पोखरामा चल्ने सार्वजनिक सवारीमा भदौबाट ई–टिकटिङ प्रणाली सुरु हुने भएको छ । पोखरा महानगरले वैशाखबाट नै सुरु गर्ने भनेपनि सुरु हुन सकेको थिएन । वैशाख १ गतेबाट लागू गर्ने गरी गएको चैतमा पोखरा महानगरपालिका, प्राविधिक व्यवस्थापनको जिम्मा पाएको एनक्लाउड कम्पनी र पोखराका सार्वजनिक यातायात सम्बन्धित संस्थाहरुबीच सम्झौता भएको थियो । तर, प्राविधिक कारण देखाउँदै महानगरले भाका सारेको थियो । अब भने यसलाई सुरु गर्न महानगरले अन्तिम तयारी थालेको छ ।
पूर्वघोषित महत्वकांक्षी योजना आउँदो भदौ १ गतेबाट लागू गर्ने महानगरपालिकाले जनाएको छ । नगर प्रमुख मान बहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भदौ १ गतेबाट लागू गर्ने गरी तयारी भईरहेको जानकारी दिए । ‘आउँदो भदौ १ गतेबाट सुरु गर्ने गरी तयारी भईरहेको छ’ उनले भने ।
पोखरामा रहेका सात वटा यातायात समिति ई–टिकेटिङ सिस्टममा जानेछन् । पोखरा बस ब्यवसायी समिति, पृथ्वी राजमार्ग बस सञ्चालक समिति, स्थानीय श्रृंगा यातायात व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि र ट्याक्सी व्यवसायी समिति ई–टिकेटिङ सिस्टममा जानेछन् ।
ई–टिकेटिङ बारे अहिले धेरै पोख्रेली अन्योलमा छन् । कतिलाई यो विषयमा जानकारी पनि छैन् । यही विषयमा जानकारी दिन साउन २१ (मंगलबार) बाट विभिन्न जानकारीमूलक कार्यक्रम सुरु हँदैछ । यो सुविधा लागू भएपछि यात्रु र बस व्यवसायी दुवैको समय र पैसा बचत हुनेछ । यात्रु ठगिने सम्भावना पनि न्यून हुनेछ ।
के हो ई-टिकेटिङ सिष्टम ?
ई–टिकटिङ सवारी भाडा भुक्तानी गर्ने माध्यम हो । बसका सहचालकसँग एउटा डिभाइस हुन्छ । सहचालकसँग भएको त्यही डिभाइस मार्फत यात्रुले टिकट पाउँछन् । यो प्रणाली सुरु भएपछि प्रत्येक यात्रुले विशेष प्रकारको यात्रा कार्ड पनि पाउनेछन् । व्यवसायीले दिएको त्यही कार्ड गाडीका सहचालकले डिभाइसमा ‘टच’ गराउनेछन् । लागेको भाडा त्यही कार्डबाट काटिनेछ । त्यो कार्डमा यात्रुले पहिल्यै पैसा जम्मा गरेको हुनुपर्छ ।
ओम डेभलपमेन्ट बैंकले यसमा सहकार्य गरेको छ । पहिलो चरणमा नगद नै लिएर सहचालकले ई–टिकट प्रदान गर्नेछ भने दोस्रो चरणदेखि यात्रुकार्ड उपलब्ध भइसकेकाहरुले कार्ड टच गरे पुग्छ । जिपिएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ । सो कार्डलाई १ सय रुपैयाँ पर्नेछ । कार्ड लिएबापत बैंकले त्यसमा १ सय रुपैयाँ बोनस दिनेछ । दोस्रो चरणमा चढेको ठाउँमा टच गर्ने र झर्दा समेत टच गर्दा आफूले यात्रा गरेको दुरीबमोजिम पैसा काटिनेछ ।
तत्काललाई ८ सय बसमा यो सिष्टम जडान गर्ने तयारी हुँदै छ । राजधानी काठमाण्डौका केहि यातायातमा यो सिष्टम लागू भइसकेको छ । बसका चालक र सहचालकलाई मेसिन चलाउने तालिम दिने काम पनि अन्तिम चरणमा छ । यो सिस्टम जडान र नियमित सुचारु गर्नका लागि कम्पनीले पोखराका प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँका दरले खर्च असुल्नेछ । सबै बसमा लागू भए सेवा अझै प्रभावकारी हुने बस व्यवसायीको विश्वास छ ।
सिस्टममा नजानेलाई कारबाही
भदौबाट सुरु गर्ने योजना भएपनि यसको औपचारिक घोषणा असोजमा हुनेछ । यो बीचकोे एक महीना यसको प्रभावकारिता जाँच गरिनेछ । सिस्टम सुरु भएपछि यसमा नजानेलाई भने कारबाही हुने भएको छ ।
यो सिस्टम जडान नगर्ने चालक र सहचालकलाई दण्ड जरिवाना नै गरिने पोखरा बस व्यवसायी समितिका महासचिव अमृत शर्माले जानकारी दिए । उनले भने, ‘यसमा नजानेलाई कारबाही हुन्छ, अझै के कसरी अगाडि बढ्ने भन्ने बारे छलफल हँदै छ ।’
यसको अनुगमन गर्न अनुगमन समिति बनाउने तयारी भइरहेको महासचिव शर्माले बताए । ‘व्यवसायी र महानगरबीच छलफल गरेर समिति बनाउने भनिएको छ, उनले भने, ‘दुई चार दिनमा यो समितिले पनि पूर्णता पाउला ।’
महासचिव शर्माका अनुसार ८ सय बसमध्ये ७ सय बसका १४ सय चालक र सहचालकलाई यसबारे जानकारी गराइसकिएको छ । अब बाँकी १ सय बसका चालक र सहचालकलाई पनि यसबारे छिट्टै जानकारी गराइने उनले बताए ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम