गण्डकी सरकारले भन्योः ‘फेवातालको सीमांकन नै संघले गरिसकेको छैन, त्यही भएर ढिला भो’

गण्डकी सरकारले भन्योः ‘फेवातालको सीमांकन नै संघले गरिसकेको छैन, त्यही भएर ढिला भो’

Pokhara Lakeside Phewa Fewa

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले संघले सिमांकन गरिदिए पछि मात्रै फेवातालको संरक्षण गर्न सकिने बताएका छन् । गण्डकी प्रदेश सभामा बुधबार बोल्दै उनले सिमांकन हुने वित्तिकै काम शुरु हुने बताए । मन्त्री लम्सालले संघ सरकारले फेवातालको सिमांकन नगरिदा फेवाताल संरक्षणमा ढिलाई भएको प्रष्टीकरणसमेत दिए ।

मन्त्री लम्सालले आगामी पुषसम्ममा १५ लाख आन्तरिक पर्यटक भित्र्याइने बताए । आन्तरिक भ्रमण वर्षको तयारी प्रगतिबारे जानकारी गराउँदै उनले अब चाँडै ११ वटै जिल्ला र ८५ वटै स्थानिय तहमा तयारी समिति गठन गरिने बताए । उनले प्रत्येक कर्मचारीलाई ७ दिनको लागि २५ हजार रुपैयाँ खर्च दिएर भ्रमण गर्न पर्यटक बनाएर पठाउने बताउँदै त्यसरी जाने कर्मचारीले फर्केर आफू गएको ठाउँको रिपोर्टपनि बुझाउनुपर्ने कार्य्विधी मन्त्री परिषद बैठकले निर्णय गरिसकेको बताए ।

सांसद प्रभा कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलता अप्नाउन आग्रह गरिन् । उनले भ्रष्टाचार घट्नुको सट्टा बढ्दै गएको भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता अप्नाउन आग्रह गरेकी हुन् । जनप्रतिनिधि आएपछि भ्रष्टाचार झन् बढेको छ,‘उनले भनिन्,‘जसका कारण जनप्रतिनिधि दिन प्रतिदिन अलोकप्रिय बन्दै गइरहेका छन्, त्यसैले त्यस्ता भ्रष्टाचारीलाई ठेगान लगाउन जरुरी छ ।’

सांसद मिना गुरुङले न्यूनतम ज्याला र योगदानमा आधारित सामाजिक सुरक्षा योजना सबै क्षेत्रमा लागू गर्न आग्रह गरिन् । सामाजिक सुरक्षा योजनाले पूर्ण व्यवसायीकता कायम गर्ने र यसले मजदुर र व्यवसायी दुबैलाई फाइदा पुग्ने भन्दै यो लागू गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद कृष्ण थापाले सडक, सिंचाई, खानेपानी, ज्ञानकेन्द्र लगायतका कार्यालयमा लेनदेनका आधारमा बजेट कार्यान्वयन भइरहेको आरोप लगाए । उनले लेनदेनका आधारमा भइरहेका कामहरु रोक्न आग्रहसमेत गरे ।

सांसद हरिशरण आचार्यले पोखरा मुग्लिन सडक खण्डको दुलेगौंडादेखि लामेआहालसम्मको क्षेत्रमा सडक जिर्ण हुँदा धुवाँ, धुलोले हैरान बनाउँदापनि सरकार मुकदर्शक बनेर हेरेको टिप्पणी गरे । प्रदेशका मन्त्रीहरु सो बाटो दिनहुँ ओहोरदोहोर गरिरहेपनि त्यसलाई उनीहरुले सत्ताको कालो चश्माले हेर्दा नदेखेको टिप्पणी गरे ।

सांसद विष्णुप्रसाद लामिछानेले नवलपुरको अति दुर्गम मानिने पहाडी क्षेत्र बौध्दी काली गाउँपालिका र बुलिङटार गाउँपालिकामा विकास नपुग्दा त्यहाँको जनताले संघीयता आएको महशुष गर्न नपाएको र सोहि कारण त्यहाँको जनता निराश बनेको बताए । उनले त्यहाँको मात्र विकास गर्न छुट्टै विकास प्राधिकरण गठन गरेर एकीकृत विकास योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए ।

सांसद विन्दुकुमार थापाले फेवातालमा रहेको तालबाराही मन्दिरको गुठी जग्गा निजी कम्पनीलाई भाडामा लगाउन लागिएको भन्दै सो कार्य रोक्न माग गरे ।

सांसद थापाले रवीन्द्र स्मृति प्रतिष्ठानका लागि संघ, प्रदेश र स्थानीय तीनै सरकारले आर्थिक सहयोग गरेको भन्दै त्यसप्रतिपनि आपत्ति जनाए । संघ सरकारबाट एक करोड, प्रदेश सरकारबाट २ शीर्षकमा ६० र ५० लाख गरी १ करोड १० लाख र महानगरपालिकाबाट २० लाख भन्दा बढी रकम प्रतिष्ठानलाई दिएको भन्दै यो पार्टीका मान्छेलाई पोस्ने परिपार्टी भएको टिप्पणी गर्दै यस्ता कार्य बन्द गरिनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds