जिल्ला प्रहरी कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाको बैंक खाता विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
भदौ ४ गते नै प्रहरीले राष्ट्र बैंकलाई पत्र लेख्दै लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको बैंक खाता विवरण उपलब्ध गराउन अनुरोध गरेको हो। फौजदारी अपराध अनुसन्धान सिलसिलामा यो सामान्य प्रक्रियाभित्रै पर्ने भएकाले उनीहरूको बैंक खाता विवरण मागिएको चितवन प्रहरीले जनाएको छ।
प्रहरीले चितवन जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमै बैंक खाता विवरण मागिएको हो। अभियोग पत्र बुझाउनुअघि नै प्रहरीले बैंक खाता विवरण मागेको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए। ‘अहिले सार्वजनिक मुद्दामै पनि बैंक खाता विवरण हेर्ने गरिएको छ,’ उनले भने, ‘मुद्दा अनुसन्धान सिलसिलामा यो सामान्य प्रक्रिया अन्तर्गतै पर्छ।’ फौजदारी अपराध अनुसन्धानका क्रममा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्ने क्रममा सम्पत्ति शुद्धीकरणको पाटोलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने गरेको छ।
पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियोमा रबि लामिछाने सञ्चालक रहेको न्युज २४ को ‘सिधा कुरा जनतासँग’ टिमले बालुवाखानी, ठूला व्यापारिक प्रतिष्ठान, व्यवसायीहरूसँग करोडौं रकम अशुल्ने गरेको उल्लेख थियो। भिडियोमा लगाइएको आरोपको सत्यता परीक्षण गर्न पनि बैंक खाता विवरण आवश्यक परेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए। अनुसन्धानका क्रममा लामिछानेले आर्जन गरेकोमध्ये केही रकम अमेरिका पठाउने गरेको अनौपचारिक जानकारी प्राप्त भएको उनको भनाइ छ।
ब्युरोका प्रहरी उपरीक्षक रेग्मीका अनुसार राष्ट्र बैंकले बैंक खाता विवरण उपलब्ध गराइसकेको छैन। बैंक खाता उपलब्ध भएपछि त्यसमाथि अनुसन्धान गरिने उनले बताए। ‘हालको अनुसन्धान टिमले वा छुट्टै अनुसन्धान अधिकारी तोकेर बैंक खाताको विस्तृत विवरण अनुसन्धान गरिन्छ,’ रेग्मीले भने, ‘अनुसन्धान भएर प्राप्त विवरण अभियोग पत्रकै रुपमा सरकारी वकिलमार्फत अदालतमा बुझाइन्छ।’
यसमा प्रहरी तथा आवश्यकता अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग दुबै सक्रिय हुने गरेका छन्। सम्पत्ति शुद्धीकरण विभागले प्रहरीको सहयोग लिएर आर्थिक आर्जनको अनुसन्धान विवरण अदालतमा पेस्ने गरेको छ। शालिकराम आत्महत्या प्रकरणमा तीनै जनालाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भई मुद्दा अदालतमा पेश आदेश जारी भइसकेको छ। उक्त मुद्दामा लामिछानेलाई चितवन जिल्ला अदालतले सोमबार पाँच लाख रुपैयाँ धरौटी मागेको छ। कँडेललाई तीन लाख धरौटी माग गरेको छ। कार्की भने साधारण तारेखमा छुटेकी छिन्।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम