपुगी कुनै हालतमा नफर्कने अडान लिएर तीन घन्टा उभिएर बसेको उनले सुनाए ।
नेकपा कार्यकर्ताको अवरोधबारे थाहा पाएपछि कांग्रेस कार्यकर्ता पनि त्यहाँ पुगेका थिए । त्यसपछि उनीहरुले अवरोध हटाएको नेता रिजालले जानकारी दिए । नेता रिजालले भने, ‘साथीहरुले जोगाउनुभयो । बचियो । प्रहरी प्रशासनको आडमा उनीहरु आक्रमणमा उत्रिए । लोकतन्त्रका लागि कसैबाट खतरा छ भने यो सरकारबाट मात्र छ ।’
नेकपालाई कांग्रेसको चेतावनी : हामीलाई नजिस्क्याऊ
नेपाली कांग्रेसले पार्टी नेता मिनेन्द्र रिजाल लगायतमाथि भएको आक्रमण प्रयासको विरोध गरेको छ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधि सभा सदस्यसमेत रहेका डा. रिजाल, तनहुँका कार्यवाहक सभापतिलगायत पार्टीका साथीहरुलाई नेकपाका कार्यकर्ताहरुले आज बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै खुकरी, भाला, लाठी, ढुंगा, वियरका बोतलसहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको सुनियोजित घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।”
गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा मिनेन्द्र रिजालबाट गराउने निर्णय गरेकोसमेत जनाइएको छ । कार्यक्रमको विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वेवास्ता गर्नु चिन्ताको विषयको विज्ञप्तिमा उल्लेख छ । फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक छ ।
सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटनाहरु दोहोर्याउँदै व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गइरहेको घटनाप्रति सतर्क रहन नेपाली कांग्रेसले सबैलाई आग्रह गरेको छ । मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारकाविरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्र्न बाध्य हुनेसमेत विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेपाली कांग्रेस नेकपालाई चेतावनी दिन चाहन्छ ।”
नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा अवरोध गरे: पौडेल
यसैबीच, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर गाउँपालिका भवन शिलान्यासका लागि अतिथिलाई कुरेर बसेका लाखौ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा रिजाललाई अवरोध गरेको बताएका छन् ।
नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीबाट बाटो अवरोध गरेर कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि अपमान गरेको विज्ञप्तिमा उल्लेख छ । “पञ्चायतका ‘मण्डले’ हरुको शैली अनुसरण गर्दै नेकपाका नेता-कार्यकर्ता फासीवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु,” नेता पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले सरकारले ‘मण्डले’ शैलीमा हुने गतिविधि नियन्त्रण नगरे कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन् ।
आक्रमणका गतिविधि नरोकिए सशक्त प्रतिरोध गर्छौं : तरुण दल
नेपाल तरुण दलले कांग्रेस नेता रिजालमाथि आक्रमण प्रयास भएको भन्दै यस्ता दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरेको छ । घटनाको भर्त्सना गर्दै तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेकपाका कार्यकर्ताले देखाएको त्यस्तो मण्डले र फासिस्ट शैलीको विरोध गर्छौं । यदि यस्तो फासिस्ट र आततायी र आक्रमणका क्रियाकलाप देखाएमा तरुण दलले त्यस खालका कार्यको सशक्त प्रतिरोध गर्नेछ । त्यसबाट उत्पन्न हुने जुनसुकै खालको परिस्थितीको जिम्मेवार यही सरकार हुनेछ ।”
तस्विरः बाह्रखरी डटकमबाट
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते