कास्कीमा ६ महीना भित्रै विप्लवका २४ कार्यकर्ता पक्राउ, राज्यबाट ६१ जना पीडित

कास्कीमा ६ महीना भित्रै विप्लवका २४ कार्यकर्ता पक्राउ, राज्यबाट ६१ जना पीडित

pakrau-file-photo-750×375

पोखरा । कास्की जिल्लामा राज्यपक्षबाट छ महीनाको अवधिमा ६१ पीडित भएको पाइएको छ। पोखरामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कमा यस्तो देखिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्वसमीक्षामा सन् २०१९ जनवरीदेखि जुनसम्ममा उक्त सङ्ख्या पीडित भएको उल्लेख छ ।

इन्सेकको अभिलेखअनुसार कास्कीमा छ महीनाको अवधिमा विभिन्न समयमा गरी २४ विप्लव समूहका कार्यकर्ता प्रहरीले गिरफ्तार गरेको जनाइएको छ ।

नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले कार्यक्रममा मानवअधिकारको अवस्था बुझ्न इन्सेकको मानवअधिकार वर्ष पुस्तक महत्वपूर्ण दस्तावेजको रूपमा रहेको चर्चा गरे ।

कास्की जिल्लाबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको तथ्याङ्क राख्न इन्सेकसँग आग्रह गर्दै उनले वैदेशिक रोजगारी जाने र तिनको अवस्थाबारे तथ्याङ्क पनि अब इन्सेकले राख्नुपर्ने विचार व्यक्त गरे ।

वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले बनेका कानूनको कार्यन्वयन हुन नसक्दा मानवअधिकारको अवस्था अझ जटिल बन्दै गएको बताए ।

जिल्ला कारागार कास्कीका प्रमुख गणेश गौतमले मूल्यवृद्धिका कारण कैदीबन्दीलाई राज्यले प्रदान गर्दै आइरहेको सुविधा अपुग हुँदै गएको जानकारी दिए ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले मानवअधिकारको सात महासन्धिमा आधारित रहेर घटनाहरु सङ्कलन गर्दै आइरहेको जानकारी दिँदै राज्य मानवअधिकारको विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा अधिकृत विष्णुमाया पौडेलले तथ्याङ्कमा धेरै घटना महानगर क्षेत्रभित्रै घटेको देखिएकाले आगामी दिनमा घटना न्यूनीकरणका लागि आवश्यक कार्यक्रमहरु गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । (रासस)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds