पोखराका गाई गोरु झापा हुँदै बंगलादेश तस्करी ! राष्ट्रिय जनावर गाई तस्करीमा महानगरकै कर्मचारी मतियार

पोखराका गाई गोरु झापा हुँदै बंगलादेश तस्करी ! राष्ट्रिय जनावर गाई तस्करीमा महानगरकै कर्मचारी मतियार

goru taskari 1

Feature Photo: Samadhan Daily

  • कमल पौडेल अथक

पोखरावाट गाई गोरु कागजी प्रक्रिया पुर्याएर तस्करी हुने गरेको खुलासा भएको छ । व्यवसायिक प्रयोजन भन्दै पोखरावाट हेटौंडा र झापामा यी गाई गोरु लैजाने गरिएको छ । झापा पुर्याएपछि ती गाई गोरु सिधै वंगलादेश तस्करी गर्ने एउटा गिरोह नै फेला परेको छ । सो गिरोहले मासिक ३ ट्रक गाई गोरु तस्करी गर्दै आएको छ ।
ना ५ ख १४०४ नंवरको मालवाहक ट्रकमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै ती गाई गोरु तस्करी गरिएको भेटिएको छ । त्यो गिरोह सँग पोखरा महानगरका केही कर्मचारीहरु पनि संलग्न देखिएका छन् ।

महानगरका माथिल्लोदेखि तल्लो तहसम्मका केही कर्मचारीले तस्करहरु सँग सेटिङ मिलाएर यिनै गाई गोरु तस्करी गर्दै आएको भेटिएको छ । महानगरवाट मासिक ३ ट्रक गाई गोरु तस्करी हुँदा समेत महानगर कै अन्य कर्मचारी र जनप्रतिनिधिले पत्तो पाउँदैनन् । तस्करहरुलाई गाई गोरु सेटिङ गरिदिए वापत यी कर्मचारीले तस्करहरुवाट मोटो रकम असुल्ने गरेको महानगर श्रोतको दावी छ ।

यसै गरी पोखरामा बुधवार रातको १२ वजे पक्राउ परेका २२ वटा गोरु जिल्ला पशुसेवा कार्यालय कास्कीले पुन वडा प्रहरी कार्यालय वैदाम मै फिर्ता गरेको छ । पोखराको वडा नं २३ को चलानी अनुसार पामेवाट पोखरा ल्याउँदा पक्राउ गरिएका एक ट्रक गोरु कार्यालयले शुक्रवार फिर्ता गरेको हो ।

वडा प्रहरी कार्यालय वैदामले स्थानीयवासीको दवावमा वुधवार मध्यरातमा नियन्त्रणमा लिएका एक ट्रक गोरु विहीवार पशु कार्यालयमा लगेर वुझाएको थियो ।  यसरी वुझाएका गोरुको सवै स्वास्थ्य ठिक छ भन्ने पत्र पोखरा पामेका गोरु संकलक प्रेमवहादुर थापालाई थमाउँदै पशु कार्यालयले शुक्रवार गोरु फिर्ता गरेको हो । उनै प्रेमवहादुरले महानगरका कर्मचारीको मिलेमतोमा गाउँमा रहेका गाई गोरु संकलन गरी तस्करहरुलाई वुझाउने विचौलियाको भूमिका निभाउँदै आएका छन् । लाई गोरु खोजिदिन भने मैले खोजिदिएको हुँ दुःख गरेपछि केही नपाए त के अर्थ भो र’ – थापाले भने । गोरु संकलन गरिदिए वापत तस्करहरुले थापालाई पनि पैसा दिने गरेको उनकै भनाइवाट प्रष्ट हुन्छ ।

यता पशु कार्यालयले दिएको गोरुको स्वास्थ्य ठीक छ भन्ने पत्रमा गोरु जोत्न वा अन्य प्रयोजनको लागि ठीक भन्ने वारे केही खुलाइएको छैन । यद्धपि पोखरा २३ ले भने गोरु व्यवसायिक प्रयोजनको लागि भन्दै पत्र थमाएको छ । हामीले गोरुको स्वास्थ्य मात्र हेर्ने हो सवै ठिकै देखियो पशु स्वास्थ्य अधिकृत ठगेन्द्रप्रसाद अर्यालले भने ।
यसरी एउटै ट्रकमा खाँदेर राखिएका २२ वटा गोरु झापाको मेची नगर नगरपालिका लैजान थालिएको हो । त्यहाँवाट यी गोरु सिधै वंगलादेश लैजाने र मासु र छालाको रुपमा प्रयोजनमा आउने व्यापारीहरुले वताए । उनीहरुले पोखराको पामेवाट प्रति गोरु ९ हजारदेखि १५ हजार सम्ममा खरिद गरेको वताए । यी गोरु झापा पुर्याउँदा एउटाको वोलेको ६० हजार पर्ने उनीहरुको भनाई छ ।

पोखरा महानगरपालिका भित्रका गाई गोरु अपचलनमा महानगरकै कर्मचारीको प्रत्यक्ष संलग्नता देखिएको छ । यसरी गोरु अपचलन गर्ने गिरोहले मासिक ३ ट्रक गाई गोरु हेटौंडा र झापा लैजाने गरेको विभिन्न प्रमाणहरु फेला परेका छन् । पछिल्लो दिनमा पोखरा १४ स्थित कान्जीहाउसवाट नै ३ ट्रक गाई गोरु वाहिर पठाएको कान्जिहाउसमा कार्यरत कर्मचारी रेशम जिसीले वताए । हामीले माथिवाट पत्र आएपछि निशुल्कै पठाउँछौ तर वाहिर के के हुन्छ हामीलाई थाहा हुँदैन उनले भने ।

महानगरले नै पटक पटक महानगरका गाई गोरु अपचलन गर्न आधिकारीक पत्र संवन्धित व्यक्तिलाई थमाएको भेटिएको हो । महागरका सुचना अधिकारी गंगालाल सुवेदीको हस्ताक्षर गरिएको पत्र मार्फत नै पछिल्लो समयमा पोखरावाट गाई र गोरुको तस्करी मौलाएको देखिन्छ । यही साउन १० गते हेटौंडा उपमहानगरपालिका १९ मा रहेको श्री लक्ष्मी चौपायाका संञ्चालक भनिने भीमवहादुर सोनारलाई उनले ३५ वडा गाई लैजाने अनुमति पत्र दिएका थिए । सो पत्रको चलानी नंम्वर २३७ रहेको छ ।

त्यसैगरी यही साउन १२ गते नै उनै गंगालाल सुवेदीले पुन चलानी नं २९५ को पत्रमा सोही फर्मका संञ्चालक भीमवहादुर सोनार भनेर पत्र थमाएका छन् ।

यो पत्रमा पनि उनले थप ३५ गाई लैजाने अनुमति दिएको प्रमाण फेला परेको छ ।

यसरी एउटै फर्मलाई दिएका दुई वटा चलानी नम्वरमा संञ्चालकको थर भने फरक फरक पारिएकोे छ । एउटा पत्रमा संञ्चालकको नाम भीमवहादुर सार्की र अर्को पत्रमा भीमवहादुर सोनार लेखिएको छ । यसवारेमा सम्पर्क गर्न खोज्दा महानगरका उपसचिव समेत रहेका गंगालाल सुवेदीले फोन उठाएनन् ।

महानगरपालिकाले पछिल्लो एक सातामा पोखरावाट ९२ वटा गाई गोरु अपचलन गरी पोखरा वाहिर पठाएकोे देखिएको छ । यसमा कास्की, तनहुँ, चितवन र मकवानपुरका ट्राफिक कार्यालयलाई वोधार्थ समेत पठाएको छ ।

यता पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीले पोखरावाट वाहिर पठाउन लागिएका गाई गोरुको वारेमा आफू अनभिज्ञ रहेको वताएका छन् । उनले गाई गोरुको विषय के रहेछ मैले वल्ल थाहा पाएँ अव वुझ्छु भनेका छन् ।

पोखरा महानगरपालिका क्षेत्रमा छाडा चौपायाँको विगविगी नै छ । गाईको दूध आउन्जेल दूध खाने र व्यापार गर्ने दूध आउन छोडेपछि ती चौपायाँ घर धनीले सडकमा छोड्दै आएका छन् । महानगरले पनि व्यवस्थित कान्जिहाउस वनाउन सकेको छैन । पोखरा १४ मा वनाएको कान्जिहाउसमा ४५ वटा चौपाया शुक्रवार पोखरीको पानीमा उभिएका थिए । केही गाईमा खोरेत देखिएको कर्मचारी रेशम जिसीले वताए ।

अत्याधिक गर्मी भएका कारण कहिल्यै आहाल नवस्ने गाई पोखरीको पानीमा दिन भरि उभिनु अनौठो मानिएको छ । महानगरले छाडा चौपाया व्यवस्थापनको लागि वार्षिक ६ लाख रुपैयाँ विनियोजन गर्दै आएको छ । महानगरमा पटक पटक छाडा चौपाया व्यवस्थापनको कुरा उठ्ने गरेको छ ।

तर छाडा चौपायाँ व्यवस्थापनको वहानामा महानगर कै केही कर्मचारीले व्यवस्थापनको बहानामा गाई गोरु तस्करी गरेर आफ्नो अभीष्ट पूरा गर्दै आएका छन् । छाडा चौपाया व्यवस्थापन भनेको तस्कर संग मिलेर कटहीमा फाल्ने होइन गौ रक्षा अभियानका अभियान्ता ठाकुर वरालले भने । देशलाई धर्म निरपेक्ष वनाएर गाईको हत्या गर्न स्थानीय सरकार नै लागि पर्नु दुभाग्र्य भएको उनले वताए ।

यता विभिन्न धार्मिक संस्था र सामाजिक संघ संस्थाहरुले पोखरावाट खुले आम रुपमा हुँदै आएको गाइ तस्करीको विरोध गरेका छन् । हामीले भलाममा गाई व्यवस्थापन गर्छौ भन्यौ तर महानगरले त्यसमा सहयोग गरेन । यस्तो धन्दा रहेछ र पो हामीलाई सहयोग नगरेको रहेछ गौरक्षा अभियानका अभियान्ता सुजनवावु पौडेलले भने ।

नेपालको झापा समथर जिल्ला हो । जहाँ खेती किसानी ट्याक्टर लगाएरै गरिन्छ । व्यवसायिक प्रयोजन भन्दै लाने गरिएका यी पहाडमा जोतेर थाकेका बूढा गोरु, दूध थाकेका बूढा गाई र जर्सीका साँढे कसरी व्यवसायिक प्रयोजनमा आउँछन् यो प्रश्न भने सधै अनुत्तरित रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds