पर्यटकीय नगरी पोखरामा सञ्चालनको तयारीमा रहेको एक मात्र प्राणी उद्यान (जुलोजिकल पार्क) का विषयमा विवादमा चुलिएको छ । चार वर्षअघि पोखरा महानगरपालिकाको पचभैया सामुदायिक वन क्षेत्रमा निर्माण थालिएको चिडियाखानालाई लिएर स्थानीय वन उपभोक्ता समितिबीच विवाद चुलिएको हो ।
चिडियाखाना निर्माण समितिले स्थानीयसँग गरेको सहमति विपरीत कम्पनी स्थापना गरेर सिमित व्यक्तिको स्वामित्व कायम हुने गरी अगाडि बढेको आरोप स्थानीयको छ । निर्माण समितिले शुरुमा स्थानीयबासीसँग सामुदायिक वनक्षेत्र भएकाले समुदायिक वनकै स्वामित्वमा रहने गरी चिडियाखाना सञ्चालन गर्ने सहमति भएको स्थानीय अगुवा एवं घोषित समानान्तर समितिका अध्यक्ष दिनानाथ ढकालले बताए।
‘चिडियाखाना स्थानीय समुदायद्वारा सञ्चालन हुनुपर्नेमा कम्पनी खडा गरी सीमित व्यक्तिको हालिमुहाली चल्ने ढंगले संयन्त्र बनाए,’ उनले भने, ‘यस वनक्षेत्र ८ सय उपभोक्ताको स्वामित्वमा रहेकाले कार्यसमितिका सीमित व्यक्तिको स्वार्थमा बनाइएको कम्पनीलाई कुनै हालतमा सञ्चालन गर्न दिँदैनौं।’
तत्कालीन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको पहलमा पुस २०७१ मा गण्डकी प्रदेशलाई ‘योजनाबद्ध एकीकृत र व्यवस्थित शहर’ विकास गर्न गठित समितिले पचभैयामा चिडियाखाना निर्माण गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै १५ साउन २०७२ मा तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिडियाखानाको शिलान्यास गरे । शिलान्यासपछि भौतिक निर्माणको काम अगाडि बढेको थियो । पार्क पोखरा महानगरपालिकाको ३०,३१ र ३२ नम्बर वडाको १ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
कम्पनी दर्ताविरुद्ध समानान्तर समिति
सहमति विपरीत सीमित व्यक्तिले व्यक्तिले कम्पनी दर्ता गरी चिडियाखाना सञ्चालनको तयारी थालेको आरोप लगाउँदै संर्घषमा उत्रिएका स्थानीयले सोमबार पचभैया सामुदायिक वन उपभोक्ताहरुको भेला डाकी दिनानाथ ढकालको अध्यक्षतामा १३ सदस्यीय समानान्तर समिति गठन गरेका छन् । जसमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र एकजना सदस्य कार्यसमितिको पहिलो बैठकले पूरा गर्ने बताइएको छ । समितिको सदस्यमा विष्णु तामाङ्ग लामा, दानबहादुर गुरुङ्ग, आशिष अधिकारी, दिनानाथ अधिकारी, बुद्धिबहादुर गुरुङ्ग, भरत केसी, सप्तनाथ कुँवर र दीपक विक रहेका छन्।
नवगठित समितिका अध्यक्ष दिनानाथ ढकालले करिब दुई तिहाई उपभोक्ताहरुको उपस्थितिमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको बताए। उनले चिडियाखाना सञ्चालन गर्न दर्ता गरिएको कम्पनीको कुनै भुमिका नरहने दाबी गरे। ‘करिब दुइतिहाई उपभोक्ताको उपस्थितिमा नयाँ कार्यसमिति चयन भएकाले पहिलेको कार्यसमिति स्वतः खारेज भएको छ,’ उनले भने, ‘तीनवटा उपभोक्ता समिति रहेका करिब ८ सय उपभोक्ताको हकअधिकार कायम राख्दै चिडियाघरलाई पर्यटकको आकर्षण केन्द बनाउन लाग्नेछौं।’
उनले स्थानीयको हक,अधिकारको सुनिश्चित गर्ने लक्ष्यका साथ आफू अध्यक्ष पदमा सर्वसम्मत भएको दाबी गरे ।
समितिको वैधानिकतामाथि प्रश्न
उपभोक्ता भेलामार्फत नयाँ कार्यसमिति चयन गरिएपछि बहालवाला समितिका अध्यक्ष वेदनाथ ओझाले नयाँ कार्यसमिति चयन प्रक्रिया कानुन र विधान अनुरुप नभएको बताउँदै भेलामा उपस्थित व्यक्तिहरुको आधिकारिकता नै पुष्टी हुन बाँकी रहेको बताए ।
उनले विधान र कार्ययोजना बमोजिम वैधानिक रुपमा ४ साउनमा वन उपभोक्ता समूहको साधारणसभा बोलाइएको बताए। ‘हामीले साधारणसभा बोलाएका छौं, कार्यसमितिले चिडियाखाना निर्माण प्रक्रियामा कुनै कमजोरी गरेको ठहर गरिए हामी साधारणसभामै राजिनामा दिन तयार छौं,’ उनले भने, ‘अराजकता बढाउने र सधैं दोहोरो भूमिका खेल्ने प्रवृत्तिले विकास निमार्णका कार्यमा अवरोध आउने छ।’
खुला चिडियाखानाका रुपमा १ साउनबाट सर्वसाधारणका लागि खुला गर्ने तयारी थालिएका बेला एकाएक कम्पनीमा दर्ता गरिएको भेटिएपछि विवाद सतहमा आएको हो ।
कसरी बन्यो चिडियाखानाको संरचना ?
पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले पोखरा युनाइृटेड क्लबको अगुवाईमा मानवनिर्मित खुला चिडियाखाना निर्माण थालिएको हो। क्लबले २०६७ सालतिर चिडियाखानाको रुपमा सो पार्कको परिकल्पना गरेको हो ।
क्लबले प्रत्येक वर्ष पोखरामा आयोजना गर्ने महोत्सवबाट बचेके रकममध्येको २० प्रतिशत चिडियाखानाको भौतिक पूर्वाधार निर्माणमा खर्च गर्दै आएको थियो। आर्थिक वर्ष २०७६(७७ मा भने गण्डकी प्रदेश सरकारले उक्त उद्यान पार्कका लागि ५ करोड रूपैयाँ विनियोजन गरेको छ ।
बजेटमा ४ करोड जुलोजिकल पार्कको स्थापनाको प्रतिवेदन तयारीका लागि र एक करोड रुपैयाँ वन्यजन्तु उद्धार केन्द्रको लागि विनियोजित गरिएको हो।
पार्कको लागि युनाइटेड क्लबले हालसम्म करिब ५५ लाख खर्च गरेको छ भने पोखरा महानगरपालिकाले पार्क बनाउन करिब ३५ लाख खर्च गरेको छ।
डिभिजन वन कार्यालयबाट २४ लाख प्राप्त भई पशुपन्छी उद्धार केन्द्रका लागि भवन निर्माण, खानेपानी जडान, बाटो निर्माण, मृगस्थली, बाघराख्ने खोरलगायत संरचना निर्माण गरिएको पार्कका अध्यक्ष बख्रेलले बताए ।
कुन-कुन पशुपन्छी छन् चिडियाखानामा ?
अहिले प्राणी उद्यानमा १८ प्रजातिका करिब ५० भन्दा बढी जनावर रहेका छन् । चिडियाखानामा रहेका जनावरलाई विभिन्न ठाउँबाट उद्धार गरी ल्याइएको अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । उनका अनुसार पार्कमा राखिएका जनावरको खानाको लागि मात्रै मासिक ६० हजार खर्च हुने गरेको छ। पार्कमा निलगाई, हरिण, मृग, लाटोकोसेरो, अजिँगर, कछुवा र विभिन्न प्रजातिका चराहरु राखिएको उनले बताए ।
कसरी पुग्न सकिन्छ चिडियाखाना ?
बेगनासतालको बसपार्कबाट पोखरा जुलोजिकल पार्कको दूरी ३.५ किमी दूरी रहेको छ । पोखराबाट बेगनासतालको बस चढेर बसपार्क पुगेपछि हिँडेरै वा लोकल बसमा पचभैया पुग्न सकिन्छ।
पोखरा क्षेत्रमा प्रकृतिले दिएका दर्जनौं पर्यटकीय स्थल छन्। पर्यटकीय मौसममा ती स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइचो हुने गर्दछ।
पोखरामा मानव निर्मित ठूलो पर्यटकीय गन्तव्यकारुपमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय मात्र रहेको थियो। अब भने दोस्रो मानव निर्मित पर्यटकीय गन्तव्यकारुपमा जुलोजिकल पार्कको स्थापना गरिएको छ। यसले पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउन सहयोग पु(याउने छ। त्यसैले यससम्बन्धी विवाद धेरै लम्ब्याउन नहुनेमा स्थानीय नागरिक अगुवाहरू बताउँछन् ।
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम