नेपाली सेना भन्छ – फास्ट ट्रयाक बन्न साढे ३ वर्ष

नेपाली सेना भन्छ – फास्ट ट्रयाक बन्न साढे ३ वर्ष

fast track

काठमाडौं-तराई-मधेस द्रूत मार्ग ‘फास्ट ट्रयाक’ निर्माणको समय लम्बिने भएको छ। सेनाले फास्ट ट्रयाक निर्माणका लगि अब तीन वर्ष ६ महिना समय लाग्ने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

सेनाले बुधबार जंगी अड्डामा पत्रकार सम्मेलन गरी फास्ट ट्रयाकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेको हो। यसअघि २०७४ वैशाखमा सेनालाई चार वर्षमा काम सम्पन्न गर्ने गरी जिम्मेवारी दिइएको थियो। सोही वर्ष जेठमा फास्ट ट्रयाकको शिलान्यास भएको थियो भने साउनदेखि सेनाले काम सुरू गरेको हो। सरकारको नीति तथा कार्यक्रममा पनि फास्ट ट्रयाक पाँच वर्षभित्र सम्पन्न गर्ने उल्लेख छ।

डिपिआर अनुसार फास्ट ट्रयाकको लागत एक खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ। मूल्य अभिवृद्धि करसहित भने कुल लागत एक खर्ब ७५ अर्ब रहेको छ। आयोजना निर्माणको क्रममा हुन आउने अन्य विविध खर्चहरूको बारेमा भने सेनाले बताएको छैन। निर्माणको समयमा आउने विविध र भैपरी खर्च नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले बताएको छ।द्रूतमार्ग खोकनाबाट सुरू भई निजगढसम्म ७२ दशमलव ५ किलोमिटरको चार लेनको बाटो हुनेछ। यो यसअघिको डिपिआरको भन्दा ३ दशमलव ७० किलोमिटर कम लम्बाई हो।

पहाडी भू-भागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ। यस मार्गमा बन्ने ८७ पुलमध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ। यो सडकमा तीन वटा सुरुङ मार्ग बन्ने भएको छ। महादेवडाँडामा ३ दशमलव ३५ किलोमिटर र छोक्रेमा १ दशमलव ६३ किलोमिटर र लेनडाँडामा १ दशमलव ४ किलो मिटर सुरुङ मार्ग बन्ने छ।

यसअघि एसियाली विकास बैकले छोक्रेडाँडा , ठिंगन र लेनडाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा सुरुङ मार्ग बनाउन लागेको फास्ट ट्रयाक आयोजनाका प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले बताए।

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको छ। खोकना क्षेत्र र महादेवटार लेन डाडा क्षेत्र गरी दुई ठाउँमा रेखांकन परिर्वतन भएको हो। धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरी सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ। साथै, महादेवटारदेखि लेनडाँडासम्मको खण्डमा एडिबीद्वारा प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरू हित रेखांकन परिर्वतन भएको छ।

द्रूतमार्गको सम्पूर्ण कामको ८ प्रतिशत काम सम्पन्न भइसकेको सेनाले जनाएको छ। सेनाका अनुसार ललितपुर खोकनादेखि बारासम्मको ७२ दसमलव ५ किलोमिटर सडक एक घन्टा दुई मिनेटमा पुग्न सकिने छ। रक्षा मन्त्रालयले पेश गरेको पाँच महिनापछि यही भदौ १ गते मन्त्रिपरिषद् बैठकले द्रूतमार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो। द्रूतमार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काटिने सम्भावना छ। फास्ट ट्रयाक २०७४ जेठ २४ गते शिलान्यास भएको थियो।

भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले २०७४ साउन २७ गते सेनालाई निर्माणको जिम्मा दिएको थियो। ७२ दशमलव ५ किलोमिटर सडकमध्ये ६.५ सुरुङमार्ग र १०.५९ किलोमिटरमा पुल बन्नेछन्। पुलको ८० प्रतिशत र सुरुङको ४६ प्रतिशत काम भइरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds